कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

मुग्लिन–आँबुखैरेनी सडकको ठेक्कामा ढिलाइ

भाद्र ७, २०८१
मुग्लिन–आँबुखैरेनी सडकको ठेक्कामा ढिलाइ

Highlights

  • – आगामी पुस दोस्रो साताभित्र ठेक्का आह्वान गर्ने तयारी
  • – आँबुखैरेनी–जामुने–पोखरा खण्डमा स्तरोन्नतिको काम भए पनि प्रगति न्यून

काठमाडौँ — मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक साँघुरो छ । तर सवारी चाप भने उच्च छ । अत्यधिक सवारी चाप हुने पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखराको यो खण्डमा आँबुखैरेनीबाट मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ । मुग्लिन–आँबुखैरेनी खण्डमा अझै ठेक्का हुन सकेको छैन ।

साँघुरो सडकले गर्दा दुर्घटनाको जोखिम भने उच्च छ । साढे ८ किलोमिटरमा अझै ठेक्का व्यवस्थापन भएको छैन । पारिपट्टिबाट सडक निर्माण ठेक्का प्रक्रिया अघि बढाउने गरी तयारी गरिरहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए ।

‘खरिद योजना बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पहिला गरेको भएन । फेरि तयार पारेर वन तथा वातावरण मन्त्रालयमा पठाएका छौं ।’ वनबाट ईआईए पास हुनेबित्तिकै अर्थ मन्त्रालयमा जानकारी गराएर पुस दोस्रो सातासम्म ठेक्का आह्वान गर्ने तयारीमा रहेको उनले सुनाए । ‘पहिला मुग्लिनबाट चार सय मिटर कुरिनटारतर्फबाट पारिपट्टि हुँदै सडक बनाउने गरी ईआईए रिपोर्ट तयार पारिएको थियो, मुग्लिन बजारबासीहरूले यसको विरोध गरे,’ उनले भने, ‘मुग्लिन बजार तलतिर सडक डिभिजनकै जग्गा रहेछ, कसैको घरजग्गा नपर्ने भएकाले समस्या भएन, यहीँ पक्की पुल निर्माण गरी पारिबाट सडक बनाउने तयारीमा छौं ।’ त्यसका लागि पहिलाको ईआईए पनि सुधार गरिएको र दूरी पनि घटेको ढकालको भनाइ छ ।

वारिपट्टि बाटो साँघुरो, चट्टान धेरै र मर्स्याङ्दी पावरहाउस रहेकाले त्यहाँ नजिकै निस्कने गरी पारिबाट सडक बनाउन लागिएको हो । विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार यसको निर्माण लागत ५ अर्ब ३ करोड रुपैयाँ लाग्ने अनुमान छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यसको निर्माण गरिनेछ । मर्स्याङ्दी पावरहाउस र जटिल भौगोलिक बनोटले गर्दा वारितर्फ नयाँ सडक बनाइने छैन । मर्मत र सुधार गर्नुपर्ने ठाउँमा मात्र काम गरिने ढकालले बताए । मर्स्याङ्दी पावरहाउसबाट चार सय मिटर पर मर्स्याङ्दी नदीमाथि वारिको सडकलाई जोड्न पक्की पुल निर्माण गरिनेछ । र पारि दुई लेन सडक निर्माण गरिनेछ ।

आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गर्दै एडीबीको ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । आर्थिक वर्ष ०७७/७८ मा यसको ठेक्का भएको हो । आँबुखैरेनीदेखि पोखरासम्मको दूरी ८०.३३ किमि छ । अहिले पूर्वी खण्डमा बर्खाले गर्दा धेरै काम हुन नसकेको प्रमुख ढकालले जनाए । ‘यो खण्डको समग्रमा प्रगति राम्रै छ,’ उनले भने, ‘बर्खापछि प्रगति बढ्ने गरी थप काम हुनेछ ।’ आँबुखैरेनी–पोखरा सडक विस्तारमा अहिलेसम्म समग्र भौतिक प्रगति ४८ प्रतिशत भएको छ ।

यही खण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकभन्दा करिब ५० मिटर माथिबाट बुधबार बेलुकी पहिरो खसेर यातायात ठप्प बन्न पुग्यो । पहिरो खसेको २४ घण्टापछि बिहीबार साँझबाट एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको ढकालले जनाए ।

आँबुखैरेनी–जामुने खण्डमा ६५ प्रतिशत र जामुने–पोखरा खण्डमा अहिलेसम्म ३० प्रतिशत निर्माण प्रगति छ । आँबुखैरेनी–जामुने खण्डको सुरु म्याद ०८१ वैशाखसम्म थियो । अहिले म्याद थप गरेर असोजसम्म पुर्‍याइएको छ । जामुने–पोखरा खण्डको म्याद ०८१ भदौ १२ सम्म मात्र छ । ‘यो खण्डको म्याद सकिन लागेकाले थप्ने निर्णय भएको छ,’ उनले भने, ‘निर्माण व्यवसायीले ०८२ पुससम्म म्याद थप माग गरेको छ, तर हामीले छिटो काम सक्ने सर्तसहित ३ महिना ११ दिन थप गर्ने निर्णय गरेका छौं ।’

पहिलो खण्डको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको हो । यसको दूरी ४१.४५ किमि छ । दोस्रो खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । आयोजना प्रमुख ढकालका अनुसार कुल दूरी ८०.३३ किमिमध्ये ३२ किमि ४ लेन, २१ किमि दुई लेनमा कालोपत्र भएको छ । उक्त सडक ६०.२४ किमि दुई लेन, २०.०९ किमि ४ लेनसहित दुईतर्फ गरेर ६/६ लेनको सर्भिस लेन बन्नेछ । २९ वटा पुल, २ सय ८१ वटा कल्भर्ट, नालालगायतका संरचना निर्माण गरिने आयोजनाले जनायो ।

पहिलो खण्डको ६ अर्ब २१ करोड ३१ लाख र दोस्रो खण्डको ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का भएको हो । दुवै खण्डको ठेक्का रकम भने १३ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ छ । सडकलाई ४ देखि ६ लेनमा स्तरोन्नति गर्न र ७ ठूला तथा २२ साना पक्की पुल निर्माण गर्ने गरी ठेक्का लगाइएको हो ।

प्रकाशित : भाद्र ७, २०८१ २२:४३
x
×