कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

उद्योगमा एफडीआई घट्दो, सेवा क्षेत्रमा बढ्दो

भाद्र १६, २०८१
उद्योगमा एफडीआई घट्दो, सेवा क्षेत्रमा बढ्दो

Highlights

  • ०७९/८० मा ६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रियो, लाभांश शीर्षकमा १७ अर्ब ३३ करोड रुपैयाँ मुलुकबाट बाहिरियो

काठमाडौँ — स्वदेशी लगानी जस्तै नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि उद्योग क्षेत्रमा घट्दै गएको र सेवा क्षेत्रमा बढ्न थालेको सरकारी प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन ०७९/८०’ ले कुल एफडीआईमध्ये उद्योग क्षेत्रमा रहेको हिस्सा घटेको र सेवा क्षेत्रको बढेको देखाएको हो ।

अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ६२.६ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा लगानी भएकामा आर्थिक वर्ष ०७९/८० मा यस्तो हिस्सा घटेर ५९.७ प्रतिशत कायम भएको प्रतिवेदनले देखाएको छ । तर सेवा क्षेत्रमा भने विदेशी लगानीको हिस्सा बढ्दो छ । यसअनुसार अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ३७.३ प्रतिशत हिस्सा सेवा क्षेत्रमा लगानी भएकामा आर्थिक वर्ष ०७९/८० मा यस्तो हिस्सा बढेर ४०.२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । तर कृषि क्षेत्रको रहेको विदेशी लगानीको हिस्सामा भने परिवर्तन भएको छैन ।

अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ०.१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा लागनी भएकामा आर्थिक वर्ष ०७९/८० मा पनि यस्तो हिस्सा परिवर्तन भएको छैन । पछिल्ला वर्षमा नेपालमा सेवा क्षेत्रमा लगानीको आकर्षण बढ्दो छ । जुन क्षेत्रमा स्वदेशी लगानी बढ्छ, त्यही क्षेत्रमा विदेशी लगानी पनि केन्द्रित हुने भएकाले उद्योगलगायत उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीको हिस्सा घटेर सेवा क्षेत्रमा बढेको हुधन सक्ने जानकार बताउँछन् ।

‘नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् धक्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको देखिन्छ ।’

पछिल्ला वर्षहरूमा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दा सोही अवधिमा विदेशी लगानीको लाभांशबापत मुलुकबाट बाहिरिने रकम धेरै हुने गरेको प्रतिवेदनले औंल्याएको छ । जनअनुसार आर्थिक वर्ष ०७९/८० मा कुल ६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ भने सोही वर्ष विदेशी लगानीको लाभांश शीर्षकमा मुलुकबाट १७ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन ०७९/८० ले देखाएको छ ।

नेपालमा विभिन्न क्षेत्रका ५८ वटा राष्ट्रबाट एफडीआई आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै रहेको प्रतिवदेनले औंल्याएको हो । आर्थिक वर्ष ०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालितमध्ये कुल दुई सय ३८ कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ९५ अर्ब ५० करोड कायम छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा यस्तो लगानी ११.८ प्रतिशतले बढेको हो । उक्त अवधिको कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

हरेक वर्ष नेपाल भित्रिने एफडीआई सोही वर्षको मात्र हुने तर उक्त अवधिमा लाभांशका रूपमा बाहिरिने रकम हालसम्मको सबै एफडीआईको भएकाले भित्रिनेभन्दा बाहिरिने रकम धेरै देखिएको हुन सक्ने राष्ट्र बैंकले बताएको छ । ‘अघिल्लो आर्थिक वर्षमा आएको एफडीआई गएको १२ महिनाको मात्र हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले भने, ‘तर उक्त अवधिमा बाहिरिएको लाभांश नेपालमा लगानीमा रहेको सबै विदेशी लगानीको हो । यसकारण भित्रिने एफडीआईभन्दा बाहिरिने लाभांश धेरै हुन्छ ।’

प्रतिवेदनका अनुसार ०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी छ । यसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् एक खर्ब तीन अर्ब ४५ करोड (३५ प्रतिशत), चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्यान्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल भित्रिएको कुल विदेशी लगानीमा वेस्ट इन्डिजको हिस्सा ४.९, दक्षिण कोरियाको ४.७, यूएईको ४.२, अमेरिकाको ४.१, हङकङको २.४ र अन्य मुलुकको हिस्सा १२.२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

मुलुक संघीयतामा गएको करिब सात वर्ष भइसक्दा पनि वित्तीय पहुँच, कर्जा उपयोग, उद्योग सञ्चालनलगायत वित्तीय क्षेत्रका महत्त्वपूर्ण आयाम वाग्मतीमै केन्द्रित देखिन्छ । यो प्रदेशका कुल लगानीको ५९.७ प्रतिशत हिस्सा छ ।

यसैगरी १५.१ प्रतिशत हिस्सासहित दोस्रोमा धेरै विदेशी लगानी केन्द्रित रहेको प्रदेश गण्डकी हो भने तेस्रोमा १४.७ प्रतिशत हिस्सासहित कोशी प्रदेश छ । त्यसपछि क्रमशः मधेश, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा विदेशी लगानी रहेको देखिन्छ ।

‘वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल (आरओई) करिब ११.६१ प्रतिशत रहेको पाइएको छ,’ प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०८०/८१ मा भने खुद ८ अर्ब ४० करोड रुपैयाँ एफडीआई भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यस्तो लगानी ३६.१ प्रतिशतले बढेको हो । कुल ८ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि ७ करोड ३९ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ८ अर्ब ४० करोड रुपैयाँ देखिएको हो ।

गत आर्थिक वर्ष ७० अर्ब २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा ८ अर्ब ४० करोड रुपैयाँ मात्रै लगानी भित्रिएको हो । गत वर्ष स्वचालित प्रणाली (अटोमेटिक रुट) बाट १ सय ३९ वटा उद्योगमा ८ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यस्तै अग्रिम स्वीकृति (अप्रुभल रुट) बाट ४ सय ७ उद्योगमा ६१ खर्ब ९० करोड ४५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

प्रकाशित : भाद्र १६, २०८१ ०६:२०
x
×