कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सवारीको महाकुम्भ, २३ ब्रान्डका नयाँ गाडी

भाद्र ११, २०८१
सवारीको महाकुम्भ, २३ ब्रान्डका नयाँ गाडी

Highlights

  • १६ औं संस्करणको नाडा अटो सोमा ९५ प्रदर्शक, १३० स्टल, नेपालमै एसेम्बल्ड गाडी तथा मोटरसाइकल, ब्याट्री, टायर, लुब्रिकेन्ट्सलगायत

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ मा २३ ब्रान्डले नयाँ उत्पादन (प्रडक्ट) सार्वजनिक गर्ने भएका छन् । मंगलबार सुरु हुने अटो सोमा १६ वटा चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्न लागेका हुन् । काठमाडौं भृकुटीमण्डपमा आयोजना हुने अटो सो यही भदौ १६ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा २३ वटा चारपांग्रे ब्रान्डले नेपालको सडकमा नकुदेका र नदेखिएका नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको नाडा अटो सोका संयोजक अनुप बरालले बताए । ‘यी ब्रान्डले नेपालको सडकमा नकुदेका नयाँ उत्पादन भित्र्याउने भएका हुन् । यसमा कुन कम्पनीले कुन–कुन मोडेलका कति वटा गाडी सार्वजनिक गर्छन् भन्ने यकिन छैन,’ अटो सोबारे जानकारी दिँदै उनले भने, ‘सो अवधिभर उल्लिखित ब्रान्डका धेरै संख्यामा चारपांग्रे गाडी सार्वजनिक हुन्छन् ।’

सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायतको प्रदर्शनी हुने बरालले जानकारी दिए ।

यसपालिको नाडा अटो सोमा सबैभन्दा धेरै विद्युतीय गाडीको प्रदर्शनी हुने बताइएको छ । चीनमा उत्पादित २२ लाखदेखि एक करोड रुपैयाँभन्दा माथिसम्मका विद्युतीय गाडी प्रदर्शनीमा रहने बरालको भनाइ छ । ‘प्रदर्शनीमा रहने सवारीसाधन साधारण नभई एउटा आविष्कार पनि हुन् । गाडीका सुरक्षा विशेषतादेखि लिएर नयाँ आविष्कार के भएको छ ? ब्याट्रीको आयु भनेको के हो ? कसरी क्षति हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । यिनै प्रश्नको जवाफ दिन दुई दिनको टक सो आयोजना गर्दै छौं,’ उनी भन्छन् ।

नाडा अटो सोमा लाइट कमर्सियलका १३ स्टल रहनेछन् । यसैगरी बैंक, बिमा र डिजिटल वालेटका कम्पनीहरूका ११ वटा स्टल रहनेछन् । हरेक वर्ष प्रदर्शनीमा रहँदै आएको अटो सोमा यसपालि भने विविधता रहेको आयोजकले जनाएको छ । ‘यसपालि विगतमा भन्दा बृहत्, राम्रो र व्यवस्थित बनाउन प्रयास गरिरहेका छौं । दुईपांग्रे र सीमित चारपांग्रेका लागि भृकुटीमण्डपभित्र पार्किङको व्यवस्था गरिएको छ । अन्य चारपांग्रेका लागि पुरानो बसपार्कमा पार्किङको व्यवस्था छ,’ बरालले भने, ‘अटो प्रदर्शनीलाई थप व्यवस्थित गर्न नाडाले यस पटक चार र दुईपांग्रे सवारीको छुट्टाछुट्टै प्रदर्शनी स्थल निर्माण गरेका छौं ।’ लक्षित ग्राहकलाई ध्यानमा राख्दै नाडाले प्रदर्शनलाई थप व्यवस्थित गर्न छुट्टाछुट्टै प्रदर्शनी स्थल बनाएको उनको भनाइ छ ।

प्रदर्शनीको विशेषतामा नेपालमै उत्पादित टायर, ब्याट्री र लुब्रिकेन्ट्सबारे जानकारी लिन सकिन्छ । नेपालमै उत्पादन हुने सवारी कम्पोनेन्टबारे अध्ययन गर्न र हेर्न नाडा अटो सो राम्रो अवसर भएको बराल सुनाउँछन् । प्रदर्शनीमा अटो कम्पोनेन्टका ३३ वटा स्टल रहनेछन् । जसमा ५–६ वटा स्टलले नेपालमै उत्पादन गरिएका ब्याट्री, टायर, लुब्रिकेन्ट्सबारे प्रदर्शनी गर्ने उनको भनाइ छ । दुईपांग्रे सवारीका १९ ब्रान्ड प्रदर्शनीमा सहभागी छन् । योसँगै नेपालमै एसेम्बल गरिएका दुईपांग्रे सवारीसाधन पनि प्रदर्शन हुनेछन् । सोमा टाटा, हुन्डाई, नेटा, स्काइवेल, आइवन, सेरेस, दोङफेङ, लिपमोटर, रिडारा, किया, सिट्रोन, एक्स–पङ, अवतार, जिकर, दिपल, न्यू ईभी, सुजुकी, बीवाईडी, ओमोडा एन्ड जेकु, एमजी, हेनरी भोल्ट्स, बीएडब्लू र महिन्द्रा ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका हुन् ।

‘अटो सोमा नेपालमै एसेम्बल भएका मोटरसाइकल हेरिसकेपछि नेपाली चालकको विश्वास बढ्छ । यो एउटा नेपालमा एसेम्बल गरी बनाइएका मोटरसाइकल खुला रूपमा देखाउन पाउने अवसर पनि हो,’ बरालले भने । अटो सो विद्युतीय सवारीसाधनमय हुने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । अटो सोमा भ्रमण गर्न आउने आगन्तुकको सुविधाका लागि एसोसिएसन तयारीसाथ लागिपरेको उनी सुनाउँछन् ।

‘यसपालि अटो सोमा प्रायःजसो गाडी इलेक्ट्रिक भेहिकल छन् । यसपालिको नाडा अटो सो ईभीमय छ । पहिलाभन्दा यसपालि चारपांग्रे सवारीहरूको उपस्थिति बढी छ,’ उप्रेतीले भने, ‘साथै प्रदर्शनीमा पार्किङ व्यवस्थापनका लागि भिजिटरलाई दुःख नहोस् भन्ने छ । पार्किङमा सीसीटीभी राखेका छौं ।’

अटो सोमा विभिन्न ब्रान्डका कम्पनीले विद्युतीय सवारीसाधनका साथै नयाँ ब्रान्डका कमर्सियल र सेमी कमर्सियल ब्रान्डका सवारी पनि सार्वजनिक हुने उप्रेतीले जनाए । पहिलो पटक भारतबाट सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (एसआईएएम) संस्थाबाट २४ जना प्रतिनिधिले नेपालको अटोमोबाइललाई नजिकबाट नियाल्न आउने उनको भनाइ छ ।

‘सोमा अब आउने पुस्ताले नयाँ प्रविधि, अन्तर्राष्ट्रिय स्तरमा भएका गाडी, त्यसको स्ट्यान्डर्ड, पार्टपुर्जा र नेपालमा उत्पादित टायर, लुब्रिकेन्ट्सबारे जानकारी लिन सक्छन्,’ उप्रेतीले थपे, ‘अबको अटोमोबाइल क्षेत्र कसरी जान्छ भनेर नजिकबाट नियाल्न पाइन्छ ।’ यस किसिमको अटो सोले अर्थतन्त्रलाई चलायमान बनाउने उनी सुनाउँछन् । एउटा सोरुममा राखेर गाडी बिक्री नहुने उनको भनाइ छ । ‘गाडी आयात गरिसकेपछि डिलर चाहिन्छ । त्यहीअनुसार सोरुम चाहिन्छ । त्यसबाट वर्कसप, बिमा, बैंक, सञ्चारमाध्यम र विज्ञापन एजेन्सी चाहिन्छ । अहिलेको बेलामा अर्थतन्त्र चलायनमान बनाउन राम्रो अवसर हो । बन्द हुने अवस्थामा रहेको सोरुम बाँच्न पनि यसले सघाउँछ,’ उनले भने ।

यसपालिको अटो सोमा धेरै नयाँ ब्रान्डका नयाँ गाडी आउने भएकाले प्रदर्शनी विशेष रहेको नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सुझाउँछन् । ‘यसपालिको नाडा अटो सोमा धेरै नयाँ ब्रान्डहरू लन्च हुँदै छन् । यसअघि काठमाडौंमा नदेखिएका गाडीहरू लन्च हुँदै छन् । त्यसैले पनि हामी उत्साही छौं,’उनले भने, ‘अरू बेला गाडी लन्च हुँदा अलग–अलग सोरुममा गएर हेर्नुपर्थ्यो । तर अहिले एकै पटक नाडा सोमा सबै मोडलहरू हेर्न पाइन्छ ।’

प्रदर्शनीमा आउने आगन्तुकले आफूलाई मन परेको दुईपांग्रे र चारपांग्रे गरी कुनै पनि सवारी बुकिङ गर्न सक्ने सुविधा भएको गोल्छाको भनाइ छ । यस किसिमको प्रदर्शनले ग्राहकको समय बचाउने, आफूलाई मन परेको सवारीमा राम्रोसँग बार्गेनिङ गर्ने अवसर र भविष्यमा सवारी किन्न इच्छुक ग्राहकलाई जानकारी लिने स्थान नाडाको अटो सो भएको उनले सुनाए ।

नाडा अटो सोमार्फत बढीभन्दा बढी मानिसले सवारीसाधनबारे जानकारी लिऊन् र हेरून् भन्ने अपेक्षा भएको गोल्छा सुनाउँछन् । ‘प्रदर्शनीमा सहभागीहरूको अपेक्षा धेरैभन्दा धेरै गाडी बुकिङ गर्न पाउँ भन्ने हुन्छ । गाडीमा रुचि भएका ग्राहकले त्यहाँ आफ्नो नाम र नम्बर टिपाउँछन्,’ उनी भन्छन्, ‘अनि नाडा अटो सो सकिएपछि पनि फलोअपमा जान्छ । त्यसले प्रतिस्पर्धा हुन्छ । जसले राम्रो अफर दिएर गाडी बेच्न सक्छ वा ग्राहकलाई कुन गाडी मन पर्छ, त्यसमा भर पर्छ । आयोजकको हिसाबले धेरैभन्दा धेरै सो हेर्न आइदिऊन् र हामीले राखेको ब्रान्ड बढी बिक्री होऊन् भन्ने चाहन्छौं ।’

प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् । टाटा ईभी प्रस्तुत नाडा अटो सो–२०२४ ले ६ दिनमा ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ ।

प्रकाशित : भाद्र ११, २०८१ ०७:३४
x
×