कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

नेप्सेमा ८ अंकको ‘करेक्सन’, साढे २१ अर्बको सेयर किनबेच

श्रावण २९, २०८१
नेप्सेमा ८ अंकको ‘करेक्सन’, साढे २१ अर्बको सेयर किनबेच

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ८.१८ अंकले घटेर २ हजार ९ सय २३.४६ अंकमा बन्द भएको छ । अघिल्ला कारोबार भएका चार दिनमा करिब २८० अंकले बढिसकेको नेप्सेमा मंगलबार एकल अंकले करेक्सन भएको हो ।

मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घट्यो, बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । उक्त दिन २ हजार ६ सय ६५ वटा कारोबारबाट ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा, सामूहिक लगानी कोष र अन्यको परिसूचक घटे । बाँकी बैंकिङ, वित्त कम्पनी, लगानी, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढे ।

निर्जीवन बिमाको परिसूचक सबैभन्दा धेरै १ सय ४५.६७ अंकले र सबैभन्दा कम सामूहिक लगानी कोषको ०.०१ अंकले घटे । यस्तै जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ७९.७३ अंक र लगानीको सबैभन्दा कम ०.०९ अंकले बढे ।

प्रकाशित : श्रावण २९, २०८१ १५:३१
×