कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सुरु हुन थाल्यो चाडबाड लक्षित अनुगमन

आश्विन ४, २०८१
सुरु हुन थाल्यो चाडबाड लक्षित अनुगमन

Highlights

  • तीन निकायबाट दैनिक ५६ टोली खटाउने तयारी 

काठमाडौँ — चाडबाड नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीड बढ्छ । उपत्यका छाड्ने सर्वसाधारणको संख्या पनि उत्तिकै हुन्छ । सर्वसाधारणले गाउँघर फर्किनुअघि केही न केही किनमेल गर्छन् । तर यति बेला सबैलाई हतारो हुने हुँदा सर्वसाधारण ठगिने सम्भावना उत्तिकै रहन्छ । 

भीडभाडकै मौका पारेर केही व्यवसायीले म्याद नाघेकादेखि गुणस्तरहीन सामानसमेत बेच्ने गर्छन् । साथै मूल्य समेत अचाक्ली लिन सक्छन् । राजमार्गका होटल व्यवसायीले पनि एकातिर गुणस्तरहीन खाना खुवाउने सम्भावना हुन्छ भने अर्कोतिर बढी मूल्य असुल्ने पनि गरेको बताइन्छ ।

घटस्थापना आउन १४ दिन मात्रै बाँकी छ । किनमेल गर्नकै लागि मुख्य व्यापारिक क्षेत्रमा भीडभाड पनि देखिन थालेको छ । त्यसलाई दृष्टिगत गरी सरकारले विशेष अनुगमन गर्ने बताउँदै आएको छ । हुन त सरकारले हरेक वर्ष चाडबाड लक्षित विशेष अनुगमन गर्दै आएको छ । विगतको परम्परालाई निरन्तरता दिँदै सरकारले यस पटक पनि विशेष अनुगमन गर्ने जनाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ ३१ देखि नै अनुगमन टोलीको संख्या बढाएको जनाएको छ । केही दिनमा अनुगमन टोलीको संख्या थप बढाएर १४ वटासम्म पुर्‍याइने विभागका महानिर्देशक राजन पौडेलले बताए । ‘दिनको ३ टोली परिचालन हुने गरेकामा भदौ ३१ बाट बढाएर ६ टोली पुर्‍याएका छौं । शुक्रबारदेखि थप ३ वटा टोली (दुई टोलीको नेतृत्व निर्देशकले गर्ने र अनुगमनको पनि अनुगमन गर्ने गरी) बजारमा परिचालन गर्छौं,’ महानिर्देशक पौडेलले भने, ‘शुक्रबार केन्द्रीय बजार अनुगमन समितिको बैठक बस्दै छ, बैठकमा थप कर्मचारी माग गर्छौं । संख्या उपलब्ध भए विभागबाट १४ टोलीबाट अनुगमन गर्छौं । अनुगमन टोलीले दिनको ५० वटा फर्मसम्म अनुगमन गर्छ ।’

गत वर्ष दसैं आउन डेढ महिना बाँकी छँदा अनुगमनलाई तीव्रता दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाएको थियो । अनुगमनको संख्या पनि बढाएको थियो । यसपालि भने सामान्य प्रशासन मन्त्रालयले अनुगमनका लागि कर्मचारी खटाएको छैन । त्यही कारण अनुगमनको संख्या कम भएको विभागको भनाइ छ । तर शुक्रबार बस्ने केन्द्रीय अनुगमन समितिको बैठकमा कर्मचारी माग गरिने महानिर्देशक पौडेलले जनाए ।

‘अहिले आयात–निर्यात र फर्म शाखाका कर्मचारीलाई समेत प्रयोग गरी अनुगमन गरेका छौं । संयुक्त बजार अनुगमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागसँग कर्मचारी माग गरेका छौं,’ पौडेलले भने, ‘अनुगमन टोली खाद्यान्न, होटल, दूध, कपडा, पानीलगायत क्षेत्रमा केन्द्रित छन् ।’ समस्या पनि यही क्षेत्रमा रहेको विभागको बुझाइ छ । उपत्यकासँगै घटस्थापनादेखि राजमार्गका लागि दुई वटा अनुगमन टोली खटाइने पौडेलले बताए ।

वाणिज्यले मूल्यसूची, लेबल र बढी मूल्य लिए–नलिएको अनुगमन गर्छ । खाद्यवस्तु र होटलमा पाइने खाद्यान्न र मिठाईको गुणस्तरका हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्छ । चाडबाड लक्षित अनुगमन सुरु गरिसकिएको खाद्य प्रविधिका महानिर्देशक सञ्जीवकुमार कर्णले जनाए । केन्द्रबाट दैनिक दुई टोली परिचालन भएका छन् । २२ डिभिजन कार्यालय र ८ कार्यालयबाट चाडबाड लक्षित अनुगमन भइराखेको छ । खाद्यले र्‍यापिड टिम पनि राखेर अनुगमन गरेको छ । सर्वसाधारणको गुनासो आएलगत्तै सम्बोधन गरिने कर्णको भनाइ छ ।

वाणिज्य विभागले गर्ने संयुक्त बजार अनुगमनमा पनि खाद्यको प्रतिनिधित्व गरिने उनले बताए । ‘खाद्यान्नमा धेरै समस्या देखिएको छ । नक्कली घिउको बिगबिगी छ । खाद्य प्रविधिले ३० वटा कार्यालयबाट दैनिक ३१ वटा टोली खटाएको छ, अनुगमन खाद्यान्न, होटल, पानी, डेरी प्रोडक्ट, तेलमा केन्द्रित गरेका छौं,’ महानिर्देशक कर्णले भने, ‘अनुगमनका क्रममा कैफियत देखिएका व्यवसायीलाई कारबाहीको दायरामा ल्याएका छौं ।’

नापतौलकै हकमा गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्दै आएको छ । माछामासुको गुणस्तर निरीक्षण भने पशु सेवा विभागले गर्छ । बिलबीजक र राजस्व छलीको विषयमा राजस्व एवं आन्तरिक राजस्व विभागले अनुगमन गर्छ । कृषि वस्तुको नियमन कृषि विभागले गर्छ । यी सबै विभाग सक्रिय हुँदा मात्रै बजार अनुगमनले सार्थकता पाउँछ । संघीय संरचनासँगै पालिकालाई अनुगमनको अधिकार दिइएको छ । केही पालिकाले अनुगमन गरे पनि धेरैजसोले चासो दिएका छैनन्, जसले गर्दा बजार सुधार छैन ।

११ कार्यालयबाट नियमित अनुगमन भइरहेको गुणस्तर तथा नापतौल विभागका विभागीय प्रमुख ज्योति जोशी भट्टले बताइन् । वाणिज्यले गर्ने संयुक्त बजार अनुगमन टोलीसँग मिलेर पनि अनुगमन गरिने उनको भनाइ छ । ‘नापतौलले नापतौलको अनुगमन गर्ने हो, गुणस्तर चिह्न पाएका वस्तुको पनि निरन्तर अनुगमन भएकै छ,’ उनले भनिन्, ‘अहिले पनि ११ कार्यालयबाट अनुगमन भइराखेकै छ । केन्द्रीय अनुगमन समितिबाट हुने बजार अनुगमनमा पनि कर्मचारी पठाउँछौं । नापतौलको विषयमा प्रतिनिधित्व हुने गरी अनुगमन टोली बन्छ ।’

सरकारले चाडबाडलाई मात्रै केन्द्रमा राखेर अनुगमन गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर चाडबाडमा बढी भीडभाड हुने भएकाले संख्या बढाउन जरुरी रहेको सरकारी निकायको भनाइ छ ।

प्रकाशित : आश्विन ४, २०८१ ०६:३०
×