कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

रसुवा भन्सारमा ५० करोड राजस्व वृद्वि

भाद्र १४, २०८१

रसुवा — गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व ५० करोड रुपैयाँले वृद्वि भएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत एक अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा एक अर्ब तीन करोड मात्र राजस्व संकलन भएको थियो । राजस्व संकलनका लागि आयात भएका सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, विद्युतीय सामग्री, थरमस, विभिन्न मोडलका सवारीसाधन र तिनका पार्टपुर्जाका साथै स्याउ, ओखरलगायत फलफूल आयात भइरहेका भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका लागि रसुवागढी नाकाबाट चिनियाँ उपकरण आयात हुने गरेका छन् । राजस्व वृद्धि भए पनि यहाँ सडक सुरक्षामा भने ध्यान दिइएको छैन । सडकको क्षमताभन्दा पाँच गुणा बढी वजन भएका उपकरण ल्याउने गरिएकाले पासाङल्हामु मार्गमा पहिरोको जोखिम बढ्दै गएको र ठाउँठाउँका पुल भासिने सम्भावना बढेकाले आवश्यक नियमन र मर्मतमा ध्यान दिन स्थानीयवासीले अनुरोध गरेका छन् ।

यस्तै, देशको अर्थ संकलनमा ठूलो योगदान दिइरहेको स्याफ्रुबेँसी रसुवागढी सडकको १६ किमी खण्ड मर्मतसम्भार नहुँदा खाल्टाखुल्टीका कारण मालवाहक सवारीसाधन गुडाउन कष्टकर हुँदै गएको चालकको गुनासो छ । सडकको क्षमताभन्दा बढी सामग्री बोकेका ट्रक गुडाएका कारण कालिका स्थानमा सडक भासिँदा नियमित यात्रुवाहक बस गुडाउन मुस्किल हुँदै गएको बस व्यवसायी समितिले जनाएको छ ।

भार्खुडाँडामा तीन वर्षअगाडि देखि सुरु भएको मर्मतसम्भार र कटिङ् कार्य हालसम्म सम्पन्न नहुँदा सरकारी व्ययभार बढ्दै गएको छ । मानसरोवर कैलाश यात्रासमेत चलिरहेको अवस्थामा सडक सुधार नहुँदा यात्रामा समस्या छ ।

प्रकाशित : भाद्र १४, २०८१ १९:१४
x
×