कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

अब नेपालमै ‘हाइड्रोजन कार’, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

भाद्र १५, २०८१
अब नेपालमै ‘हाइड्रोजन कार’, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

Highlights

  • प्रधानमन्त्री ओली विश्वविद्यालय परिसरबाट दीक्षान्त समारोहसम्म ग्रिन हाइड्रोजन कारमा गएका थिए

काठमाडौँ — अब नेपालमै ग्रिन हाइड्रोजन कार गुड्ने भएको छ । नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन रिफ्युलिङ स्टेसन स्थापना र हाइड्रोजन गाडीको सफल परीक्षणपछि यसको बाटो खुलेको हो ।

दुई वर्षभन्दा बढीको अध्ययन–अनुसन्धानपछि विश्वविद्यालयले गत चैत १८ मा हाइड्रोजन कारको सफल परीक्षण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार औपचारिक रूपमा उद्घाटन गरे । ग्रिन हाइड्रोजन रिफ्युलिङ स्टेसन र हाइड्रोजन गाडीको उद्घाटनपछि यसले औपचारिकता पाएको छ ।

काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्तको दोस्रो चरणमा प्रधानमन्त्री ओली विश्वविद्यालय परिसरबाट दीक्षान्त समारोहसम्म ग्रिन हाइड्रोजन कारमा गएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले हाइड्रोजन प्रविधिलाई सकेसम्म चाँडो व्यावसायिक प्रयोजनमा लैजाने बताए । यसका लागि आवश्यक पर्ने नीति तर्जुमा गर्ने उनको भनाइ छ । नेपाल आयल निगम भविष्यमा हाइड्रोजन इन्धनको व्यवसाय गरी निर्यात गर्न सक्ने अवस्थामा पुग्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

सरकारले ऊर्जा मन्त्रालयमार्फत काठमाडौं विश्वविद्यालयका विज्ञ प्रतिनिधिसमेत संलग्न कार्यदल गठन गरी राष्ट्रिय हाइड्रोजन नीति–०८० पारित गरिसकेको छ । यस नीतिलाई व्यावसायिक परियोजनाहरूमा कार्यान्वयन गर्न आवश्यक ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माणका क्रममा रहेको जनाइएको छ ।

जलवायु परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिम न्यूनीकरण गर्ने तथा जीवाष्म इन्धन खपतको कटौती गर्न विश्वविद्यालयले ०७७ साउनदेखि ग्रिन हाइड्रोजन ल्याब स्थापना गरेको थियो । त्यसपछि अनुसन्धान तथा प्रयोग गर्दै आएको काठमाडौं विश्वविद्यालयस्थित ग्रिन हाइड्रोजन ल्याबका प्रमुख तथा सहप्राध्यापक विराजसिंह थापाले बताए । ‘लामो समयको अध्ययनअनुसन्धानबाट हाइड्रोजन युगमा प्रवेश गरेका छौं,’ उनले भने ।

नेपालकै कुरा गर्दा बर्सेनि करिब २ खर्बको पेट्रोलियम पदार्थ आयात हुन्छ । यसले प्रदूषण बढाएको छ । प्रदूषण नियन्त्रणकै लागि विश्वका बिकसित मुलुकले बैकल्पिक उपाय खोजअनुसन्धान गर्दै आएका छन् । जापान, कोरिया, जर्मनीलगायत मुलुकले हाइड्रोजन ‘इन्धन’ प्रविधि प्रयोग गर्न थालेका छन् । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पनि हाइड्रोजन इन्धनबाट चल्ने गाडीमा जोड दिइरहेको छ । आईओसीले जोड दिएपछि नेपालमा पनि दबाब परेको हो । सोहीअनुसार नेपाल आयल निगमले विकल्प खोजी सुरु गरेको जनाएको छ । सोहीअन्तर्गत काठमाडौं विश्वविद्यालयसँग एमओयू गरेको थियो । निगम र केयूबीच ५ वर्षको एमओयू भएको छ । तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको पहलमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार निगम र केयूबीच इन्जिनियरिङ सर्भिस र वैकिल्पक ऊर्जामा सहकार्य गरिनेछ । निगमले आर्थिक सहयोगस्वरूप ५ करोड उपलब्ध गराउने एमओयू भएको थियो । निगमकै आर्थिक सहयोगमा केयूले ३३ हजार अमेरिकी डलर पर्ने हाइड्रोजन कार किनेको हो । विश्वबिद्यालयका अनुसन्धानकर्ता कोरिया पुगेर यसबारे अध्ययन गरेका थिए । विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादित हाइड्रोजन कार परीक्षण गर्दा सफल भएको हो । अहिले भने यसको औपचारिक उद्घाटन मात्र गरिएको हो ।

नेपाल हाइड्रोजन युगमा प्रवेश गरेको र विश्वविद्यालयको अनुसन्धानले हाइड्रोजनको प्रयोगमार्फत उद्योगहरूमा प्रयोग हुने जीवाष्म इन्धनको प्रतिस्थापन हुने सम्भाव्यतालाई प्रमाणित गरेको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले बताए । हाइड्रोजन इन्धनका लागि बिजुली पनि चाहिन्छ । विद्युत् उत्पादन स्वदेशमै पर्याप्त रहेकाले समस्या नहुने जानकार बताउँछन् ।

बर्खायाममा नेपालमा सयौं मेगावाट बिजुली खेर गइरहेको छ । त्यसलाई न्यूनतम मूल्यमा प्रयोग गर्न सके हाइड्रोजन उत्पादन धेरै सस्तो पर्ने जनाइएको छ । पानीलाई रासायनिक प्रक्रियामार्फत टुक्य्राएर हाइड्रोजन र अक्सिजन बनाइन्छ । ९ लिटर पानीलाई रासायनिक प्रक्रियाबाट टुक््रयाउँदा एक किलोग्राम हाइड्रोजन उत्पादन हुन्छ । ‘त्यसरी टुक्य्राउँदा ५० देखि ६० युनिट विद्युत् खर्च हुन्छ,’ उनले भने, ‘यहीअनुसार हाइड्रोजन उत्पादनको लागत विद्युत्को मूल्यमा निर्भर हुन्छ ।’

प्रकाशित : भाद्र १५, २०८१ ०६:५३
x
×