कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सोलारमा ८०० मेगावाटको पीपीए माग्दा ३६ सय मेगावाटको आवेदन

भाद्र १५, २०८१
सोलारमा ८०० मेगावाटको पीपीए माग्दा ३६ सय मेगावाटको आवेदन

Highlights

  • प्राधिकरणबाट हालसम्म १७५ मेगावाटको पीपीए, १०७ मेगावाट सञ्चालनमा, थप ३० मेगावाटका सौर्य आयोजना पीपीए प्रक्रियामा 

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आह्वान गरेको ८०० मेगावाट सौर्य ऊर्जाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) का लागि ३६ सय मेगावाट बराबरको आवेदन परेको छ । १३४ वटा कम्पनीले ३६ सय मेगावाटको पीपीएका लागि आवेदन परेको प्राधिकरणअन्तर्गतको विद्युत् व्यापार विभागले जनाएको छ ।

परेका आवेदनको प्राविधिक मूल्यांकन भइरहेको विभागका निर्देशक राजन ढकालले बताए ।

‘८०० मेगावाट सौर्य ऊर्जाका लागि आवेदन माग गरेका थियौं, त्यसमा १३४ वटा कम्पनीमार्फत करिब ३६ सय मेगावाट बराबरको आवेदन परेको छ,’ ढकालले भने, ‘अहिले ती कम्पनीहरूको प्राविधिक मूल्यांकन भइरहेको छ ।’ १ सय ३४ कम्पनीले झन्डै ३ सय वटा आयोजनाका लागि आवेदन दिएको उनको भनाइ छ ।

प्राधिकरणले आगामी दुई वर्षभित्र थप आठ सय मेगावाट विद्युत् सौर्य आयोजनाबाट खरिद गर्ने भन्दै ०८० चैतमा बोलपत्र आह्वान गरेको थियो । एक प्रवर्द्धकले १५० मेगावाटभन्दा बढी नहुने गरी आवेदन दिनुपर्नेछ । प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्ने गरी आह्वान गरिएको बोलपत्रअनुसार १० मेगावाटभन्दा साना आयोजनाले १८ महिनाभित्र र त्यसभन्दा ठूला आयोजनाले दुई वर्षभित्र विद्युत् उपलब्ध गराउनुपर्नेछ । प्राधिकरणले तराईका लोड सेन्टरमा बढ्दो विद्युत्को माग र विद्युत् आपूर्ति सन्तुलन कायम गर्ने गरी प्रस्ताव आह्वान गरेको हो ।

प्राधिकरणको स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरूको पीपीए गर्ने तयारी छ । जलविद्युत् आयोजना निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजनाहरू एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आबद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसबाट सबस्टेसन वरिपरि रहेका जग्गाको पनि प्रयोग हुने उनको भनाइ छ ।

प्राधिकरणले प्रतिस्पर्धी दरमा प्रस्ताव पेस गर्न आह्वान गरेको हो । प्राधिकरणको ९६३ औं बैठकले सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरिद गर्न प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरेको छ । प्रतिस्पर्धामा उक्त दरभन्दा कममा प्रस्ताव गर्ने आयोजनासँग उपयुक्तताका आधारमा पीपीए गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत वर्ष एक सय मेगावाट सौर्य आयोजनाको पीपीएका लागि यस्तै प्रस्ताव आह्वान गर्दा न्यूनतम पाँच रुपैयाँ ८६ पैसासम्ममा पीपीए प्रस्ताव आएको थियो । प्राधिकरणले हाल कायम जडित क्षमता र पीपीए भइसकेका आयोजनालाई समेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जाको पीपीए गर्नेछ । यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरूको पीपीए हुँदै आएको थियो ।

प्राधिकरणले प्रतिस्पर्धाबाट हालसम्म १७५ मेगावाटको पीपीए गरेको छ । त्यसमध्ये १०७ मेगावाट सञ्चालनमा छ । थप ३० मेगावाटका सौर्य आयोजना पीपीए गर्ने प्रक्रियामा छन् । प्राधिकरणको आफ्नै देवीघाट जलविद्युत् केन्द्र परिसरमा २५ मेगावाट क्षमताको सौर्य आयोजना सञ्चालनमा छ । गण्डक जलविद्युत् केन्द्र, मध्यमर्स्याङ्दी र सुर्खेतमा सौर्य ऊर्जाका लागि खरिद प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ । ७५७.७ मेगावाटका ४२ आयोजनाले सर्वेक्षण लाइसेन्स लिएको विद्युत् विकास विभागको भनाइ छ । ९७.०६ मेगावाटका १४ आयोजना निर्माणाधीन रहेको पनि विभागले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ ०७:००
x
×