कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

अटो सोमा दुईपांग्रेदेखि लुब्रिकेन्ट्स, ब्याट्री र हेल्मेटमा छुटैछुट

भाद्र १६, २०८१
अटो सोमा दुईपांग्रेदेखि लुब्रिकेन्ट्स, ब्याट्री र हेल्मेटमा छुटैछुट

Highlights

  • मोटरसाइकल बुकिङमा लाखौंसम्मका छुट योजना, विद्युतीय स्कुटरमा ४० हजारसम्म नगद छुट, हेल्मेट तथा लुब्रिकेन्ट्समा ५ देखि २८ प्रतिशतसम्म नगद छुट

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं ‘नाडा अटो सो २०२४’ मा चारपांग्रे सवारीमा मात्र नभई दुईपांग्रे मोटरसाइकल तथा स्कुटर, हेल्मेट, लुब्रिकेन्ट्समा पनि छुटैछुटको अफर छ । काठमाडौंको भृकुटीमण्डपमा जारी अटो सोमा विभिन्न ब्रान्डका कम्पनीहरूबीच ग्राहकलाई आकर्षित गर्न छुट अफर दिन प्रतिस्पर्धा नै देखिन्छ ।

प्रदर्शनीमा विभिन्न १९ वटा ब्रान्डका दुईपांग्रे सवारी र अटो कम्पोनेन्टका ३३ वटा स्टल छन् । प्रदर्शनीमा रहेका उक्त स्टलहरूमा ब्रान्डको उत्पादन (प्रोडक्ट), कम्पनीले दिने छुट र उत्पादनका विशेषता बुझ्न दर्शकको घुँइचो पनि थेगिनसक्नुको छ ।

एनआईयू स्कुटरको आधिकारिक बिक्रेता इको इन्फिनिटीले ४० हजार रुपैयाँसम्म छुट अफर ल्याएको छ । एनआईयूको विद्युतीय स्कुटरमा नाडा विशेष छुट रहेको कम्पनीका सिनियर सेल्स अफिसर सुजन पराजुलीले बताए । ‘एनआईयूको एमक्यूआई प्लस स्पोर्ट, एनक्यूआई स्पोर्ट, गोभा ०३ र एनक्यूआई जीटीएस मोडलका स्कुटरमा छुट छ,’ उनले भने, ‘छुटका लागि ग्राहकले नाडामा आएर बुकिङ गरी असोज ३ सम्म डेलिभर लिइसक्नुपर्ने हुन्छ ।

नाडामा आएरै बुकिङ गर्ने ग्राहकलाई भने कम्पनीका तर्फबाट २० प्रतिशत डाउनपेमेन्टमा ८० प्रतिशतको फाइनान्सिङ सुविधा छ ।’ नेपाली बजारमा एनआईयूको मूल्य २ लाख ७६ हजार रुपैयाँदेखि ४ लाख ९९ हजार रुपैयाँसम्म रहेको उनले सुनाए ।

यसैगरी नेपालमा एटर ब्रान्डको आधिकारिक वितरक वैद्य इनर्जीले विद्युतीय स्कुटरमा नाडा विशेष अफर राखेको छ । ‘नाडाका लागि भनेर कम्पनीले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा ल्याएका छौं,’ कम्पनीका बिजनेस डेभलपमेन्ट हेड प्रदीप अधिकारीले भने, ‘४० प्रतिशत डाउन पेमेन्टमा दुई वर्षसम्म स्कुटर आफ्नो बनाउने अवसर छ ।’

प्रदर्शनीमा क्लासिक विल्स एक्सपोट एन्ड इम्पोर्टले ग्यारो ब्रान्डको विद्युतीय स्कुटरमा १५ हजार रुपैयाँसम्म छुट दिइरहेको छ । ‘नाडामा बुकिङ गर्ने ग्राहकलाई ग्यारो डीटी–६० मा छुट राखेका छौं । छुटपछि ग्राहकले ३ लाख ६५ हजार रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ,’ कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बमले भने ।

प्रदर्शनीमा विद्युतीय स्कुटरमा मात्र नभई पेट्रोल मोटरसाइकलमा पनि विभिन्न ब्रान्डका कम्पनीले छुट योजना ल्याएका छन् । नेपालमा जोन्सेन मोटरसाइकलको आधिकारिक बिक्रेता स्यामुकापु ट्रेडिङले जोन्सेन ब्रान्डका दुईपांग्रे सवारीमा पाँच हजार रुपैयाँ छुट दिने भएको छ । अटो सो अवधिभरमा जोन्सेनका मोटरसाइकल र स्कुटर बुकिङ गर्ने ग्राहकका लागि मात्र छुट योजना रहेको कम्पनीका सिनियर म्यानेजर दिनेशरत्न बज्राचार्यले सुनाए ।

नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘एनएस ४०० जेड’ मा १० हजार रुपैयाँसम्म छुट उपलब्ध गराएको छ । अटो सोमा एनएन २०० जेड बुकिङ गरेका ग्राहकले छुटपछि ५ लाख ४९ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने अफर ल्याएको बजाजको मार्केटिङ प्रमुख अमितराज चालिसेको भनाइ छ ।

यीबाहेक अटो सोमा हेल्मेट तथा लुब्रिकेन्ट्समा समेत छुट राखिएका छन् । नेपालमा एमके र स्टड्स हेल्मेटको आधिकारिक वितरक पौडेल इन्टरप्राइजेजले उक्त ब्रान्डको उत्पादनमा ५–१० प्रतिशतसम्म छुट उपलब्ध गराएको जनाएको छ । नाडा विशेष स्टड्सको हेल्मेटमा पाँच र एसएमकेको हेल्मेटमा १० प्रतिशत छुट उपलब्ध गराइरहेको कम्पनीका सेल्स म्यानेजर अनिल बस्नेतले बताए । ‘हामीसँग १७ सयदेखि २५ हजार रुपैयाँसम्म हेल्मेट छन्,’ उनले भने ।

त्रिथुंगा ट्रेडिङले लुब्रिकेन्ट्स तथा ब्याट्रीमा एक्सचेन्ज तथा नगद छुट योजना ल्याएको छ । अटो सोमा लुब्रिकेन्ट्स खरिदमा २९ प्रतिशत छुट रहेको कम्पनीका लुब्रिकेन्ट्स सिनियर सेल्स अफिसर दुर्गा गुरुङले बताए । पुरानोसँग नयाँ ब्याट्री एक्सचेन्जमा ५५ प्रतिशत छुट रहेको सोही कम्पनीका ब्याट्रीतर्फका सिनियर सेल्स अफिसर प्रविन महर्जनले जानकारी दिए ।

विद्युतीय स्कुटरमा ग्राहकको रुचि

सोही अटो सोमा विद्युतीय स्कुटरका स्टलमा स्कुटर बुकिङ गर्नेको भीड पनि राम्रै छ । अटो सोमा स्कुटर बुकिङ गर्दा कम्पनीले दिने छुटले गर्दा उपभोक्ता पनि आकर्षित भएका छन् । अनामनगरकी यशोदा पौडेलले एक ब्रान्डको विद्युतीय स्कुटर बुकिङ गरिन् । त्रिभुवन विश्वविद्यालयमा बौद्ध अध्ययनमा स्नातकोत्तर गरिरहेकी उनी भन्छिन्, ‘मलाई ब्लड प्रेसर कम छ । गह्रुँगो स्कुटर चलाउन समस्या भयो । बिहान क्लास जान र आउनलाई हलुका खालको स्कुटर लिन नाडा आएकी हुँ ।’

विद्युतीय स्कुटरमा उनी मात्र नभई अन्य उपभोक्ता पनि आकर्षित देखिन्छन् । यसैगरी बुढानीलकण्ठका ब्रह्मदेव श्रेष्ठ पनि मोटरसाइकल चलाउने भए पनि ढल्किँदो उमेरमा विद्युतीय स्कुटर ठीक हुने भएकाले बुझ्न नाडा आएका छन् । ‘इलेक्ट्रिक स्कुटर सस्तोमा राम्रो हुन्छ । अब पेट्रोलको भाउको टुंगो हुँदैन । त्यसैले मलाई इलेक्ट्रिक स्कुटरमा रुचि छ,’ उनले भने ।

वातावरणमैत्री हुने, आवाज कम निकाल्ने र चलाउन पनि सहज हुने भएकाले उपभोक्ताको विद्युतीय स्कुटरप्रति आकर्षण बढेको व्यवसायी बताउँछन् । विद्युतीय स्कुटर किफायती हुने भएकाले यसमा आकर्षण बढेको नेपालमा याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालका बिजनेस हेड अशोक अर्यालले सुनाए । ‘विद्युतीय स्कुटरमा उपभोक्ताको चासो बढ्दै गएकाले पनि हामीले नाडालाई भनेर नै छुट योजना ल्याएका पनि छौं,’ उनले भने, ‘याडियाको स्कुटर खरिदमा नाडामा आएर बुकिङ गर्ने ग्राहकले १० हजारदेखि ३० हजार रुपैयाँसम्म छुट छ ।’

अटो सोको अवसरमा नेबुला मोबिलिटीले विद्युतीय स्कुटर गोगोरो इंक ब्रान्ड लन्च गरेको छ । विद्युतीय स्कुटर मन पराउने ग्राहकमाझ ब्रान्डबारे परिचित गराउन अटो सोमा गोगोरो राखिएको कम्पनीका जनरल म्यानेजर चिरञ्जीवी शाहले जनाए ।

प्रकाशित : भाद्र १६, २०८१ ०६:१६
x
×