२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

सेप्टेम्बर ९ मा नयाँ आईफोन सार्वजनिक गर्ने एप्पलको तयारी 

भाद्र ११, २०८१
सेप्टेम्बर ९ मा नयाँ आईफोन सार्वजनिक गर्ने एप्पलको तयारी 

काठमाडौँ — एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ, जुन कार्यक्रममा साधारणतया एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू सार्वजनिक गर्ने गरेको छ । यो वर्षको कार्यक्रममा एप्पलको नयाँ आईफोन १६ का विभिन्न मोडलसँगै एप्पलका वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडेल, नयाँ सफ्टवेयर अपडेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी थप घोषणा हुने अपेक्षा गरिएको छ । 

'इट्स् ग्रो टाइम' लेखेर सञ्चारकर्मी, प्रविधिविज्ञ र डिभेलपरहरूलाई निम्ता बाँडिएको उक्त कार्यक्रम सधैँझैँ क्यालिफोर्नियाको एप्पल पार्कमा आयोजना हुँदै छ । केही सीमित व्यक्तिले मात्रै प्रत्यक्ष भाग लिने सो कार्यक्रम लाखौंंले अनलाइनमा हेर्ने गर्छन् । एप्पलका प्रमुख टिम कुक र वरिष्ठ अधिकारी क्रेग फ्रेडरिघीलगायतले सम्बोधन गर्ने सो कार्यक्रममा सार्वजनिक गरिने आईफोन १६ एआईका विभिन्न सुविधासहित आउने सञ्चार माध्यमहरूले जनाएका छन् । गत जुनमा भएको डिभेलपर्स कन्फेरेन्समा एप्पलले आफ्नै एआई प्रविधि 'एप्पल इन्टेलिजेन्स' घोषणा गरेको थियो र यो प्रविधिका कतिपय फिचर नयाँ आईफोनमा समावेश हुने अड्कल गरिएको छ ।

आईफोनका नयाँ मोडलले केही खस्केको बिक्री सुधार्ने पनि कम्पनीले अपेक्षा गरेको छ । एप्पलका उत्पादनहरूबारे निरन्तर लेख्ने सञ्चार माध्यमले आईफोन १६ एक्सन बटन, ठूलो डिस्प्ले र ए १८ चिपसहित उपलब्ध हुने र जुनमा घोषणा भएका कतिपय एआई सुविधा भने २०२५ तिर आईफोन १५ भन्दा पछिका आईफोनमा मात्रै समावेश हुने उल्लेख गरेका छन् । सन् २०२१ मा २४ करोडवटा आईफोन बिक्री गरेको एप्पलको आईफोन व्यापारमा सन् २०२२ र २०२३ मा १ करोडले गिरावट आएको तथ्यांकले देखाएका छन्, एप्पलको आम्दानी पनि सन् २०२२ को तुलनामा केही कम भएको छ ।

आईफोनका नयाँ मोडलसँगै एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा, एअरपड प्रो र म्याक्सका नयाँ भर्सनहरू पनि कार्यक्रममा सार्वजनिक हुने अपेक्षा गरिएको छ । कार्यक्रममा ठूलो क्षमता र सुधारिएका मोडेलको म्याकबुक प्रो र एप्पलका विभिन्न उत्पादनका लागि पछिल्ला सफ्टवेयर अपडेट घोषणा हुनेछन् । जुनमा ओपनएआईका साम अल्टम्यानकै उपस्थितिमा एप्पलले आफ्ना उत्पादन र सेवाहरूमा ओपनएआईका उत्पादन र फिचरहरू उपलब्ध गराउँदै लाने घोषणा गरिएकाले पनि आगामी एप्पल इभेन्टलाई लिएर प्रविधिबारे चासो राख्नेहरू बढी उत्सुक छन् ।

सन् २०२२ मा १६ प्रतिशतबाट बढाएर सन् २०२३ मा विश्वको स्मार्टफोन बजारको झन्डै २० प्रतिशत र उच्च स्थान हासिल गरेको एप्पलका लागि प्रमुख बजारहरूमा बढ्दै गरेका समस्याले चुनौती थपेको छ ।

चीन लगायत देशका कारण आपूर्ति संयन्त्रमा परेको प्रभाव, हुवावे, सामसङजस्ता कम्पनीसँगको उच्च प्रतिस्पर्धासँगै विभिन्न ठूला कम्पनीसँग एआईमा उन्नतिका लागि गर्नुपर्ने होडले आफ्ना आगामी उत्पादनलाई एप्पलले कस्तोखाले नवीनतम मोड दिन्छ भन्ने हेर्नलायक विषय हुने वाल स्ट्रिट जर्नलले लेखेको छ । कम्पनीका चर्चित प्रमुख स्टिभ जब्सकै समयदेखि बजारमा ट्रेन्ड स्थापित गर्ने किसिमका उत्पादनहरू निकाल्ने हुनाले पनि यो वार्षिक कार्यक्रममा धेरैको चासो रहने गर्छ ।

प्रकाशित : भाद्र ११, २०८१ १०:५१
x
×