पहलमानको खोजी

फुलमान बल

काठमाडौ — मध्यबानेश्वरको पूजा प्रतिष्ठानमार्गस्थित एकतले घरमा हालैको एक बिहान पहिलो नेपाली मौलिक नाटककार पहलमानसिंह स्वाँरको चर्चा चल्दै थियो ।

५४ वर्षीय नाति बलमानसिंह पहलमानका कृति र जीवनभर उनले संगत गरेका सामग्रीमाझ घेरिएका थिए । 'धेरैजसो कृतिहरू हराएर गए,' नेपाली नाट्य साहित्यलाई अनुवादको युगबाट मौलिक युगमा प्रवेश गराउने स्रष्टा पहलमानबारे उनी भन्दै थिए, 'खोजी गर्दा भेटिएका जति संकलन गरेका छौं, संग्रहालय बनाउने सोचले ।'
झन्डै एक शताब्दीअघि संस्कृत र हिन्दी साहित्यबाट अनुवाद गर्ने नेपाली नाट्य परम्परालाई 'अटलबहादुर' नामक कृतिमार्फत पहलमानले पहिलोपटक मौलिकता दिएका थिए । वि.सं. १९६२ मा प्रकाशित यही कृतिलाई अहिलेसम्म पाएको सबैभन्दा पहिलो मौलिक नाट्यकृतिको रूपमा लिइन्छ । अछामको रिडिकोटमा वि.सं. १९३५ मा जन्मेका यिनले कविता, कथा लगायतका विधामा पनि कलम चलाएका थिए, आधा दर्जन प्रकाशित छन् आधा दर्जन बाँकी ।
नाति बलमानले अप्रकाशित कृतिदेखि प्रकाशित कृतिका पाण्डुलिपिसम्म खोजी गरेका
छन् । 'हजुरबाको मृत्युपछि बुबा तारामानले तत्कालीन गोर्खा भाषा प्रकाशिनी समितिलाई पाण्डुलिपिहरू बुझाएको र ती प्रकाशित नभई त्यसै हराएको भनिन्छ,' बलमानले भने, 'माइक्रो डकुमेन्ट्री बनाउने क्रममा खोजी गर्दा केही भेट्टएिका छन् ।'
बलमानले कृतिसँगै पहलमानको जीवनकालसँग जोडिएका सामग्रीहरू समेत संकलन गरेका छन् । तत्कालीन नयाा मुलुक -बााके, बर्दिया, कैलाली र कञ्चनपुर) को ठेक्का घाटा गएको सन्दर्भमा राणा शासकले पहलमानको घर-परिवार पक्राउ गर्न थालेपछि भारत निर्वासित भएका पहलमानले केही कृति भारतमै लेखेका थिए । भारत प्रवासमै छँदा बुनाइकला सिकेका यिनले चन्द्रशमशेर बेलायत यात्राको क्रममा मुम्बईमा भेटी गलैंचा उपहार चढाएपछि माफी पाएका थिए, पछि काठमाडौं झिकाई उनैलाई चन्द्रशमशेरले सदर जेलखानाका प्रमुख बनाए । कैदीलाई आपराधिक कामबाट मुक्त बनाउन सीप दिने गरी पहलमानले नै जेल कारखाना बनाएका थिए र बलमानले तिनताकका पुराना हस्तकला र तिनमा मग्न कैदीहरूका दुर्लभ तस्बिर पनि खोजी गरेका छन् ।
बलमानको घरको भित्तामा त्यतिबेला पहलमान आफैंले हातले तकेका कपासको दौरा सुरुवाल र अन्य कपडाको नमुना सजाइएका छन् भने चर्खा कातिरहेकी बन्दी युवती र काठ चिरेर कलात्मक सामग्री बनाइरहेकाहरूका तस्बिर पनि छन् । संग्रहालय बनाउने सोचका साथ पहलमानले प्रयोग गरेका भाँडाबर्तन पनि उनले संकलन गर्न भ्याएका छन् ।
'उहाा चित्रकार पनि हुनुहुन्थ्यो भन्ने यसबाट पुष्टि हुन्छ,' कुराकानी क्रममा बलमानले पहिलो अछामी भाषाको कृति 'लालुभागा' को पाण्डुलिपि औंल्याए, जहाँ बीचबीचमा पहलमान आफैंले लेखेका रंगीन चित्रहरू थिए । पहलमान अछामी भाषाको पहिलो लेखक पनि हुन् र लालुभागा अहिलेसम्मकै एकमात्र अछामी नाटक मानिन्छ । कृतिमा लैलामजनु, मुनामदन भनेजस्तै अमर प्रेमकथा सम्बन्धी चर्चित अछामी मिथकीय पात्र लालु र भागाको सन्दर्भ छ ।
यसबाहेक पहलमानले छन्दमै लेखेका गणित, नाटकहरू 'विष्णुमाया', 'विमलादेवी', कविताकृति 'काव्यसंग्रह' अन्यमा 'अछामका चाडपर्व', 'किस्किन्धा काण्ड', 'पदमकुमारी', 'मेघदूत रघुवंश' लगायत दर्जनौं प्रकाशित/अप्रकाशित कृतिहरू बलमानले खोजी गरेका छन् । सरकारले डोटीको सिलगडीदेखि अछामको सााफेबगरसम्मको बाटोलाई पहलमानसिंह मार्गको नाम दिइसकेको छ भने २०३६ मै पहलमानको नाममा हुलाक टिकट छापिएका थियो । कैलालीमा पहलमानकै नामबाट पहलमानपुर गाउँ स्थापित छ, जहाँ उनकै नामबाट उच्चमावि, पुस्तकालय र युनेस्को क्लब पनि छन् ।
'संग्रहालयलाई पुग्ने गरी खोजी र संकलन कार्य भइसकेको छ,' बलमानले भने, 'सरकार या कुनै इच्छुक व्यक्ति या निकायको साथ पाएमा यी सबै सामग्री सुम्पिन तयार छौं ।'
१३२ औं जन्मजयन्तीको अवसर पारेर सोमबार राजधानीमा 'साहित्यका तपस्वी ः अमर साधक पहलमान सिंह स्वाँर' नामक डकुमेन्ट्री सार्वजनिक गर्ने तयारी समेत गरिरहेका बलमानले अछाम चण्डिकास्थित एक शताब्दी पुरानो घरको सन्दर्भ पनि झिके । विसं १९७४ मा कीर्तिपुरका नेवार डकर्मीहरू झिकाई बनाइएको पहलमानको घर हाल जीर्ण अवस्थामा छ । तीन रोपनी क्षेत्रफलमा बनेको घर अछामकै पहिलो इटाको घर मानिन्छ । 'संरक्षण हुने हो भने,' बलमानले सुनाए, 'घरसहितको सबै सम्पत्ति सरकारलाई सुम्पिन तयार छु ।'

प्रकाशित : मंसिर ६, २०६७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?