कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

१० लाख हेक्टर जग्गा बाँझो राखेर बर्सेनि आउँछ अर्बौंको खाद्यान्न

भाद्र १४, २०८१
१० लाख हेक्टर जग्गा बाँझो राखेर बर्सेनि आउँछ अर्बौंको खाद्यान्न

Highlights

  • मुलुकभर ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिन, ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती

काठमाडौँ — कृषि प्रणालीको विकास गर्नर् भन्दै सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषणा गर्‍यो— ‘कृषिमा लगानी दशक’ । त्यसैलाई निरन्तरता दिँदै बजेटमा पनि कार्यक्रम राखियो— ०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशक ।

कृषि क्षेत्रको विकास होस् या यसमा लगानी बढाउने मनसायले नै किन नहोस्— सरकारले बर्सेनि यस क्षेत्रमा केही न केही नयाँ कार्यक्रम ल्याउने गरेको छ । सुन्दा राम्रा लाग्ने कार्यक्रम कार्यान्वयनमा भने असफलप्रायः बन्ने गरेका छन् । सरकारले अनुदानदेखि बिमा प्रोत्साहनसम्मका कार्यक्रम ल्याए पनि वास्तविक किसानसम्म नपुग्दा कृषि क्षेत्र व्यवसायीकरणको बाटोमा हिँड्न सकेको छैन । किसान पनि उत्साहित छैनन् ।

यसैको परिणाम हुन सक्छ— बर्सेनि जमिन बाँझो रहने क्रम बढ्दो छ । र कुनै समय कृषिबाटै जीविका चलाइरहेकाहरूले पनि उत्पादनमा ध्यान नदिएर किनेरै खानुपर्ने क्रम पनि बढेकै छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक भन्छ— मुलुकभर ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ३० लाख ९१ हजार हेक्टरमा खेती हुन्छ । र १० लाख ३० हजार हेक्टर जमिन बाँझो पल्टिरहेको छ । जब कि गएको एक वर्षमा ९० अर्ब ७१ करोड रुपैयाँको प्रमुख कृषिबाली आयात भएको छ । हुन त यो रकम ०७९/८० भन्दा केही कम हो । अघिल्लो वर्ष १ खर्ब ७ अर्ब २२ करोडको प्रमुख कृषि बाली आयात भएको थियो । तर केही खाद्यवस्तुको आयात हेर्दा अघिललो वर्षको तुलनामा गत वर्ष नै बढी आयात भएको छ । जस्तो कि, गँहु ।

०७९/८० मा २८ करोड ९ लाख रुपैयाँको ६ हजार ६ सय ६४ टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । ०८०/८१ मा आयात ह्वात्तै बढेको हो । २ अर्ब ७३ करोड ३१ लाख रुपैयाँको ६५ हजार ४ सय ३९ टन गहुँ आयात भएको छ । आयातित गहुँ प्रशोधन भएर चीन निर्यात हुने आशंका रहेको मन्त्रालयका अधिकारी बताउँछन् । सर्वसाधारणले बिहान या बेलुकी— एक छाक रोटी खाने क्रम बढद पनि गहुँको आयात केही बढेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीको भनाइ छ ।

फलफूलको दलहन, फलफूल, ताजा तरकारीलगायत वस्तुको आयात पनि उलेख्य बढेको छ । अघिल्लो वर्ष १६ अर्ब १४ करो ६७ लाखको फलफूल आयात भएको थियो । ०८०/८१ मा भने फलफूल आयात बढेर १९ अर्ब ५४ करोड २५ लाख रुपैयाँको पुगेको छ । अघिल्लो वर्ष १४ अर्ब ८ करोड ३८ लाख रुपैयाँको दलहन आयात भएकामा गत वर्ष बढेर १५ अर्ब १ करोड ९६ लाख पुगेको छ । गत वर्ष १ अर्ब ९७ करोड ९२ लाख रुपैयाँको ताजा तरकारी आयात भएको छ । अघिल्लो वर्ष भने यस्तो तरकारी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको आएको थियो ।

मुलुकभर २ लाख ८१ हजार १ सय ३२ हेक्टरमा तरकारी खेती हुन्छ । र वार्षिक करिब ३९ लाख ६२ हजार टन उत्पादन हुन्छ । अपुग तरकारी मुख्यगरी भारतबाट ल्याइन्छ । कृषिमा भारत सरकारले अनेक अनुदान, बिमालगायत सुविधा दिएको छ । त्यही कारण नेपाली उत्पादनको तुलनामा भारतीय तरकारी सस्तो पर्छ । सोही कारण व्यवसायीले भारतबाट ताजा तरकारी आयात गर्छन् ।

धानचामल आयात भने केही घटेको भन्सारको तथ्यांकले देखाउँछ । ०७९/८० मा ३५ अर्ब ९० करोड ६८ लाख रुपैयाँको धान–चामल आयात भएकामा गत वर्ष ०८०/८१ मा आयात घटेर २१ अर्ब ३४ करोड ४३ लाख पुगेको छ । धान–चामल आयात घट्नुका २/४ कारण रहेको सूचना अधिकारी महानन्द जोशी बताउँछन् । पहिलो कारण, खानेबानीमा आएको परिवर्तन हो । आर्थिक शिथिलताका कारण पनि खरिद–बिक्रीमा केही कमी आएको हुन सक्ने जोशीले जनाए ।

‘राष्ट्रिय जीवनस्तर सर्वेक्षणमा एउटा घरधुरीले आयको ३१ प्रतिशत खर्च खाद्यान्नमा गरेको उल्लेख छ । १० वर्षमा यो १७ प्रतिशतमा झरेको छ, यसको अर्थ सर्वसाधारणले चामलको तुलनामा फलफूल, माछामासु र तरकारी उपभोग बढाएका छन्,’ जोशीले भने, ‘त्यही कारण पनि आयात घटेको हुन सक्छ ।’ विगतका वर्षको तुलनामा धान उत्पादन पनि बढेकै छ । आर्थिक वर्ष ०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । अपुग भने आयातमै निर्भर हुनुपर्ने बाध्यता रहेको मन्त्रालयले जनाएको छ ।

यीबाहेक केही व्यवसायीले अन्य सामान ल्याएर धान–चामलका नाममा पनि भन्सार गराएको पनि हुन सक्ने बताइन्छ । यसले पनि धान–चामलको आयात बढी नै देखिएको मन्त्रालयको तर्क छ । ‘भन्सारको ३ वर्षको तथ्यांक हेर्दा पहिलो वर्ष ४५ अर्बको धान–चामल आयात भएको देखिन्छ । त्यसपछि ३५ अर्ब र अहिले २१ अर्बको आयात देखिन्छ,’ जोशीले भने, ‘भन्सार तथ्यांक जाँचपास प्रणालीमा समस्या भएको हुन सक्ने अनुमान छ ।’

आलु, प्याज र लसुन पनि अर्बौं रुपैयाँको आयात भएको छ । गत वर्ष मात्रै ६ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको २ लाख ५५ हजार २ सय ८९ टन आलु आयात भएको भन्सारको तथ्यांक छ । ४ अर्ब ४६ करोड ८९ लाख रुपैयाँको ६९ हजार १ सय ७९ टन प्याज र लसुन आयात भएको तथ्यांक छ । स्वदेशी उत्पादनले तीन महिना पनि नधान्दा प्याज र लसुन आयात गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । केही कृषिबाली निर्यात पनि भएको छ । अलैंची, अदुवा, चिया, कफी, दुग्धपदार्थ र मह निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । गत वर्ष २२ करोड ४९ लाखको तरकारीसमेत निर्यात भएको विभागको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०८१ २२:२७
x
×