कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

संचय कोषलाई संचयकर्ता आकर्षित हुने काम गर्न अर्थमन्त्रीको निर्देशन

भाद्र २५, २०८१
संचय कोषलाई संचयकर्ता आकर्षित हुने काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ — कर्मचारी संचय कोषलाई संचयकर्ता आकर्षित हुने गरी काम गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । कर्मचारी संचय कोषसँगको छलफलमा मंगलबार अर्थमन्त्री पौडेलले संचयकर्तालाई नोक्सानीका आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

कर्मचारी संचय कोषको सबैभन्दा ठूलो आधार र भविष्य संचयकर्ता भएको भन्दै कोषले संचयकर्ताको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको उनले बताए । कोषले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्न र आवश्यकता अनुसार दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न उनले आग्रह गरे ।

नेपालमा रोजगारीको आवश्यकता भए पनि अन्य क्षेत्रले रोजगारीका क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी संचय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको उनले बताए । संस्थाहरूले जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्ने गरी ढोका खोलिदिनुपर्ने उनको भनाइ थियो ।

‘संचय कोषप्रति संचयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला,’ उनले भने, ‘संचयकर्तालाई आकर्षित गर्नूस् । संचयकर्तालाई आकर्षित गर्दा क्षति नोक्सानीको कोणबाट होइन, उपलब्धिको कोणबाट हेर्नूस् ।’

नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको पनि अर्थमन्त्री पौडेलले बताए । प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोहीबमोजिम काम गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित : भाद्र २५, २०८१ १४:३७
×