कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

बाहिर निस्के महामारी, घरमा भोकमरी

चैत्र १४, २०७६
बाहिर निस्के महामारी, घरमा भोकमरी

Highlights

  • थापाथली पुलमा गाडी गुड्न छाडेपछि उनीहरूको आम्दानीको स्रोत गुम्यो, दिनमा सय–पचास रुपैयाँ मात्रै भए पनि आउने बाटो रोकियो । भान्सामा सबथोक सकिँदै छ तर पुलमा गाडीको चाप बढ्ने दिन कहिले आउँछ, थाहा छैन ।

काठमाडौँ — सहर कोलाहलयुक्त हुने समय थियो भने बिहान नौ बजेपछि नै उनीहरुको टोल शान्त हुन्थ्यो, सबैका घरमा ताला झुन्डिन्थ्यो । चर्किंदै गएको चैतको घाममा कोही तरतरी पसिना चुहाउँदै भारी बोकिरहेका हुन्थे, कोही घर बनाइरहन्थे । सबै जना केही न केही काम गर्थे, कोही खाली बस्दैनथे ।

सहर चकमन्न हुने बेला छ अहिले, त्यसैले उनीहरूको टोलको कुनै पनि घरमा ताला लगाइएको छैन ।

विश्वभर फैलिएको कोभिड–१९ को असरले बाहिरी दुनियाँ बन्द भएपछि उनीहरू टोल र घरभित्रै कल्याङमल्याङ गरिरहेका छन् । कति भर्खरै खाना खाएका भाँडा पखाल्दैछन्, केही थैलोमा भएको अन्नले कति दिन पुग्छ भनेर लेखाजोखा गर्दैछन् । धेरैको भण्डारमा अन्नको सतह तलतल सरिरहेको छ । तेल र मसलाका रित्ता भाँडा अस्तव्यस्त गुल्टिएका छन, खाली भाँडाकुँडा त स्याहार गर्न पनि मन लाग्दैन सायद ।

यस्तै बिहान १० जति बजेको हुँदो हो, म काठमाडौं थापाथलीस्थित सुकम्बासी बस्तीको गल्लीमा हिँडिरहेको छु । मैले हिँडेको गल्ली र उनीहरू बसेको टहराको आँगन एउटै भएकाले भित्र बोलेको कुरा बाहिर स्पष्ट सुनिन्छ । ‘यति चामलले त बेलुकालाई पुग्दैन, के खाने हो ?’ म एकछिन त्यहीँ रोकिन्छु र टाउको हल्का झुकाएर टहराभित्र छिर्छु ।

पाँच वर्षका कृष्ण यादव कसौंडीको पिँधमा बाँकी रहेको भात कातरकुतुर पार्दैछन्, भातसँग खाने सितन छैन । उनले छेउको पोकाबाट अलिकति नुन निकाले र भातमा मिसाए । आमाले गिलासमा पानी खन्याइदिइन् । भोजनभन्दा भोक मीठो थियो सायद, बिहीबार राति एक पुरिया बिस्कुट मात्रै खाएर सुतेका उनले छिनको छिनमै त्यो खाना सक्याए र उही बाल सुलभतासहित खेल्न दौडिए । उनका दिदीहरू ८ वर्षकी बिनिता र ११ वर्षकी संगिता पानीमा भिजाएर नरम पारिएका चिउरा चपाउँदै छन् । बा–आमा लक्ष्मी यादव र फूलकुमारी यादवले भोक मेट्ने कसरी हो, यो बेलासम्म कुनै ठेगान छैन ।

देशमा लकडाउन छ भनेर उनीहरूको पेट शान्त बस्दैन पक्कै । केही काम पाउँदा काम गरेर र नपाउँदा मागेरै भए पनि गुजारा चलाउँदै आएको उनीहरुको पाँच सदस्यीय परिवार सरकारले लकडाउन घोषणा गरेसँगै यी दुवै कामका लागि बाहिर निस्किन पाएन । कमाएर जम्मा पारेको जति सबै सकियो । ‘समाचारमा ग्यास, चामल, तरकारीका पसल खुलै छन् भनेको सुनिन्छ,’ लक्ष्मीले भने, ‘तर खुला पसलमा भएका सामान किन्ने पैसा हामीसँग छैन ।’ विश्वले कोभिड–१९ सँग र लक्ष्मीको परिवारले भोकसँग गरेको युद्धको तुलना त हुन्न होला तर परिणाम एउटै आउँछ, हार्नु भनेको मर्नु हो ।

यीजस्तै अरु धेरै परिवारको घरमा मौज्दात अन्न लगभग सकिएको छ । काठमाडौंमा मजदुरी गरेर धनुषामा रहेका पाँच छोरी र श्रीमती पाल्दै आएका लक्ष्मेश्वर यादवलाई घरबाट दिनदिनै फोन आउँछ । घरमा भएको अन्न सकियो, के खाने भनेर श्रीमतीले सोधिरहन्छिन् । यता ठ्याम्मै काम नभएको साता नाघिसक्यो । त्यही टहराभित्र धुम्धुम्ती बस्न थालेकै पनि चार दिन बितिसक्यो । ‘छिमेकीलाई फोन गरेर तीन किलो चामल उधारो दिनु भनेको छु,’ लक्ष्मेश्वरले भने, ‘खुलेपछि काम गरेर तिर्नुपर्ला ।’

श्रीमती र परिवारका लागि अस्थायी जोहो गरिदिएका उनकै भने हालत नाजुक छ, भान्सामा अन्न र गोजीमा पैसा एकैपटक सकिएको छ । त्यसो त काठमाडौंमा आफ्नो गाउँमा जस्तो उधारो पत्याइदिने छिमेकी पनि छैनन् ।

महामारीले पूरै विश्वलाई गिजोलेको छ, मृतकको संख्या बढेको बढ्यै छ । संक्रमित दिन दुई गुणा रात चौगुणाका दरमा बढिरहेका छन् । विश्व महामारीसँग जुधिरहँदा टहराभित्रै टहलिएर सरकारले गरेको निर्णयमा साथ दिएका हुन् विपन्नहरूले पनि । तर भोकसँगको भिडन्त अलि अर्कै हुँदो रहेछ । त्यसैको मारमा देशभरका ज्यालादारीमा मजदुरी गरेर जीवनयापन गर्नेहरुका परिवार छन् ।

गरिबी र महामारीसँग जनता एकैपटक जुध्न सक्दैनन् भन्ने सोचेरै भारतले विपन्नका लागि ८० करोडको विशेष आर्थिक प्याकेज घोषणा गरेको छ । उनले आफ्ना विपन्न जनतालाई तीन महिनासम्म सहायता गर्ने घोषणा गर्दै उनीहरुलाई भोकभोकै मर्न नदिने बताएको छ । पीडामा आश्वासन नै सही, भारतले त्यति त गर्‍यो, घोषणा गरेपछि कार्यान्वयनमा आउला पनि । तर भारतमा भन्दा पहिले नै लकडाउन गरेको नेपालले अहिलेसम्म गरिबीको मारमा रहेका नागरिकका लागि त्यस्तो कुनै योजना ल्याइसकेको छैन । तर लकडाउनका कारण काम गर्न नपाएका मजदुरका घरभित्र भने अभावले असर देखाउन थालिसकेको छ । सुकुम्बासी टोलकी पुनम माझी तिनैमध्येकी हुन् ।

‘एक दिनभरि भारी बोक्दा ८ सय रुपैयाँ आउँछ, दुई दिन जति खान पुग्छ,’ माझीले भनिन्, ‘बाहिर निस्के महामारीले मर्ने, घरभित्र बसे खान नपाएर मर्ने हालत भयो ।’ उनले सरकारले आफूहरुका लागि केही सोच्नुपर्ने बताइन् । ‘हामी त अझ काम गरेर खान सक्ने छौं, यो टोलमा मागेर गुजारा चलाउने पनि धेरै छन्, उनीहरु झन् समस्यामा छन्,’ उनले भनिन् ।

माझीले भनेजस्तै मागेरै जिन्दगी धान्ने परमेश्वरीदेवी मुखिया र श्याल्टु मुखियाको दृष्टिविहीन दम्पती थापाथली पुलमुनि बस्छन् । पुलमा गाडीको आवाज सुन्नेबित्तिकै उनीहरुको कान ठाडो हुन्छ । ‘एउटा–दुइटा मात्रै गाडी चलेका छन्,’ परमेश्वरीले भनिन्, ‘त्यहाँ गएर हामीलाई कसले पैसा दिन्छ र खाने ?’ नत्र भए अरु बेला परमेश्वरी थापाथलीमा गाडीको चाप बढ्नेबित्तिकै माग्न जान्थिन् भने श्याल्टु खाना पकाउने काम गर्थे ।

सहर सुनसान भएपछि यिनीहरुको आम्दानीको स्रोत गुम्यो, दिनमा सय–पचास रुपैयाँ मात्रै भए पनि आउने बाटो रोकियो । अहिले यो दम्पतीको भान्सामा डेढ किलोजति आलु र त्यति नै चामलबाहेक सबथोक सकिएको छ । तर थापाथली पुलमा गाडीको चाप बढ्ने दिन कहिले आउँछ उनीहरूलाई थाहा छैन । किनभने महामारीको त्रास कति लम्बिन्छ अनिश्चित छ ।

प्रकाशित : चैत्र १४, २०७६ १७:४७
x
×