कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नाडामा विद्युतीय गाडीमा आकर्षण, १० लाख रुपैयाँसम्म छुट अफर

भाद्र १५, २०८१
नाडामा विद्युतीय गाडीमा आकर्षण, १० लाख रुपैयाँसम्म छुट अफर

Highlights

  • २२ लाखदेखि १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी प्रदर्शनीमा 

काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ मा विद्युतीय गाडीमा विभिन्न कम्पनीहरूबीच नगद छुट दिन प्रतिस्पर्धा छ । निश्चित रकम तिरेर अटो सोमा गाडी बुकिङ गरेपछि खरिदका क्रममा ग्राहकले कम्पनीले तोकेको नगद छुट पाउनेछन् । यस्तो छुट अफर अटो सोमा राखिएका प्रायः विद्युतीय गाडीमा छ । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत मंगलबारदेखि जारी अटो सोमा विभिन्न ब्रान्डका विद्युतीय गाडी बुकिङ गर्दा १ लाखदेखि १० लाख रुपैयाँसम्म छुट पाउन सकिने योजना कम्पनीहरूले सार्वजनिक गरेका छन् । अटो सोमा अग्नि इनकर्पोरेटेडले महिन्द्रा ब्रान्डको विद्युतीय गाडी बुकिङ गर्दा डेढ लाख रुपैयाँसम्म छुट दिने योजना ल्याएको छ । महिन्द्रा एक्सयूभी ४०० ईभी किन्दा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म नगद छुट पाइने कम्पनीका मार्केटिङ म्यानेजर निर्मल श्रेष्ठले जनाए ।

‘महिन्द्रा एक्सयूभी ४०० को बजार मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ, अटो सोमा आएर बुकिङ गर्ने ग्राहकलाई विशेष छुट दिएका हौं,’ उनले भने, ‘महिन्द्राका १५ वटा गाडी बुकिङ भइसकेपछि भने बम्पर उपहारमा यचडीको स्क््रयाब्लर मोटरसाइकल जित्न सकिने योजना पनि राखेका छौं ।’ नेफालका लागि हुन्डाई गाडीको आधिकारिक बित्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको गाडी खरिदमा १० लाख रुपैयाँसम्म छुट उपलब्ध गराउने भएको छ । हुन्डाईको विद्युतीय आयोनिक ५ र कोना गाडी बुकिङ गरी खरिद गर्दा छुट पाइने कम्पनीका मार्केटिङ म्यानेजर सन्दीप शर्माले बताए ।

‘यसमा ग्राहकले गाडीको मोडल हेरी १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छुट पाउनेछन्,’ उनले भने, ‘नाडा अटो सोमा आएर हुन्डाईका गाडी बुकिङ गर्ने ग्राहकलाई बोसको मिक्स्चर उपलब्ध गराउँछौं ।’ नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले स्काइवेल ब्रान्डका विद्युतीय गाडीमा ५ लाख रुपैयाँसम्म नगद छुट गर्ने योजना ल्याएको कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालले जानकारी दिए । ‘हामीले अटो सोमा नै भनेर भारी छुट योजना ल्याएका छौं,’ उनले भने, ‘नाडा सो अवधिभरमा बुकिङ गर्ने ग्राहकले न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्छन् ।’

यीबाहेक अटो सोमा १६ कम्पनीले २३ वटा ब्रान्डका चारपांग्रे सवारी प्रदर्शनीमा राखेका छन् । यी १६ कम्पनीले बिक्री गर्दै आइरहेका विभिन्न ब्रान्डका गाडीमा नगद छुट र उपहार योजना राखेका हुन् । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी र नामी कारको आधिकारिक वितरक एमएडडब्लू वृद्धि अटोकर्पले अटो सोमा उक्त गाडीहरूको बुकिङमा छुट अफर ल्याएका हुन् । कम्पनीले अटो सोमा दिपल र नामी गाडी बुकिङ गर्दा सात किलोवाट चार्जर दिने योजना ल्याएको छ । यसका लागि भने ग्राहकले न्यूनतम २५ हजार रुपैयाँ गाडी बुकिङ गर्नुपर्ने सर्त रहेको दिपल गाडीका मार्केटिङ हेड रमेश दनेखुले बताए ।

नेपालस्थित टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको पन्च ईभी, टियागो ईभी र टिगोर ईभी खरिदमा पनि नाडा अटो सो विशेष योजना ल्याएको छ । नाडा अटो सोमा टाटाको टियागो ईभी र टिगोर ईभी गाडी बुकिङ गर्दा थाइल्यान्ड टुर जान सकिने अफर रहेको कम्पनीका सिनियर सेल्स म्यानेजर निर्मल खत्रीले जानकारी दिए । ‘पन्च ईभीको मूल्य भने नाडा विशेष भनेर नै राखेका छौं, जुन नाडा अटो सो सकिएपछि पन्च ईभी गाडीको मूल्य एकदेखि डेढ लाख रुपैयाँसम्म बढ्छ,’ उनले भने, ‘नाडा अवधिभर बुकिङ गरि खरिद गरेका ग्राहकलाई मात्र भनेर पन्च ईभीमा एक वर्षका लागि निःशुल्क सवारी कर, ब्याट्री र मोटरमा आठ वर्षको वारेन्टी दिएका छौं ।’

उक्त अटो सो भदौं १६ सम्म चल्नेछ । अटो सोमा विशेषगरी २२ लाखदेखि एक करोड रुपैयाँसम्मका विद्युतीय गाडी प्रदर्शनीमा राखिएका छन् । अटो सोमा ९५ प्रदर्शकको सहभागिता रहेको आयोजकको भनाइ छ । अटो सोमा चारपांग्रे, दुईपांग्रे, अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्थाका १३० वटा स्टल छन् । यसमध्ये ८० प्रतिशत विद्युतीय सवारी साधनको स्टल छ । हरेक स्टलमा १० देखि ५० वटा विद्युतीय गाडी बुकिङ भएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । ‘विद्युतीय गाडीमा भीड धेरै छ,’ उनले भने, ‘बुकिङ पनि राम्रो भइरहेको छ ।’

प्रकाशित : भाद्र १५, २०८१ ०६:५६
x
×