कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

दक्षिण एसिया वित्तीय समावेशी पहलको नेतृत्व राष्ट्र बैंकमा

भाद्र २०, २०८१
दक्षिण एसिया वित्तीय समावेशी पहलको नेतृत्व राष्ट्र बैंकमा

काठमाडौँ — दक्षिण एसिया वित्तीय क्षेत्र समावेशी पहल (एसएआरएफआईआई) को नेतृत्व नेपाल राष्ट्र बैंकमा आएको छ । नेतृत्व हस्तान्तरणसँगै राष्ट्र बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी एसएआरएफआईआईको अध्यक्ष चयन भएका छन् ।

मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) –ग्लोबल पोलीसी फोरम’को बैठक चलिरहेको छ ।

सो बैठकअन्तर्गत बुधबार आयोजित ‘एसएआरएफआईआई लिडर राउण्डटेबल’मा अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका थिए ।

बैठकले स्टेट बैंक अफ पाकिस्तान –एसबीपी) लाई एसएआरएफआईआईको उपाध्यक्ष चयन गरेको छ । यसअघि एसएआरएफआईआईको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष रहेका थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘ग्लोबल पोलिसी फोरम’ को बाह्रौं बैठकका क्रममा एसएआरएफआईआई स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलंका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्यसहित एसएआरएफआईआई स्थापना गरिएको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ १२:४१
x
×