कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

लमजुङको घनपोखरा होमस्टेलाई थप व्यवस्थित बनाइने

भाद्र १४, २०८१
लमजुङको घनपोखरा होमस्टेलाई थप व्यवस्थित बनाइने

लमजुङ — लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको घनपोखरा गाउँस्थित होमस्टे (घरबास) लाई थप व्यवस्थित बनाइने गरी स्थानीयले छलफल अघि बढाएका छन् ।

मर्स्याङ्दी गाउँपालिका-१ मा पर्ने घनपोखरा गाउँ समुद्री सतहदेखि २ हजार १ सय ५० मिटर उचाइमा अवस्थित छ । एक दशकदेखि होमस्टे सञ्चालन हुँदै आएको घनपोखरामा पछिल्लो समय पर्यटक आउने क्रम बढेसँगै थप व्यवस्थित बनाउने विषयमा छलफल थालिएको स्थानीयले बताएका छन् ।

गुरुङ जातिको आदिम थलोको रुपमा समेत चिनिएको घनपोखरा करिब १ हजार वर्ष पुरानो मानिन्छ । ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको घनपोखराको होमस्टेलाई व्यवस्थित गर्न स्थानीयले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनप्रतिनिधिसँग छलफल थालेका हुन् ।

वडाअध्यक्ष रुद्रमान गुरुङका अनुसार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंलगायतसँग स्थानीयले होमस्टेलाई थप व्यवस्थित गर्ने विषयमा छलफल गरेका हुन् । ‘होमस्टेमा पछिल्लो समय पर्यटक आउने क्रम बढेको छ । पर्यटकको बसाईलाई लम्भ्याउन, पर्यटकलाई आकर्षित गराउन साथै पर्यटकलाई थप सुविधाविषयमा गाउँपालिका र गाउँलेबीच छलफल भएको छ’ उनले भने । घनपोखरा गाउँ पर्यटकीय घलेगाउँबाट नजिकै पर्छ । घलेगाउँबाट भुजुङ जाने बाटो करिब २ किलोमिटरको दुरीमा रहेको घनपोखरामा पर्यटक आगमन बढ्न थालेको वडअध्यक्ष गुरुङले बताए ।

गाउँपालिका अध्यक्ष गुरुङले होमस्टेसँगै कृषिलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । ‘होमस्टेका लागि आवश्यक संरचना, सडक सुधार, स्थानीयको क्षमता अभिबृद्धि, होमस्टे व्यवस्थापन, तालिम लगायत आवश्यक छ । यसमा गाउँपालिकाको ध्यान गएको छ,' उनले भने । उनले घनपोखरासँगै सिउरुङ होमस्टे, छापा-मिप्रा होमस्टे, भुष्मे होमस्टेलगायत होमस्टेमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।


घनपोखरा गाउँमा ६० भन्दा बढी घर छन् । १३ वटा होमस्टे दर्ता रहे पनि हाल ९ वटामात्रै सञ्चालनमा रहेका छन् । उनीहरुले तल्लो गाउँ नायुलाई पनि जोडेर नायु घनपोखरा होमस्टे समिति निर्माण गरेका छन् । पछिल्लो समय पर्यटक आउन थालेपछि होमस्टेमा थप सहयोगको अवश्यक परेको स्थानीय जीतबहादुर गुरुङले बताए । उनका अनुसार सडकसँगै होमस्टे सुधार र पूर्वाधार सुधार आवश्यक छ ।

घनपोखरा पर्यटन व्यवस्थापन उपसमिति हेमजङ गुरुङका अनुसार हिमालहरु आँखै सामु देखिने, मिदिम र मर्स्याङ्दीको सुस्केरा, चराचुरुङ्गीको आवाज सुनेर पर्यटकहरु आनन्दित हुन्छन् । घनपोखरा गाउँबाट माथिल्लो क्षेत्रमा कुनै पनि मानवबस्ती नभएकाले पनि पर्यटकको आगमन हुने गरेको उनले बताए । ‘गाउँमा पर्यटक आएपछि गाउँबारे सोध्छन् । यहाँबाट माथि कुनै मानववस्ती छैन भनेपछि अचम्म मान्छन्,’ उनले भने ।

घनपोखराबाट लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत दर्जन हिमश्रृंखलाहरु देख्न सकिन्छ । गुरुङ जातिको घाँटु, कृष्ण चरित्र, सेर्गा नाच हेर्न र यसको अनुसन्धान गर्न गाउँमा अनुसन्धानकर्ताहरु समेत आउने गरेको गाउँले बताउँछन् । गाउँमा आउने पर्यटकलाई स्थानीयले गाउँमै उत्पादित खाद्यान्न खुवाउने गरेका नायु घनपोखरा होमस्टे अध्यक्ष चमबहादुर गुरुङले बताए ।

प्रकाशित : भाद्र १४, २०८१ १६:०६
x
×