कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बैंकबाट ऋण लिएर मुनाफा कमाउन सहकारीमा बचत गर्नेहरू आन्दोलनमा छन् : मन्त्री अधिकारी

भाद्र १९, २०८१
बैंकबाट ऋण लिएर मुनाफा कमाउन सहकारीमा बचत गर्नेहरू आन्दोलनमा छन् : मन्त्री अधिकारी

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरिरहेको आरोप लगाएका छन् । 

बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको बताए ।

मन्त्री अधिकारीले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गरे। मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताए ।

उनले भने, ‘सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेका छौं । केही सहकारीहरु मिलेर आन्दोलन गर्नुभयो । मन्त्री भएर आएपछि वार्तामा बसेँ। वार्तामा ८ बुँदे सहमति भयो । ८ मध्ये ७ वटा बुँदामा एकहप्तामा काम सुरु गर्यौं । एउटा बुँदामा काम गरेका छैनौं । संसद्ले संसदीय समिति बनाएर छानविन गरिरहेको छ । समस्यामा आएका सहकारीका समस्या समाधानको लागि समस्याग्रस्त सहकारी समिति बनाएका छौं । छानविन समितिको सुझाव अनुसार सरकारले काम गर्छ । तर फेरि पनि आन्दोलन भइरहेको छ । किन रहेछ भन्दा मान्छेहरू बैंकबाट ऋण लिएर बढी ब्याज लिन र नाफा कमाउन सहकारीमा राख्नेहरू देखिएका छन् ।'

मन्त्री अधिकारीले सहकारीका समस्या समाधान गर्न सरकारले पनि पहल गरिरहेको र पीडितहरूले पनि कानुनबमोजिम उपचार खोज्नुपर्ने बताए । सहकारी संघमार्फत् एकमुष्टरुपमा सरकारसँग संवादका लागि समेत उनले आग्रह गरे ।

उनले सहकारीमा अहिलेको समस्या आउनु भन्दा पहिला नै ७ वटा भन्दा बढी सहरकारीहरुमा समस्या परेको भन्दै आफू मन्त्री भएर आएपछि जम्मा २ वटा सहकारी संस्थामात्रै समस्याग्रस्त घोषणा गरेको बताए ।

प्रकाशित : भाद्र १९, २०८१ १६:५८
x
×