कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

रुकुमेली मजदुरको ‘लङ्ग मार्च’

वैशाख ९, २०७७
रुकुमेली मजदुरको ‘लङ्ग मार्च’

Highlights

  • ‘सरकारले नदिए पनि भोकै परिन्नँ । बस्, यहाँबाट पुर्‍याउने व्यवस्था गरिदिए हुन्थ्यो’

पोखरा — तत्कालीन माओवादीले पहिलो हमला गरेर सशस्त्र युद्धको घोषणा गरेको स्थान गोरखाबाट रुकुमका ९ मजदुरले बाटो तताए । वैशाख ५ मा गोरखाको फिनामबाट माओवादीको तत्कालीन आधार इलाका रुकुमतर्फको हिँडाइमा दुई दिनपछि ‘ब्रेक’ लाग्यो । आइतबार साँझ पोखरा आइपुगेपछि उनीहरुलाई स्थानीयले रोके ।

यसअघि ३ समूहमा ३० भन्दा बढी मजदुर गोरखाबाट पोखरा, बागलुङ, रुकुम पूर्व हुँदै रुकुम पश्चिम पुगिसकेका थिए । पछिल्लोपल्ट ७ जना हिँडेर घर पुगेपछि गोरखाबाट बाँकी ९ मजदुरले हिँडेरै घर जाने निर्णय लिए । चीनको ‘लङ्ग मार्च’ सम्झाइदिने गरी देशैभर हिँडिरहेका मजदुरको ताँतीमा उनीहरु पनि मिसिए ।

चिनियाँ क्रान्ति सम्पन्न गर्न माओ त्से तुङले सन् १९३४ अक्टोबर १६ देखि १९३५ अक्टोबर २० सम्म ‘लङ्ग मार्च’ अभियान चलाए । जापानी आक्रमणको प्रतिरोध गर्दै जनसेनालाई एकत्रित गरेर आधार इलाका येनानबाट अभियानको सुरु भएको थियो । माओका सेना हिँडेर १८ ठूला पहाड, २४ ठूला नदी, भञ्ज्याङ, पहरा छिचोल्दै ६ हजार माइल यात्रा गरे ।

‘लङ्ग मार्च’ क्रान्ति जित्नलाई थियो, रुकुमेली मजदुरको हिँडाइ कोरोनाको सिर्जना गरेको भोकमरी जित्न । चिनियाँ लालसेनाले दुस्मनको आक्रमण सहेजस्तै उनीहरुले ठाउँ–ठाउँमा प्रहरीको अवरोध सहनुपर्‍यो । घरीघरी भीषण वर्षाले बाटो छेक्यो । उकाला, ओराला र भञ्ज्याङ काटे । पानी पर्दा बाटोमा भेटिने प्रतीक्षालयमा बसे । २–३ घण्टा आराम गर्थे । राति पनि निरन्तर हिँडिरहे । दिन रात हिँडेर उनीहरु दुई दिनमा पोखरा आइपुगेका थिए ।

पोखरा–११ पुरानोधारामा आइपुग्दा स्थानीयले उनीहरुलाई सोधपूछ गरे । पहल केसी, रमेश केसी, प्रेम केसी, पवन केसी, नवराज बुढाथोकी, नवीन बस्नेत, सुरेन्द्र विष्ट, तिलक केसी र करण वुर्तालले हिँडेरै रुकुम पश्चिम जान लागेको बताए । चौरजहारी नगरपालिकाका उनीहरु सबै एकै गाउँका हुन् । स्थानीय प्रमिला तझ्याले पोखरा–९ का वडासचिव लोकदर्शन कोइरालासँग समन्वय गरिन् । कोइरालाले नयाँबजारको नवप्रभात माविको एउटा कोठामा मजदुरलाई राख्ने व्यवस्था मिलाए । वडाका स्थानीय, आमा समूह र केही युवाले रासन, ओड्ने, ओछयाउँने जोहो गरे ।

वडासचिव कोइरालाले उनीहरुलाई रुकुम पठाउन गाडी ठिक्क पारे पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाइएको बताए । गोरखाबाट हिँडेर आए पनि पोखराबाट गाडी चढ्ने आशमा ती मजदुर सोमबार यतै बसे । गाडीबाट जाँदा बुटवल, दाङ हुँदै जानुपर्छ । १७ देखि ३० वर्ष उमेरका उनीहरु गाडी नमिले हिँडेरै जाने सोचमा छन् । ‘हामीभन्दा अघि जानेहरु यहाँबाट ७ दिनमा पुगेछन्,’ १८ वर्षीय पहल केसीले भने, ‘दिन रात हिँडेर अलि छिट्टै पुग्न सकिन्छ भन्ने आश छ ।’ यसअघि कहिल्यै नहिँडेकोले बाटो भने सोध्दै खोज्दै हिँड्नुपर्ने उनले बताए । उनीहरु गोरखाबाट पोखरा आउँदा पृथ्वी राजमार्गबाटै आए । पोखराबाट बागलुङ भूपी शेरचन राजमार्ग हुँदै जानुपर्छ । बागलुङ बजारबाट बुर्तिवाङ हुँदै रुकुम पूर्वको तकसेरा पुगिन्छ । ‘बाटो थाहा छैन । पहिलो हिँडेकालाई फोनमा सोध्दै जानुपर्छ,’ अर्का मजदुर प्रेम केसीले भने, ‘छोटो बाटो थाहा पाए छिट्टै पुगिन्थ्यो कि ।’

उनीहरु ५ महिनाअघि गोरखा पुगेका थिए । गाउँका अन्य कामदारले गोरखामा राम्रो कमाइ हुने भनेपछि ९ जना सँगै गोरखा पुगे । भूकम्पले भत्काएका घर बनाएर सकिएकै थिएन, लकडाउन सुरु भयो । लकडाउन खुल्ने आशमा फिनाममै बसे । साथमा खर्च भएन । गोरखा नगरपालिकाले प्रतिव्यक्ति ५–५ किलो चामल दियो । त्यतिले पुगिञ्जेल बसे । फेरि राहत माग्दा वडाले वास्ता गरेन । ‘अलिअलि कमाएको पैसा घरतिर हालिहाल्यौं,’ प्रेमले भने, ‘खर्च सकियो । घरमै जाम, मरे पनि घरमै मरौंला भनेर हिँडियो ।’

साथमा भएको १५ सय/दुई हजार रुपैयाँ लिएर उनीहरु हिँड्न सुरु गरेका थिए । चाउचाउ र चिउराको भरमा बाटो काटेको रमेश केसीले बताए । तनहुँको आबुखैरेनी आएपछि भने स्थानीय अभियान भट्टले निजी सवारीमा २० किलोमिटर वरसम्म छोडिदिए । चाउचाउ, बिस्कुट र काँक्रो पनि खुवाए ।

वडा सचिव लोकदर्शन कोइराला अलपत्र मजदुरलाई राख्न कुनै समस्या नभएको बताउँछन् । खाद्यान्न, तरकारी, मासु, अण्डा सहयोग आउने क्रम बढेको उनले बताए । स्थानीय आमा समूह खाना बनाउन खटिएका छन् । ‘अलपत्र परेका मजदुरलाई आश्रयस्थलको रुपमा अहिले विद्यालय प्रयोग गरिएको छ,’ उनले भने, ‘उनीहरुलाई गन्तब्यसम्म पुर्‍याउँने । भोकै रहेका कोही छन् भने खुवाउने पनि हाम्रो अभियान छ ।’

पोखरामा खान, बस्न पाउँदा ती मजदुर खुसी नै छन् । मन भने घरतिरै छ । ‘घरमा टन्नै खेतीपाती छ । पसलबाट किनेर खानुपर्दैन,’ मजदुर नवराज बुढाथोकीले भने, ‘सरकारले नदिए पनि भोकै परिन्नँ । बस्, यहाँबाट पुर्‍याउँने व्यवस्था गरिदिए हुन्थ्यो ।’

प्रकाशित : वैशाख ९, २०७७ १२:०८
x
×