कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

लकडाउनले भारतमा नेपालीलाई मार : सरकारको पत्तो छैन, मनकारीकै भर

वैशाख ९, २०७७
लकडाउनले भारतमा नेपालीलाई मार : सरकारको पत्तो छैन, मनकारीकै भर

नयाँदिल्ली — भारतमा लकडाउनका कारण समस्या भोगिरहेका नेपालीहरुको उद्धार र राहत उपलब्ध गराउन सरकार एवं दिल्लीस्थित नेपाली दूतावासले त्यति चासो दिएको छैन ।  तर पनि प्रवासमा रहेका सहृदयी तथा मनकारी नेपालीहरु भने उनीहरुलाई सकेसम्म आवश्यक सहयोग उपलब्ध गराउन दिनरात लागिपरेका छन् ।

यकिन तथ्याकं नभए पनि भारतमा करिब १५ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ । भारतले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गत २४ मार्चदेखि लगाएको लकडाउनका कारण तिनै कामदारहरुलाई ठूलो समस्या परेको छ । काम गर्दै आएको व्यापार तथा व्यवसाय बन्द भएपछि कैयौंलाई एक छाकको जोहो गर्न पनि कठिन भएको छ । भारतका राज्य सरकारहरुले रासन कार्डका आधारमा मात्र राहत बाँडेका कारण उनीहरुले सहजै त्यो राहत पाउने अवस्था पनि छैन ।

त्यसमाथि लकडाउन लागू हुनुअघि नै नेपाल जान हिँडेका सयौं नेपाली त बाटोमा अलपत्र परेका छन् । उनीहरुमध्ये अधिकांशले राज्यसँग सके नेपाल पठाउन नभए राहत उपलब्ध गराउन माग गर्दै आएका छन् । तर, उनीहरुको त्यो याचनाप्रति दिल्लीस्थित दूतावासले कुनै चासो देखाएको छैन । न त समस्या समाधानका लागि आवश्यक समन्वय नै गरेको छ । दूतावासले राहत वितरणका नाममा अहिलेसम्म डेढ सय जनालाई मात्र राहत बाँडेको छ । प्रवासमा रहेका नेपालीहरुका लागि अभिभावकको भूमिका खेल्नुपर्ने दूतावासले बेवास्ता गरे पनि प्रवासमै रहेका नेपालीहरु भने व्यक्तिगत तवरमा र विभिन्न संस्थाहरुसँगको समन्वयमा लकडाउनका कारण भारतमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न लागि परेका छन् ।

राजधानी दिल्लीमा मात्र नेपाल जान हिँडेका र विभिन्न रेस्टुरेन्ट एवं व्यवसायमा काम गर्नेगरी करिब हजारभन्दा बढी अलपत्र अवस्थामा छन् । उनीहरुलाई दिल्लीमै रहेका प्रवासी नेपाली संगठन र केही नेपालीले व्यक्तिगत रुपमै सहयोग गरिरहेका छन् । तीमध्ये आरबी खड्का, सन्दिप राना, व्यवसायीहरु दिपक जीसी, शोभाकर पन्थी, सुदन महत, व्यवसायीहरु राजु खनाल र किसान बोहरा, वकिल प्रेम क्षेत्री, तुलाराम शर्मा, रघुनाथ पाण्डेले ट्याक्सी दिएका छन् । उनीहरुले दिल्ली एनसीआरका क्षेत्रमा पर्ने नोयडा, फरिदाबाद, गाजियाबाददेखि छत्रपुर, सुभासनगरलगायतका दुई दर्जनमा ठाउँमा खाना एवं राहत सामग्री उपलब्ध गराएका छन् । नियमित तीन सयभन्दा बढीलाई हरेक दिन बिहान साँझ खाना दिइरहेका छन् । दिल्ली र एनएनसीआरमा दुई हजारभन्दा बढी परिवारलाई खाद्यान्न उपलब्ध गराइएको छ ।

दिल्लीभित्रकै सुभासनगर मेट्रो, पटेल नगर, सख्खरपुर पन्जाबी बागको मेट्रो छेउछाउमा रहेका नेपालीलाई केहीलाई खाद्यान्न दिइएको छ भने केहीलाई बिहान बेलुकी खाना पुऱ्याइएको छ । त्यसका लागि कतिपय स्थानमा स्थानीय व्यवसायीसँग पनि समन्वयय गरिएको छ । ‘जति पनि सम्पर्कमा आएका छन् ती सबैलाई भ्याएसम्म राहत दिने प्रयास गरेका छौं । कहीँकहीँ समन्वय अभावका कारण पुऱ्याउन सकिएको छैन । मुख्य उद्देश्य भनेको कसैलाई भोकै बस्न नदिने भन्ने नै हो,’ अखिल भारत प्रवासी मन्चका केन्द्रीय सचिव आरबी खड्काले भने । रघुनाथ पाण्डेलगायतका केही नेपालीले त व्यक्तिगत रुपमा सहयोग गरिरहेका छन् ।

त्यसैगरी लकडाउनका कारण बीच बाटोमै अलपत्र परेका नेपालीहरुलाई पनि यिनै मनकारीहरुले सहयोग गरेका छन् । त्यस्तै सहयोग दिल्लीबाट हिँडेका ९० जनाभन्दा बढी नेपालीहरुले पाए । उत्तरप्रदेशको रामपुरमा अलपत्र परेका उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाउन दिल्लीस्थत अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले विशेष पहल गरेका थिए । उनकै पहलमा उत्तरप्रदेशका एक मन्त्रीले आवश्यक प्रबन्ध मिलाइदिएका छन् ।

भारतको आर्थिक नगरी मुम्बई नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्य हो । त्यहाँमात्र तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । लकडाउनले यिनीहरुलाई ठूलै असर परेको छ । तर, त्यहाँका प्रवासी नेपाली संगठनहरुसँग आबद्ध व्यक्तिहरुले लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई राहत दिन कम्मर कसेर लागेका छन् । सम्भवसम्म आफै राहत बाँड्ने गरेको, नभए स्थानीय प्रशासन र संस्थाहरुसँग समन्वय गरेर राहत बाँडिरहेको मुम्बईमा रहेका मोहन देवकरले कान्तिपुरसँग भने । त्यसैगरी डम्बर रावल, मोतिलाल न्यौपानेलगायत पनि राहत बितवरणमा सक्रिय रहेको बुझिएको छ ।

उता, नेपाली कामदारहरुको बाक्लो उपस्थिति रहेको कर्नाटकमा पनि उता बैंग्लोरमा ऐनबहादुर रावल, तिलक कँडेल, माधव भण्डारी, गिरधरी सुवेदी र टिका पौडेललगायतका प्रवासी नेपालीहरु राहत वितरण र अन्य आवश्यक सहयोग जुटाउन सक्रिय रहेका छन् ।

गुजरातमा पनि नेपाली कामदारहरुको बाक्लो उपस्थिति छ । लकडाउनका कारण धेरैलाई एक छाकको जोहो गर्न कठिन भएको छ । तर, त्यहाँ पनि केही मनकारी नेपालीहरु राहत दिन खटिरहेका छन् । अहमदाबादमा रहेका नरेश सिजापतिले त आफ्नो संस्था पनाह फाउडेन्सनमार्फत् समस्या भोगिरहेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् । पनाह फाउन्डेसनले हालसम्म तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न दिइसकेको छ । चामल, दाल, आलु, मसाला, पिठोलगायतका अत्यावश्यक सामग्रीको रासन किट बनाएर नेपालीहरुलाई बाँडिएको फाउडेन्सनका संस्थापक तथा सीईओ नरेश सिजापतिले कान्तिपुरलाई जानकारी दिए । साथै आफूहरु भारतका अन्य राज्यमा अलपत्र र समस्यामा परेका नेपालीहरुलाई सहयोग जुटाउनका लागि पनि लागि परेको समेत उनले बताए । ‘हामीहरुले भारत भरि रहेको गैससको सन्जालमार्फत् नेपालीहरुलाई राहत दिलाउन प्रयासरत छौं,’ उनले भने । उनको संस्थाले समस्यामा परेका नेपालीहरुका लागि भनेर छुट्टै नेपाली हेल्पलाइन नै सञ्चालनमा ल्याएको छ ।

चौबीसै घन्टा सञ्चालनमा रहने हेल्पलाइनमार्फत् समस्यामा परेका नेपालीहरु भारतको जुन ठाउँमा भए पनि सहयोग पुऱ्याउने गरिएको पनि सिजापतिले बताए । त्यसैगरी लकडाउनका बेला यदि कुनै कम्पनीले नेपाली कामदारहरुलाई जागिरबाट निकालेको खण्डमा आवश्यक कानुनी सहयोग पनि उपलब्ध गराउने उनको भनाइ छ ।

उता भारतको उत्तरपूर्वी राज्य हिमाचलमा पनि प्रवासी संगठनहरुले नै नेपालीहरुलाई सहयोग उपलब्ध गराइरहेका छन् । मूलप्रभाव अखिल भारतीय नेपाली एकता समाजको कुल्लु/मनाली समितिले हिमाचल सरकारसँग मिलेर मजदुरीका बेला पुगेका दुई सयभन्दा बढीलाई राहत उपलब्ध गराएको साइँला लामाले जानकारी दिए । साथै उनले संगठनको तर्फबाट राज्य सरकारको राहत कोषमा सहयोग गरेको बताए ।

लकडाउनका कारण समस्यामा रहेका नेपालीहरुलाई सहयोग गरिरहेका मनकारीहरुलाई पछिल्लो समय लकडाउन कहिले टुंगिने भन्ने विषयले गम्भीर बनाउन थालेको छ । उनीहरुलाई लकडाउन लम्बिँदै गयो भने राहतका लागि पर्ने समस्या सँगै गर्मी बढ्दै गएका कारण नेपालीहरुमा स्वास्थ्यका समस्या देखिन हो कि भन्ने चिन्ता पनि त्यत्तिकै छ । भारतमा दोस्रो चरणको लकडाउन आगामी ३ मेसम्म लागू गरिएको छ । तर, संक्रमण नियन्त्रणमा आएन भने लकडाउन अझै लम्बिने सम्भावना छ । ‘लकडाउन अरु थप भयो भने चाहिँ स्थिति भयावह हुनसक्छ । चर्को गर्मीका कारण थप अन्य रोग लाग्ने जोखिम पनि बढ्दैछ । एउटै ठाउँमा बस्ने भएकाले गर्मी बढेका कारण बस्नका लागि समस्या छ । बाहिर बस्न सक्ने अवस्था छैन । घरभित्रै पंखा र कुलर पनि केही छैन,’ खड्काले भने ।

प्रकाशित : वैशाख ९, २०७७ १४:१९
x
×