कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चालु आर्थिक वर्षबाटै अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुन्छ : गभर्नर अधिकारी

भाद्र १६, २०८१
चालु आर्थिक वर्षबाटै अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुन्छ : गभर्नर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गरेका छन् ।

आईतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।

‘भोलिको दिनमा हाम्रो आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको छ । केही सूचकहरु हामीले स्पष्ट रुपमा पाइसकेका छौँ । भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको छ' गभर्नर अधिकारीले भने,'पहिलाको वर्षहरु भन्दा यस वर्ष साउनमै खर्च राम्रो भएको देख्छौँ । राजश्व संकलनमा अगाडिका दुई वर्ष निकै समस्या थियो । यो साउनमा निकै पोजेटिभ हामी देख्छौँ ।'

साउनमा लगभग ३ अर्ब मात्रै कर्जा प्रवाह भएपनि भदौको आजसम्मा थप १२ अर्ब कर्जा प्रवाह भइसकेको उनले जानकारी दिए । 'यही अवस्था अघि बढ्दाखेरी हामी आशा गर्नसक्छौँ, यही आर्थिक वर्षबाट नयाँ किसिमबाट अर्थतन्त्र चलायमान हुनेछ । राज्य पनि त्यसैगरी नीतिगत रिफर्ममा लागिरहेको छ । जे जस्ता सुधारहरु गर्नुपर्ने हो, कानूनी रिफर्ममा लागिरहेको छ । अफ्ठ्यारा भएका कुराहरुलाई के कसरी हुन्छ, सुधार गर्नुपर्छ’ उनले भने ।

प्रकाशित : भाद्र १६, २०८१ १३:२४
x
×