कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सस्तियो सवारी कर्जा

भाद्र ११, २०८१
सस्तियो सवारी कर्जा

काठमाडौँ — ब्याज महँगो भएकै कारण बैंकबाट ऋण लिएर गाडी (अटो) किन्न सकिनँ भनेर चिन्तामा बस्नुपर्ने अवस्था अब रहेन । बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सवारी कर्जाको ब्याजदर धेरै घटाएका छन् ।

ब्याजदर घटेसँगै समग्र सवारी कर्जा सस्तिएको छ भने ग्राहकको आकर्षण बढेको छ । कम ब्याजमा ऋण पाइने भएपछि सवारी कर्जाबारे बुझ्नकै लागि बैंकमा आउने ग्राहक बढेको र यसले चहलपहल बढाएको बैंकरहरू बताउँछन् । इच्छा हुँदाहुँदै पनि महँगो ब्याजदरकै कारण ऋण लिएर गाडी किन्न नसकिरहेका ग्राहकका लागि अहिले उपयुक्त समय रहेको उनीहरूको भनाइ छ ।

तीन वर्षअघि परिस्थिति अर्कै थियो । सवारी कर्जाको औसत ब्याजदर १३ प्रतिशतभन्दा माथि थियो । ब्याज महँगो भएकै कारण ग्राहकले ऋण लिएर गाडी किन्ने आँट ग्राहकले गर्न सकेका थिएनन् । अहिले अवस्था बदलिएको छ । सवारी कर्जाको औसत ब्याजदर ८.५ प्रतिशतकै हाराहारीमा छ । साढे २ वर्षअघिको तुलनामा यो करिब पाँच प्रतिशत बिन्दुले कम हो । यस कारण ग्राहकले सस्तो ब्याजदर भएको मौकाको भरपुर उपयोग गर्नुपर्ने जानकारहरू बताउँछन् ।

‘ब्याजदर सस्तो भएकै कारण धेरै बैंकहरूले प्राथमिकताका साथ सवारी कर्जाका योजना (स्किम) ल्याइरहेका छन्,’ एक बैंकरले भने, ‘तीमध्ये धेरैले ४ देखि ७ वर्षसम्मका लागि स्थिर (अहिलेकै ब्याज कायम रहने) ब्याजदर तोकेका छन् ।’ मंगलबारदेखि हुन लागेको ‘नाडा सो’, दसैं, तिहार र छठ नजिकिएको मौका पारेर बैंकहरूले नयाँ–नयाँ स्किम ल्याएका हुन् । ऋणीको स्थिर आम्दानीका आधारमा सवारीसाधन कर्जा प्रवाह गरिने भएकाले जोखिम कम हुन्छ । यही कारण यो क्षेत्रमा बैंकहरूको आकर्षण बढेको जानकार बताउँछन् । ग्राहकको आम्दानीको नियमितताका आधारमा प्रवाह हुने, अल्पकालीन प्रकृतिको, अन्य आम्दानी पनि बढ्ने र मासिक भुक्तानी नै यसका प्रमुख विशेषता हुन् ।

हालको व्यवस्थाअनुसार बैंक तथा वित्तीय सवारी कर्जा प्रवाह गर्दा विद्युतीय सवारीमा मूल्यको ८० प्रतिशतसम्म र पेट्रोलबाट चल्ने सवारीमा मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण पाइन्छ । पेट्रोलियम सवारीका लागि तय गरिएको ५० प्रतिशतको सीमा बढाउन व्यवसायीले माग गरे पनि राष्ट्र बैंकले नीति परिवर्तन गरिदिएको छैन ।

अधिक तरलताको कारण बैंकहरूको आधार ब्याजदर घटेकाले अहिले सवारी कर्जा सस्तिएको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए । ‘अधिक तरलता, आधार दर पनि घटेर ८ प्रतिशतमै झरेको छ । घरजग्गा, सेयर, गाडीआदि छिटोभन्दा छिटो कर्जा जाने क्षेत्र हुन् । यसकारण ती क्षेत्रमा बैंकहरूले धेरै कर्जा विस्तार गर्न खोजेका छन्,’ उनले भने, ‘विगतमा ब्याजदर सस्तो हुँदा प्रवाह भएका केही सवारी कर्जा असुली हुन सकेनन । यसकारण बैंकहरूले ग्राहकको सबै अवस्था राम्रोसँग बुझेर मात्र ऋण प्रवाह गर्नुपर्छ ।’

मुलुकको विदेशी विनिमय सञ्चिति निरन्तर घट्न थालेपछि सरकारले गाडीसहित १० वटा वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । यसकारण उक्त अवधिमा अटो बजार सुस्ताएको थियो । उक्त प्रतिवन्ध हटे पनि कार्ज प्रवाहमा राष्ट्र बैंकको कसिलो नीतिका कारण गत वर्ष पनि अटो बजारमा चहलपहल बढ्न सकेन । यद्यपि गत आर्थिक वर्षको तेस्रो त्रैमासपछि अटो बजारमा चहलपहल सुरु भएको थियो । गत आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले सेयर, घरजग्गा र हार्यरपर्चेज कर्जाका केही खुकुलो नीति ल्यायो । त्यसपछि यो क्षेत्रमा पनि गतिविधि बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

‘केही महिनायता अटो बजारमा चहलपहल बढेको छ,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले भने, ‘राष्ट्र बैंकले जोखिम भार घटाएको कारणले नभई ब्याजदर घटेकाले हो । अहिले विद्युतीय सवारीको माग निकै राम्रो छ ।’ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष गाडी बिक्री करिब ५० प्रतिशतले बढेको थापाले जनाए ।

अटो बजारको कारोबार करिब ५० प्रतिशतले बढेको देखिए पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी कर्जा २२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष बैंकहरूले यो क्षेत्रमा १ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेकोमा यस्तो कर्जा गत आर्थिक वर्ष घटेर १ खर्ब २४ अर्बमा सीमित भएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ ०७:२७
x
×