काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले देशको कुल विद्युत् जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको जनाएको छ । शुक्रबार दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कुलमान घिसिङले प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजनाहरु गरी कुल जडित क्षमता ३१ सय ५७ मेगावाट पुगेको बताएका हुन् ।
विगत आठ वर्षमा मात्रै २ हजार ३ सय मेगावाट थप गरिएको प्राधिकरणले जनाएको छ । घिसिङले विगत ३ वर्षमा १७ सय ६ मेगावाट थपिएको बताएका हुन् । ‘विद्युत् जडित क्षमतामा सबैभन्दा बढी ९५ प्रतिशत अर्थात २९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै छ,’ घिसिङले भने, ‘थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास उर्जा ६ मेगावाट छ ।’
आठ वर्षअघिसम्म विभिन्न कारणले ठप्प रहेको निजी क्षेत्रका विद्युत आयोजनाहरुसँगको विद्युत खरिद बिक्री सम्झौता (पीपीए)लाई खुल्ला गरी जलाशययुक्त, पिकिङ रन अफ रिभर, रन अफ द रिभर र सौर्य ऊर्जाका लागि छुट्टाछुट्टै दर तय गरिएको प्राधिकरणले जनाएको छ । पछिल्लो समय नेपालको जलविद्युत्मा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको समेत घिसिङले बताए ।
‘आठ वर्ष अघि २८ सय मेगावाटको मात्र विद्युत खरिद सम्झौता गरिएको थियो, निजी क्षेत्रका आयोजनाहरुलाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण अहिले १० हजार ३ सय मेगावाट भन्दा बढीको विद्युत खरिद सम्झौता भइसक्यो,’ घिसिङले भने ।
सन् २०२८/२९ मा नेपालको जडित क्षमता झण्डै १० हजार मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ । ‘ती लक्ष्य पूरा गर्न करिब ७ हजार मेगावाटका आयोजनाहरु निर्माणका विभिन्न चरणमा छन्, थप करिब १० हजार मेगावाटका आयोजनाहरु विद्युत खरिद सम्झौताको प्रक्रियामा छन्,’ घिसिङले भने, ‘सौर्य विद्युत उत्पादनलाई प्राथमिकतामा राखी प्राधिकरणले थप ८०० मेगावाट सौर्य विद्युतको पिपिए गर्न बोलपत्र आहृवान गरेको छ ।’
पछिल्लो समय आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारणलाइन मात्र नभई विद्युत् उत्पादनमा पनि लगानी बढाएको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, रोलवालिङ २० मेगावाटका आयोजनाहरु निर्माणाधीन छन् ।
प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरु सञ्चालनको अन्तिम चरणमा छन् । चिलिमे जलविद्युत कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरु अगाडि बढाएको छ ।
प्राधिकरणका अनुसार ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौको निर्माण सुरु भएको छ । एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरु वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् ।
६८३ मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना नेपाल र बंगलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रुपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको छ ।
दैनिक माग र आपूर्ति बीचको उतारचढावलाई व्यवस्थापन गरी प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन देशका विभिन्न ठाउँमा करिब ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत आयोजनाहरुको पहिचान गरी केही उत्कृष्ट आयोजनाहरुको थप अध्ययन अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।