कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

चाडवाड नजिकियो, पाएनन् उखु किसानले अनुदान रकम

चाडवाड नजिकियो, पाएनन् उखु किसानले अनुदान रकम

Highlights

  • नवलपरासीमा मात्रै १७ करोड अनुदान बक्यौता

सर्लाही/परासी — चाडवाड घरदैलोसम्म आइपुग्नै लाग्दा पनि उखु किसानले भने सरकारबाट पाउने अनुदान रकम पाउन सकेका छैनन् । अनुदान रकमबाट चाडवाड मान्ने योजना बनाएका सर्लाही र नवलपरासीका किसान अहिले निराश हुन थालेका छन् । 

उखु क्रसिङ सकेर चिनी उद्योग बन्द भएको ६ महिना भन्दा बढी भइसक्दा पनि किसानले सरकारी अनुदान पाउन नसकेका हुन् । सरकारले गत आर्थिक वर्षका लागि उखुको प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गरेको थियो । जसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५६५ र सरकारले अनुदानबापत ७० रुपैयाँ उपलब्ध गराउने उल्लेख छ । यस वर्ष यहाँका उद्योगहरूले उखुको भुक्तानी गरे पनि सरकारले दिने अनुदान रकम नपाएको किसानको गुनासो छ ।

सर्लाहीकाे कविलासी नगरपालिका–१ का किसान वीरेन्द्र पण्डितले उखु बिक्री गरेको सात महिना बितिसक्दा पनि सरकारबाट पाउने अनुदान रकम पाउन नसकेको गुनासो पोखे । उनले चाडवाडको मुखमा पनि अनुदान रकम नआउँदा समस्या भएको सुनाए । उनले अनुदान रकमबाट चाडवाड मान्ने योजना बनाएका थिए । पण्डितले १ बिघामा फलाएको ८ सय क्विन्टल उखु उद्योगमा बिक्री गरेबापत २८ हजारभन्दा बढी अनुदानको रकम पाउन बाँकी रहेको बताए । ‘उखुको सरकारी अनुदान आउँछ अनि चाडवाड मानौंला भनेर योजना थियो, तर अहिलेसम्म सरकारले वास्ता गरेको छैन,’ उनले भने, ‘अब घरमा भएको अन्न बेचेर चाडवाड मनाउनु पर्ला जस्तो छ ।’

यस्तै हरिपुर नगरपालिका–९ का शम्भु रायको पनि अनुदान रकम नआउँदा मन खिन्न छ । बर्सेनि उखु विक्री गरेको तथा अनुदानका लागि संघर्ष नै गर्नुपर्दा मन खिन्न भएको उनी बताउँछन् । उनले १५ कट्ठामा करिब ३ सय क्विन्टल उखु फलाएर चिनी उद्योगलाई बेचेका थिए । उखु बिक्री गरेपछि उद्योगबाट रकम पाए पनि सरकारबाट उनले अनुदानबापतको २१ हजार रुपैयाँ पाएका छैनन् । अनुदानबापत पाउने २१ हजारबाट उनले गणेश चतुर्थीदेखि छठ पर्वसम्मको पर्व मान्ने उनको योजना थियो । ‘तीज तथा गणेश चतुर्थीसँगै अन्य चाडवाड घरदैलोसम्मै आइपुगे तर योजना बनाएको रकम आएको छैन, अब के गर्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘साथीभाइ, इष्टमित्र गुहारेर चाडवाड मनाउनुको विकल्प देखेको छैन ।’

सरकारी र उद्योगीको यस्तै रवैयाका कारण किसानहरू धमाधम उखु खेती छाड्न थालेका छन् । बर्सेनि १० बिघामा उखु खेती गर्दै आएका विष्णु गाउँपालिका–१ का किसान अजित सिंहले समयमा मूल्य नपाएकै कारण उखु खेती छाडेको जानकारी दिए । उनले यसअघि अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको रकम नपाएको गुनासो गरे ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले सरकारबाट पाउने अनुदानबापतको रकमका लागि पहल भइरहेको जानकारी दिए । गत वर्ष चाडवाडको समयमा अनुदानको रकम पाउन नसकेको जनाउँदै मैनालीले यस वर्ष चाडवाडअघि पाउनका लागि एक महिनाअघिदेखि नै पहल थालेको बताए । ‘गत वर्ष चाडवाडको समयमा अनुदान रकम पाउन सकेका थिएनौं, त्यसैले यो वर्ष एक महिनाअघिदेखि नै पहल गरिरहेका छौं,’ उनले भने, ‘नेता, मन्त्री र मन्त्रालयमा घच्घच्याउने काम भइरहेको छ ।’ उनका अनुसार समयमा रकम नपाएकै कारण किसानहरूले उखु खेती पनि घटाइरहेका छन् ।

तीन चिनी उद्योग रहेको जिल्लामा २६ हजार हेक्टर जमिनमा उखु खेती हुँदै आएको थियो । तर समयमा उखुको मूल्य निर्धारण, उद्योगीबाट पाउने रकम र सरकारी अनुदानको झमेलाका कारण किसानहरू अहिले उखु खेती छोड्न थालेका हुन् । अहिले जिल्लामा १९ हजार हेक्टरमा उखु खेती भइरहेको तथ्यांक कृषि ज्ञान केन्द्र मलंगवामा छ ।

नवलपरासीमा १७ करोड अनुदान बक्यौता

पश्चिम नवलपरासीका किसानले पनि उखु बिक्रीबापतको अनुदान रकम नपाउँदा समस्यामा परेको गुनासो गरेका छन् । चाडपर्व नजिकएसँगै गत सिजनको पाउनुपर्ने अनुदान रकम आफूहरूले अहिलेसम्म नपाएको उनीहरूले दुःखेसो गरेका हुन् ।

‘चाडपर्व नजिकिए, परम्परा अनुसार मनाउनै पर्‍यो, सरकारले भने अहिलेसम्म अनुदान रकम पठाएको छैन,’ प्रतापपुर–६ का रवीन्द्र चौधरीले भने, ‘उद्योगलाई बिक्री गरेर आएको रकम खेती लगाउँदा गरेको लगानी, मल, बीउ र खेतालाको पारिश्रमिकमै सकिन्छ । हाम्रो नाफा भनेकै सरकारले दिने अनुदान हो । त्यो पनि समयमा नदिँदा समस्या भएको छ ।’

गत वर्ष पनि निकै ढिलो अनुदान रकम आएको थियो । उखु किसानका लागि पुषदेखि चैतसम्म करिब १६ करोड रुपैयाँ अनुदान रकम जिल्लामा आएको थियो । अघिल्लो वर्ष जस्तो ढिलो नगरी दसैंअगाडि रकम भुक्तानीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई भेटेर आग्रह गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष तथा उखु उत्पादक लुम्बिनी प्रदेशका अध्यक्ष उमेश यादवले बताए । ‘हाम्रो माग दसैंअगाडि नै अनुदानबापतको रकम भुक्तानी होस् भन्ने हो,’ उनले भने, ‘सम्बन्धित मन्त्रीसँग यो विषयमा भेटेरै माग राखेका छौं । किसानको अनुदानलाई सरकारले पहिलो प्राथमिकतामा राख्न आवश्यक छ ।’

२०८०/८१ मा जिल्लाबाट २४ लाख ४५ हजार ८ सय २९ क्विन्टल उखु किसानले चिनी उद्योगलाई बिक्री गरेको तथ्यांक केन्द्रमा पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालय पश्चिम नवलपरासीका कोष नियन्त्रक रुकबहादुर भण्डारीले बताए ।

लुम्बिनी चिनी उद्योग, वाग्मती खाडसारी उद्योग र इन्दिरा सुगर मिलले गत वर्ष उखु क्रसिङ गरेका थिए । उद्योगले पठाएको तथ्यांक अनुसार ६ हजार ९ सय १९ किसानले १७ करोड १२ लाख रुपैयाँ अनुदान रकम पाउन बाँकी छ । गत वर्ष १५ करोड १२ लाख अनुदान रकम वितरण गरिएकामा २०८०/८१ मा यी उद्योगमा उखु बिक्री गर्ने किसानको संख्या बढ्दा अनुदान रकम पनि २ करोडले बढेको हो ।

केही वर्षअगाडिसम्म उद्योगले किसानसँग उधारोमा उखु खरिद गरेर वर्षौंसम्म रकम भुक्तानी नदिँदा किसानले भेली उद्योगलाई उखु बिक्री गर्न थालेका थिए । यसले गर्दा चिनी उद्योगलाई उखु अभाव हुन थालेपछि अहिले उद्योगले समयमै भुक्तानी गर्न थालेका हुन् । तर, सरकारले दिनुपर्ने अनुदान रकम ढिलो हुन थालेपछि किसान समस्यामा परेका छन् ।

प्रकाशित : भाद्र २०, २०८१ १८:२८
x
×