कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सरकार लचिलो भइदेओस्, हामी सकारात्मक छौं

मंसिर २७, २०७२
सरकार लचिलो भइदेओस्, हामी सकारात्मक छौं

काठमाडौं — तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर ७४ वर्ष पुगिसक्दा अझै आन्दोलनमा छन् । भन्छन्– ‘बुढ्यौलीको बाधा त छ, तैपनि म युवाहरूसँगै आन्दोलनमा छु । किनकि लोकतन्त्रको लडाइँ अझै सकिएको छैन ।’ मिडियासँग कमै भेट्ने अन्तर्मुखी यी नेता बिहीबार साँझदेखि कुराकानीका लागि प्रयास गरे पनि बल्लतल्ल शनिबार अपराह्न उपलब्ध भए ।

 

साउन ३१ गतेदेखि मधेसमा आन्दोलन चलाइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध चार दलमध्ये एक तमलोपाका अध्यक्ष ठाकुरसँग मधेस आन्दोलन, नाकाबन्दीलगायत जारी संकटबारे बसन्त बस्नेतले गरेको कुराकानी :

पछिल्ला वर्षमा मधेसमा किन पटकपटक आन्दोलन भइरहन्छन् ?
किनभने मधेसमा आन्तरिक उपनिवेशका रूपहरू अझै कायम छन् । गोर्खा राज्यले मधेसलाई आफ्नो राज्यमा गाभ्दा विश्वमा उपनिवेशकै शासन व्यवस्था जारी थियो । त्यस बेला नेपाल बनिसकेको थिएन । गोर्खाले मकवानुपरको समथर भूभागसहित जितेपछि कसरी मधेसमा प्रभाव जमाउन थाल्यो, यसको लामो इतिहास छ । नयाँ पुस्ताले त्यसलाई खुला र आलोचनात्मक दिमागले पढ्नु आवश्यक छ । ००७ सालमा प्रजातन्त्र आइसकेपछि आधुनिकताको सूत्रपात हुनुपर्ने हो । तर यहाँ भने प्रजातन्त्रकै कालमा समेत त्यो आन्तरिक उपनिवेश चलिरह्यो । मधेसका नागरिकलाई वास्तविक नागरिक नमान्ने, उनीहरूको आस्थामाथि सधैं प्रश्न गर्ने चलन चल्यो । हामीलाई बाहिरबाट बसाइँ सरिआएका नागरिकका रूपमा व्यवहार गरियो । जहाँसम्म बाहिरबाट आउने कुरा छ, कतिपय व्यक्तिहरू दक्षिण एसियाको एक देशबाट अर्को देश वा राज्यमा आजदेखि होइन, प्राचीन कालदेखि आउजाउ गरेका हुन् । कहिले पनि रैथाने मधेसीलाई नेपालकै बासिन्दा हुन् भनेर व्यवहार गरिएन । खुला सिमानाले पनि यो भ्रम भयो होला । प्रशासनमा पनि यो भ्रम देखिन्छ । प्रशासन चलाउन मधेसमा जाने मानिसहरू जब त्यहाँका गाउँगाउँ जान्छन् । उनीहरूलाई बोली, लुगा, खानेकुरा यहाँझैं उस्तै लाग्दैन । कहाँकहाँ आएजस्तो पनि अनुभूति सायद हुादो हो । मधेसको भाषा संस्कृतिले यहाँको झैं मान्यता पाएन । खस नेपाली भाषा नजान्नु मधेसीका लागि अक्षमताजस्तो बुझियो । सञ्चारमाध्यम पनि उस्तै रहे । यहाँको भाषा र उहाँको भाषा नमिल्ने, बरु पटना वा लखनउ गोरखपुरको भाषासँग मिल्ने । खेतीपाती, नातागोता पनि पहाडभन्दा बढी उतैसँग हुँदा यस्तो अनुभूति भयो कि । सीमापारि भारततिरकाले मधेसीलाई ‘तिम्रो घर कहाँ’ भन्दा नेपाल भन्छन् । तर उता भने नेपाल भनेर काठमाडौं मात्रै बुझ्ने गरिन्थ्यो । देशको नामभन्दा अलमल हुने स्थिति थियो । यस्ता सानातिनाजस्ता मनोवैज्ञानिक कुराले पनि आन्दोलन गर्नुपर्ने भइरह्यो मधेसमा ।

उसो भए यो आन्दोलन नेपाली हुनुको अनुभूतिका लागि हो ?
बिल्कुल । किनभने यो समस्या निरक्षरको मात्रै होइन, पढेलेखेकाको पनि हो । जो जागिरमा छ, ऊ आफूलाई कार्यालयमै एक्लिएको अनुभूति गर्छ । माथिल्लै तहसम्म पुगेकाहरू पनि ‘कम्फोर्ट’ अनुभूति गर्दैनन् । कतिपय डाक्टरहरू माथिल्लो तहसम्म पुगेर पनि असुविधा अनुभूति गर्छन् र राजीनामा गर्छन् । मधेसी भएकैले नियुक्ति, सरुवा, बढुवामा हामीलाई रुचाउँदैनन् भन्ने उनीहरूलाई परेको छ । पुलिसको सिपाही पनि त्यसै भन्छ । असई, सई, इन्स्पेक्टर पनि भोलि के हुने हो भन्ने असुरक्षाको अनुभूति लिएर बसेको छ । अवसर नपाएका निरक्षर, ग्रामीण बस्तीका नागरिकहरूको त झन् अर्कै कुरा ।

भर्खरै बनेको संविधानले यी संरचनागत विभेदलाई ऐतिहासिक उत्पीडनका रूपमा स्विकार्दै अब त्यस्तो नहुने ग्यारेन्टी गरेको छ, होइन र ?
शब्दमा परेको छ, तर व्याख्यामा परेको छैन । अहिलेको संविधानमा त्यस्तो असमानता हटाउन पहिलेको जुन आन्दोलनहरू भएको थियो, त्यसको सम्बोधन छैन । जस्तो कि अन्तरिम संविधानका संकल्प, प्रस्तावनामा पनि मधेस भन्ने शब्दै राखेर प्रतिबद्धताहरू गरिएको थियो । समग्र मधेसलाई राज्य हुनुपर्ने कुरा त भएन नै, दुई राज्य पनि भएन । मधेसका अधिकांश जिल्लालाई पहाडमा मिलाइएको छ । यहा राष्ट्रियताको एउटा भाषा, भेषमा आधारित परिभाषा गरिएको छ । कतिपय मधेसी यो परिभाषामा अटाउँदै अटाउँदैनन् । यदि एकथरी नेपाली मात्रै नेपाली हुन् भन्ने हो भने फेरि पनि उचित भएन । जहिले पनि मधेसीको राष्ट्रियताप्रतिको आस्थामाथि प्रश्न उठाउने गरिन्छ । समावेशीकरणको कुरा थियो, त्यसलाई संविधानमा ल्याइएन ।

तर संविधानमा त समावेशिता, समानुपातिकतालाई अटाइएको छ नि ?
त्यो शब्द त पर्‍यो, तर कहाँ पर्‍यो भन्ने सवाल मुख्य हो । राज्यको निर्देशक सिद्धान्तमा राखेर मात्रै पुग्दैन । निर्देशक सिद्धान्तमा पर्नु निश्चय नै सकारात्मक कुरा हो, तर त्यसको कानुनी मान्यता त हुँदैन । संविधानका धाराहरूमा त्यसको व्याख्या हुनुपर्‍यो, त्यो भएको छैन । व्यवहारमा नआउने सिद्धान्तको के काम ? अधिकार मात्रै भएर हुँदैन, अवसर पनि आउनुपर्‍यो ।

संविधानमा उपेक्षित, सीमान्तका लागि थुप्रै अधिकार समेटिएका छन्, तर जनमत संकलन गर्नसमेत मधेसकेन्द्रित दलले दिएनन् भन्ने अरू दलको आरोप छ नि ?
त्यो आरोप नै उल्टो छ । जनमत संकलनमा भएको विरोधले नै देखायो, संविधानप्रति मधेसका जनता सन्तुष्ट छैनन् । मस्यौदा समिति, संवाद समिति, संविधानसभाभित्र कुराहरू राख्न दिइएन, । मधेसीको पहिचान, अधिकार काटियो । प्रारम्भिक मस्यौदादेखि नै मधेसलाई बाहिर राख्ने काम त्यहींबाट सुरु भइसकेको थियो । यो बहिष्करण त संविधानसभाभित्रै सुरु भएको हो । जुन निर्णय प्रक्रियामा हाम्रा आवाज बाहिर पारियो, त्यसको स्वामित्व कसरी लिने मधेसले ? आखिर उहाँहरू त संघीयताकै विरोधी हुनुहुन्थ्यो ।  राज्य पुन: संरचना समितिले जुन क्राइटेरिया तय गरेको थियो, त्यसलाई पछ्याउने काम त सभाले गरेन ।

तर संविधानसभामा दुई तिहाईभन्दा बढी मतले पारित विधेयकलाई अल्पमतले अस्वीकार गर्नु उचित होइन भन्ने पनि तर्क छ नि ?
यो तर्क गलत छ । चुनावमा आएको परिणामले राज्यसँगका सम्झौतालाई खारेज गर्दैनन् । हिजो राज्यले मधेससँग के भनेर सम्झौता गरेको थियो, त्यसको अर्थ हुन्छ । चुनाव त आउँछ जान्छ, तर राज्य त उही हो ।

तर राज्यले त्यो बेला मधेसी, जनजाति, थरुहट, खसआर्य, अखण्ड पक्षधर लगायतसँग परस्पर बाझिने खालका सम्झौता गरेको थियो । राज्यले हिजो जेजे गरे पनि त्यसलाई निरुपण गर्दै अघि बढ्नुपर्ने संविधानसभाको दायित्व होइन र ?
हो, तर संविधानसभालाई बाटो दिने अन्तरिम संविधान त सबैको सहमतिले नै बनेको हो नि । उहाँहरूले त्यही अन्तरिम संविधानको उल्लंघन चाहिं किन गर्नुभएको हो ?

संविधानसभा सार्वभौम निकाय भएकाले त्यसलाई कुनै पनि नियमहरू बाहिरबाट लाद्न पाइन्न भन्ने तर्क पनि छ नि ?
सार्वभौम त जनता हुन् । जनता सार्वभौम भएकैले उनीहरूका प्रतिनिधिलाई सार्वभौम बनाइएको हो । जनताले आफ्नो सार्वभौमिकता आन्दोलनबाट देखाएका थिए । वास्तविक जनादेश त्यो हो । त्यही जनादेशले निर्वाचित प्रतिनिधिबाट संविधान बनाउने आदेश दिएको हो ।

तर तपाईंहरूमाथि निर्वाचित प्रतिनिधिहरूलाई सार्वभौमिकताको अभ्यास गर्न नदिएको आरोप छ । के भन्नुहुन्छ ?
त्यो जनादेश होइन, मतादेश हो । मतादेश आवधिक हुन्छ, तर जनादेश आवधिक हुँदैन । जनताले सम्पूर्णतामा आफ्नो सर्वोच्च शक्तिको अभ्यास गर्छ । जनादेश त्यसलाई भनिन्छ ।

शब्दमा जे भए पनि देश तपाईंहरूको चार महिना लामो आन्दोलनका कारण अस्तव्यस्त भइसक्यो । यसको जिम्मेवारी कसले लिन्छ ?
हामी आफ्नो तर्फबाट जिम्मेवारी र संवेदनशीलता भरपूर देखाइरहेका छौं । सायद सरकारमा बस्नेहरूले त्यसलाई हाम्रो कमजोरी ठान्नुभयो कि । हामी आफ्नो तकलिफ सहेर पनि जनतालाई अधिकार दिलाउन लागि परेका छौं । आन्दोलनमा अलिकति तकलिफ भइहाल्छ । यहाँ त गोली नै चलिरहेको छ । लाठी, अश्रुग्यास र जेल जानु सामान्य भइसक्यो यहा । यातनाको बयान गरिसाध्य छैन । तर कसैलाई कष्ट पुर्‍याउने नियतले यो आन्दोलन भइरहेको छैन । आन्दोलनकारीलाई पनि त यति थाहा छ । हाम्रो आन्दोलनले धेरैलाई दु:ख भएको छ, तर हाम्रा माग पूर्तिका लागि कसैलाई दण्डित गर्ने नियत हामीसँग छैन । आखिर हाम्रो आवाज पनि त संविधानसभा र त्यसका समितिमा सुनिएन । हामी त्यसैले सडकमा आउनुपरेको हो । हामीसँग अन्तिम विकल्प यही नै थियो । राज्यले ठेलेर हामीलाई सडकमा पुर्‍यायो ।

तपाईंहरूको माग न्यायपूर्ण होला, तर शैली शान्तिपूर्ण भएन भनिन्छ नि ?
हाम्रो आन्दोलन शान्तिपूर्ण असहयोगको नीतिअन्तर्गत चलिरहेको छ । राजस्वको क्षेत्रमा राज्यलाई असहयोग गर्ने, कार्यालयहरू बन्द गराउने चलिरहेको छ ।

सीमानाकामा जारी धर्ना चाहिं कस्तो प्रकारको आन्दोलन हो ?
त्यो पनि निश्चय नै असहयोगको आन्दोलन हो । राजस्वसँग जोडिएको छ ।

तपाईंहरूले धर्ना भने पनि यो नाकाबन्दीका रूपमा सर्वत्र चिनिइसक्यो, होइन ?
त्यसलाई नाकाबन्दी भन्न मिल्दैन । कतिपय धर्ना नभएका नाकामा खुला पनि छ । धर्ना भएका नाकामा अत्याचार भएको छ, गोली पनि चलेको छ । मान्छे मरेका छन् । हामीलाई भगाइएको छ । तर सहरी क्षेत्रमा सरकारको दबाब बढी परेको, गोली चलेकाले हामीले यो विकल्प रोजेका हौं । शान्तिपूर्ण आन्दोलनमै जब गोली चल्छ, हामीले सरकारलाई दबाब दिनेगरी अरू विकल्पबारे सोच्नैपर्छ । नाका धर्ना त्यसैले भएको हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नै भारतको नेपालमा यो पहिलो नाकाबन्दी होइन भनिसकेपछि प्रस्टीकरण जरुरी छ र ?
उहाँले यो कुरा कुनै प्रश्नको जवाफ दिने सिलसिलामा भन्नुभएको देखिन्छ । तर यहाँ त सरकारले अघोषित नाकाबन्दी भन्दै छ । खासमा भारत सरकारको तर्फबाट कुनै घोषित, अघोषित नाकाबन्दी छैन । उहाँ (स्वराज) ले हजारौं ट्रक लाइनमा छन्, असुरक्षाका कारण नेपाल आउन नसकेको पनि भन्नुभएको छ ।

तर सबलाई किन यो भारतकै नाकाबन्दी हो भन्ने पर्न गयो त ?
हेर्नुस्, हाम्रा सबै मुद्दालाई भारतसँग जोड्ने यो नयाँ चलन होइन । नेपालमा जहिले पनि लोकतन्त्र, न्यायका आन्दोलन हुँदा शासकहरूले भारतसग जोड्ने गर्छन् । प्रजातन्त्रको आन्दोलनलाई राणाहरू, राजाहरूले भारतसँगै जोडे । यस्तै छ यहाँको चलन ।

सरकारी प्रतिनिधि यहाँको मुद्दा लिएर दिल्ली पुग्ने, तपाईंहरू पनि दिल्ली नै पुगेपछि भारतसँग जोडेर व्याख्या गर्नु अनुचित भयो र ?

भारतसँग हाम्रो घनिष्ठ र बहुआयामिक सम्बन्ध छ । यसलाई एकतिरबाट मात्रै हेरेर पुग्दैन । कुनै संकट पर्‍यो भने यहाँको मानिस उहाँ जाने, उहाँको यहाँ आउने सामान्य हो । झन् धार्मिक, सांस्कृतिक भ्रमण दुवैतिर बेरोकटोक छ ।

तपाईंप्रति ससम्मान एउटा प्रश्न सोधूँ– भारतका सत्ता–विपक्षी नेताभन्दा व्यक्तिगत रूपमा तपाईंकै उचाइ र लगानी कम अग्लो छैन । तपाईंसमेत किन उतै जानुपरेको ?
हामीकहाँ त्यो अवस्थामा पुगेका छौं, उहाँहरू जत्रो हुनलाई † आजसम्म हामी त राजकाजमै पुग्न सकेका छैनौं । हामी यहाँ शासन गर्ने हैसियतमा पुगेको भए उहाँहरू पनि हामीसँग सल्लाह लिन आउनुहुन्थ्यो होला नि । हामी त अझै राज्यको लडाइँमै छौं ।

त्यसो भए हामीले मान्नुपर्‍यो कि, आजसम्म राजकाज गर्ने र राजकाज गर्न पाउँ भनी लड्ने दुवै भारतको सहयोग, सल्लाह सुझाव अपेक्षा राख्नु जायज ठान्छन् ?
एउटा कुरा प्रस्ट छ र यो सबैलाई अनुभव भएकै कुरा हो कि, नेपाल र भारतको जुन किसिमको सम्बन्ध छ, त्यो घनिष्ठताले गर्दा सानोतिनो जुनसुकै कुराको असर दुवैतिर परिरहेको हुन्छ । यहाँ बाढी आयो भने त्यसको असर भारतमा पर्छ । हाम्रो भूगोल नै यस्तोखालको छ कि, यताउता असर परिहाल्छ । शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिक सम्बन्ध सबै औपचारिक अनौपचारिक दुवै तहमा घनिष्ठ छ । म रामेश्वरमसम्मै पुग्दा नेपाली पुजारी भेट्ने गर्छु । यस्तो सबैतिर छ ।

धार्मिक तीर्थाटन त यताउता दुवैतिर चल्छ, यो बुझियो । तर राजनीतिक तीर्थाटनचाहिं किन एकोहोरो भारततिर मात्रै चल्छ ?
राजनीतिमा भएकाको शादी, घराना बिहेबारी, धनी गरिब सबैको रोजीरोटी श्रम पनि खुला सिमाना भएकाले सहजै जोडिन्छन् । कोही आमन्त्रित हुन्छन्, कोही गुरु भेट्नै भए पनि जान्छन् । अनि गुरु भेटेर, उपचार गरेर फर्कंदा अवसर मिले उच्चपदस्थ पनि भेट्छन् । यही त हुन्छ यहाँ । सधैं औपचारिक भेट हुन्छ भन्ने होइन, सम्बन्धको नवीकरण पनि हुन्छ ।

यसपालिको दिल्ली भ्रमणमा उताका नेताहरूको नेपाल–चासो कस्तो पाउनुभयो ?
हेर्नुस्, तपाईंको अन्तर्वार्ताका लागि केवल जवाफ दिन म यो भनिरहेको छैन, उताका सत्ताविपक्षी सबैखाले नेताहरूको नेपालप्रति असाध्यै श्रद्धा र सद्भाव छ । नेपालजस्तो देशमा अहिलेको समस्या किन आयो, यो त नहुनुपर्ने हो भन्ने चिन्ता पनि देखिन्छ । त्यो चिन्ता र सदभावका साथ उहाँहरू भन्नुभयो कि, तपाईंहरू मिलेर अहिलेको संकट समाधान गर्नुस्, समस्या सल्टाउनुस् । अझ विपक्षी नेताहरू शरद यादव, डीपी त्रिपाठी, सीताराम येचुरीहरू, जसको सरकारसँग नजिक टाढा सम्बन्ध होला, उहाँहरू समेत नेपाल मामिलामा संवेदनशील हुनुहुन्छ । उत्तिकै सदभाव राख्नुहुन्छ ।

यो त उहाँहरूको साझा चासो भयो, नेपालका लागि केही विशेष प्रेस्क्रिप्सन पनि दिनुभयो होला नि ?
हेर्नुस्, हाम्रा जति मित्र छन्, सबैलाई समेटेर जानुस् नै भन्नुभयो । संविधान वर्तमानको आवश्यकता, भविष्यको पथप्रदर्शक हो भन्ने हो । भारतकै प्रधानमन्त्रीले यहाँ ऋषिमनले संविधान बनाउनुस् भन्दा सबैले ताली बजाएकै हुन् (हाँसो) ।

ऋषिमनबाट तपाईंहरूका लागि केही प्रेस्क्रिप्सन पाउनुभयो ?
त्यही त पाइएन नि (फेरि हाँसो) । हामी कुनै प्रेस्क्रिप्सनका लागि गएका थिएनौं, हाम्रो आन्दोलनका बारेमा धेरै अपव्याख्या भए । हाम्रो कुरा प्रस्ट राख्न त्यहाँ पुगेका हौं ।

उसो भए यो दिल्ली यात्रा कत्तिको सार्थक रह्यो ?
सार्थकताको कुरा गर्नुहुन्छ भने कमल थापाजीको भयो होला, हामी त गयौं, भेट्यौं । आफ्ना कुरा प्रस्ट राख्यौं । यसलाई के सार्थक, के निरर्थक भन्ने हो ?

जारी मधेस आन्दोलनमा यो भ्रमणको प्रभाव वा असर के पर्छ ?
हाम्रो आन्दोलन अझै कडा हुन्छ । सशक्त अघि बढाउँछौं । जाडोले कठिनाइ भएको होला तर तापक्रम दिनलाई भए पनि आन्दोलन चर्काउनुपर्ने भएको छ । सरकार केही लचिलो भइदेओस् । हामी समाधानका लागि धेरै हदसम्म सकारात्मक छौं, यो चाहिं पक्का हो ।

सरकार लचिलो छ त ?
अब, लचिलो भएन भने हामी त आन्दोलनमा छौं । सडकमा ओर्लिएको मानिससँग आन्दोलन चर्काउनेबाहेक अरू के विकल्प रहन्छ ?

तर म पनि भर्खरै मधेस घुमेर आएको । मानिसहरू त आन्दोलन अब थेग्न गाह्रो हुन्छ भनेर खेतीपातीतिर पनि लागिसके, होइन र ?
कहाँ हुनु, आन्दोलनकारी त हामी होलीसम्म आन्दोलन चर्काउन तयार छौं भन्दै छन् (फेरि हाँसो) ।
तपाईंहरू सीमांकन हाम्रो मुख्य मुद्दा भन्नुहुन्छ । आम मधेसी सर्वसाधारणलाई सीमांकनप्रति कुनै चासो नभएझैं पाइयो, बरु अरू विषय उनीहरू उठाउँछन् । के भन्नुहुन्छ ? तपाईंलाई मधेसीले सबैभन्दा बढी चासो केमा राखेका छन्, थाहा छ ?

भन्नुस् त, केमा राखेका छन् ?
मधेस सरकार । तपाईंले नै फोटो छाप्नुभएको छ नि (फेरि हाँसो) ।

उसो भए यो आन्दोलन कहाँसम्म पुगेर टंगिन्छ ?
यो आफ्नो लक्ष्यमा सफल भएर मात्रै टुंगिन्छ । शंकै छैन ।

सरकारले तपाईंहरूको मागमा आधारित भएर संविधान संशोधन विधेयक पारित गरौं भन्दै छ । किन पास हुन नदिनुभएको ?
हेर्नुस्, जहिले पनि प्रतिबद्धता दिइन्छ, तर त्यसअनुसार काम हुँदैन भने शंका गर्नैपर्छ । त्यस बेला सुशील कोइाराला सरकारको बेला पनि हामीलाई भनिएको थियो, तपाईंहरूसँग छलफल गरेर पारित गर्छौं । अहिले त्यो विधेयकमा जुन भाषागत समस्या देखिएको छ, हामीसँग छलफल गरेको भए भाषागत समस्या आउने थिएन । त्यही सहमतिअनुसार विधेयक आउँथ्यो । त्यो गरिएन । अहिले पनि हामीसँग सोधेर ल्याएको होइन विधेयक । अझ सुरुमा त यही विधेयक ल्याउने कुरा पनि थिएन । बल्ल यतिमा उहाँहरू आउँदै हुनुहुन्छ । हाम्रो विरोध विधेयकमा परेको विषयमा त छँदै छ, तर खास कुराचाहिं सीमांकनमा छ, जो उहाँहरूले विधेयकमा राख्नुभएको छैन । त्यसैले त सीमांकन हेरफेरसहित संविधान संशोधन हुनुपर्‍यो भनिरहेका छौं । जबसम्म सीमांकनको मुद्दा सम्बोधन हुँदैन, मधेसमा असन्तोष रहिरहन्छ ।

एमाओवादीले झापादेखि कञ्चनपुर दुई प्रदेश जस्ताको तस्तै पूरा गर्न सकिन्न, जिल्ला टुक्रयाएर भए पनि मिलनबिन्दु खोजौं भन्दै छ, तपाईंहरूलाई यो प्रस्ताव कस्तो लाग्यो ?
त्यो कुनै तार्किक कुरो भएन । किन राख्नुपर्‍यो तराईका जिल्ला पहाडमा ? कारण के ? एकातिर पहाडमा जातीय आधारमा राज्य गर्न मिल्दैन भन्ने । अर्कातिर मधेसमा चाहिं त्यही जातीय कारण देखाएर पहाडसँग मिलाउने ?

तर राष्ट्रियता र अखण्डताको विषय पनि आइसक्यो नि ?
यदि त्यही दृष्टिले हेर्ने हो भने यो प्रश्न गर्नेहरूले बुझून्– मधेस राष्ट्रियताको हिसाबले सबैभन्दा दृढ भूमि हो । मधेसमा पहाडी, मधेसी, हिन्दु, मुसलमान, थारू, आदिवासी, जनजाति, शिख, जैन, बौद्धमार्गी सब बसोबास गर्छन् । तर मधेसी र थारू त पहाडमा बस्दैनन् । यहीँबाट थाहा हुन्छ, वास्तविक नेपालको प्रतिबिम्ब कहाँ भेटिन्छ भनेर ।

दर्जनौं वार्ता भइसके, तैपनि किन निरन्तर असफल ?
कुरा नबुझेर । धेरै शंका उपशंका गरेर । कोही भन्छन् देशै टुक्रन्छ । अलग हुन्छ । कोही हामीलाई यहाँको मान्छे नै नभन्ने । जहिले पनि हाम्रो समस्यालाई अरूसँग जोडेर हेर्ने । हाम्रो कुरा बुझ्ने संवेदनशीलता नै विकास भइरहेको छैन ।

तर सरकारी पक्ष भन्छ, तपाईंहरूले चाहिं उहाँहरूको कुरा बुझ्नुभएको छैन । अझ संविधान बुझाउनसमेत मधेसमा दिइएन भन्ने आरोप तपार्ईंहरूमाथि छ
हामीलाई उहाँहरूले पाएको खालको उच्च शिक्षा पाउने अवसर दिनुभएन उहाँहरूले । हाम्रो पढाइलेखाइ कमजोर भएकाले सायद संविधान बुझ्न सकेनौं होला (हाँसो) ।

नाकाबन्दी कहिले खुल्छ ?
सरकारले जुन दिन चाहन्छ, त्यसै दिन ।

उसो भए सरकारले नचाहेर नाकाबन्दी जारी भएको ?
अरू के त ? हामी त भोलि नै खुलोस्, सबै सामान्य होओस् भन्ने चाहन्छौं ।

यस्ता थुप्रै आन्दोलनहरूबाट यो सानो र सीमित राज्यले कहिले मुक्ति पाउँछ ?
हेर्नुस् । सबैले सबै कुरा बुझिसकेका छन् । यसको सम्बोधन गरेर नै आन्दोलन निष्कर्षमा पुग्छ । त्यसैको प्रयास अहिले सुरु भइसकेको छ । यो बेग्लै कुरा हो, प्रयासको गति अलि धिमा छ ।
 

थकाइ लागेको छैन ?
मलाई ?

हो ।
नौजवानहरूको जोस देखेर मलाई त अहिल्यै सडकमा गइहालूँजस्तो हुन्छ ।

कतिपय भन्छन् कि देश विखण्डनतिर यो आन्दोलन जाँदै छ । त्यो सही हो ?
त्यस्तो कुरा हाम्रो एजेन्डामै छैन । कुनै सोच पनि छैन । त्यसको सम्भावना न्यून छ ।

तर यस्तै लामो आन्दोलन निरन्तर भइरह्यो भने तपाईंहरूको नियन्त्रणमै रहिरहन्छ भन्ने के ठेगान ?
नियन्त्रणमा रहने नरहने प्रश्न अलि अलग कुरा हो । जब कुनै चिज ‘रिजिड’ भइरहन्छ, त्यो खतरनाक हुन्छ । हावामा अलिअलि हल्लने रूख भाँचिँदैन, तर बढी सिधाझैं देखिने रूख पहिले भाँचिन्छ । अहिले सत्तामा जुन कडाइ देखिएको छ, त्यो दुर्घटनाको जिम्मेवार हुन सक्ने छ । दुर्घटना त भनेर, जानेर आउँदैन । एक्कासि आउँछ । त्यसपछि मात्रै थाहा होला, कहाँ गल्ती भयो भन्ने कुरा ।

बटमलाइन के हो त ?
त्यही हो, ११ बुँदा । पटकपटक भनिसकेका छौं । त्यसमा अझै सीमांकन हो । त्यसमा पनि सोध्नुहुन्छ भने मधेसमा दुई प्रदेश ।

 

प्रकाशित : मंसिर २७, २०७२ ०८:५३
×