कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

मुस्ताङका स्याउमा चढ्यो रङ, भरियो स्वाद

भाद्र २२, २०८१
मुस्ताङका स्याउमा चढ्यो रङ, भरियो स्वाद

Highlights

  • ‘हाइडेन्सिटी हाइब्रिड’ स्याउको मूल्य बारीमै प्रतिकिलो १८० देखि २०० रुपैयाँ र अन्य स्याउको १२० देखि १३० रुपैयाँ 

म्याग्दी — स्याउको बाहिरी आवरणमा रङ चढ्दै र स्वादमा गुलियोपन भरिँदै गएपछि मुस्ताङको ‘हाइब्रिड’ स्याउ बजार झर्न थालेको छ । छिटो पाक्ने उच्च घनत्वमा आधारित ‘हाइडेन्सिटी हाइब्रिड’ गाला जातको स्याउ भदौ १० र किङरोट जातको स्याउ भदौ १५ देखि बजार झर्न थालेको हो ।

‘हाइडेन्सिटी हाइब्रिड’ नै भए पनि ढिलो पाक्ने फुजी, जोनाप्रिन्स, गोल्डेन डेलासिस र स्थानीय गोल्डेन, रोयल, रेड डेलिसियस, रिचारेड र फुजी स्याउ भने असोज लागेपछि मात्र बजार पठाइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ‘स्याउ जोन कार्यालय’ मुस्ताङले जनाएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङको संयोजनमा गाउँपालिका, कृषि ज्ञान केन्द्र, मार्फा बागबानी, स्याउ जोन मुस्ताङ र अगुवा किसानको बैठकले असोज १ पछि मात्र बजार पठाउने निर्णय गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ प्रमुख नेत्रप्रसाद भट्टले भने, ‘स्थानीय स्याउमा अझै गुलियोपना नपुग्ने, दानाको पूर्ण रङ नआउने र दाना बियाँ हरियो हुने भएकाले असोज पर्खेका हौं ।’

रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर मापन गर्दा न्यूनतम मापदण्ड १२ प्रतिशत बढी गुलियोपना देखिएपछि स्याउ बजार पठाउन उपयुक्त मानिन्छ । कृषि प्राविधिकका अनुसार मुस्ताङका स्याउमा वास्तविक स्वाद आउने समय कात्तिक हो । असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ ।

मुस्ताङको स्याउको ब्रान्डमा गुणस्तर कायम गर्न सरोकारवाला निकायले असोज नलागी स्याउ नटिप्ने र बजार नपठाउने निर्णय गरे पनि अहिले बजारमा नपाकेको, टोक्दा साह्रो र गुलियोपना नआएको स्याउ पाइन थालेको छ । स्याउमा गुलियोपना आएको भन्दै भदौ १८ बाट स्याउ बजार पठाउने मार्फाका किसान अनिल हिराचनले बताए । हाइडेन्सिटी हाइब्रिड स्याउको मूल्य बारीमै प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँ र अन्य स्याउको १ सय २० देखि ३० रुपैयाँ मूल्य पर्ने स्याउ जोन मुस्ताङले जनाएको छ ।

‘मुस्ताङमा स्याउ पाक्न थालेको छ । स्याउमा आउनुपर्ने गुलियोपना आइसकेकाले बजार पठाउन थालेका हौं,’ मुस्ताङको सबैभन्दा ठूलो निजी स्याउ बगान सिम्ले अचार्ड्स प्रालिका कर्म गुरुङले भने, ‘रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर नाप्दा १२ देखि १४ प्रतिशतसम्म गुलियोपना पुगेको छ ।’

मुस्ताङका किसानले स्याउ टिप्ने निर्णय गरेसँगै व्यापारीहरू किसानका बगैंचा पुग्न थालेका छन् । मुस्ताङमा व्यापारीले बगैंचामै पुगेर स्याउ फलेको हेरेर अनुमानको भरमा बगान नै ठेक्का लिने चलन छ । बजारले मूल्य निर्धारण गर्न खुला राखेकाले भूगोल, गुणस्तर र समयअनुसार स्याउको मूल्य फरक पर्ने कृषि ज्ञान केन्द्र, मुस्ताङको भनाइ छ । मुस्ताङमा ८ सय ९१ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन इकाइ कार्यालय मुस्ताङले जनाएको छ । गत वर्ष ६ सय १५ हेक्टर क्षेत्रफलमा रहेका स्याउका बोटबाट ४ हजार ९ सय ७५ टन उत्पादन भएको थियो ।

स्याउ खेती भएका मध्ये ६० रोपनी क्षेत्रफल उच्च घनत्वमा आधारित ५ जातका स्याउको खेती भइरहेको छ । मुस्ताङमा १२.५ टन प्रतिहेक्टर उत्पादकत्व छ । स्याउ जोन मुस्ताङले यो वर्ष मुस्ताङमा ३५ प्रतिशतसम्म स्याउ उत्पादन बढ्ने अनुमान गरेको छ ।

‘स्याउको आधारभूत गुलियोपना आइसकेकाले कृषकले स्याउ टिपेर बजार पठाउन थालेका छन् । कृषकले आफूखुसी व्यापारीसँग मूल्यमा मोलमोलाइ गरी बगान नै व्यापारीलाई ठेक्का दिने गरेकाले स्याउको थोक मूल्य तोकिएको छैन,’ स्याउ जोन मुस्ताङकी नायब प्राविधिक सहायक रूपा विकले भनिन्, ‘शीतोष्ण बागवानी विकास केन्द्र मार्फा भने स्याउको मूल्य तोक्ने प्रक्रियामा छ ।’

मार्फाको सरकारी बगानमा वार्षिक ३० टन स्याउ उत्पादन हुन्छ । केन्द्रले बगानमा उत्पादित स्याउको दानाबाहेक मदिरा पनि उत्पादन गरी बिक्री गर्छ । केन्द्रका अनुसार बागवानी केन्द्रले स्याउको ब्रान्डी प्रतिलिटर २ हजार, साइडर ३ सय र आरुबखडाको वाइन लिटरको ४ सयमा बिक्री गर्दै आएको छ ।

प्रकाशित : भाद्र २२, २०८१ ०५:०५
x
×