कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अरुणको प्रसारण लाइनका समस्या समाधान गर्न निर्देशन

भाद्र २१, २०८१
अरुणको प्रसारण लाइनका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या देखाउने मात्र नभई समाधानमा केन्द्रित हुन भने ।

‘बिजुली उत्पादन गर्ने समय एक दिन मात्र ढिला हुँदा पनि राज्यले करोडौंको घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न र वितरण हुने गरी सानातिना समस्यालाई समाधान गर्नुपर्छ,’ उनले भने । सन् २०३५ सम्म नेपालमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्त्वपूर्ण रहेको मन्त्री खड्काको भनाइ छ ।

स्थानीय जनप्रतिनिधि र निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा उनको जोड छ । ‘आयोजनालाई अगाडि बढाउन कहाँ–कहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्ति को–को हुन्, तिनको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,’ मन्त्री खड्काले भने । स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि सरकारले समेत सहयोग गर्ने उनले जनाए ।

प्रकाशित : भाद्र २१, २०८१ ०६:३५
x
×