कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

निजी क्षेत्रले गुनासो मात्र गर्नुभएन : अर्थमन्त्री पौडेल

भाद्र १६, २०८१
निजी क्षेत्रले गुनासो मात्र गर्नुभएन : अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन् । आईतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने उल्लेख गरे ।

‘अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ । म आग्रह गर्न चाहन्छु । सरकारले सुन्दैन थियो भने, यहाँहरुका समस्यालाई सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने त्यतिबेला गुनासको प्रयोजन हुन्थ्यो पनि होला । अहिलेको सरकार सुन्न तयार छ । सुन्न मात्रै होइन, समाधान गर्न तयार छ' उनले भने ।

निजी क्षेत्रका समस्या सुनेर समाधान गर्नका निम्ति सरकार तयार छ भन्नेकुरा हाम्रा पछिल्ला अभ्यासले पनि प्रमाणित गरेको उनले बताए ।

'त्यसैले गुनासो गर्ने होइन, समाधान खोज्नुपर्छ । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनका उत्प्रेरित गर्नुपर्छ । सरकारले यदी सुनेको पुगेको छैन भने अझै सुन्न तयार छ । सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार छ । जहाँसम्म संसदमा विचाराधीन कानुनको कुरा छ, निजी क्षेत्रका साथीहरुले छलफलमा भाग लिन चाहनुभएको छ, उहाँहरुका सुझाव स-शरीर उपस्थित भएर हामीले सुनौँ र त्यसमा उहाँहरुका सुझाव ग्रहण गरेर निर्माणाधीन कानुन पूरा गरौँ भन्ने प्रस्ताव म अर्थ समितिको सभपतिज्युलाई पनि राख्नेछु' अर्थमन्त्री पौडेलले भने ।

प्रकाशित : भाद्र १६, २०८१ १२:३४
x
×