कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

राहतले धानिँदै मजदुर

वैशाख २, २०७७
राहतले धानिँदै मजदुर

Highlights

  • लकडाउनले काम ठप्प हुँदा विपन्न एवं मजदुरी गरेर छाक टार्नेहरूलाई यसले बढी सताएको छ

बुटवल — भुइँमा चामल, दाल, नुन, तेल र तरकारीका थुप्रा । कोहलपुर नगरपालिका–१२ दाउन्नाकी लालसरी बाटाले १५ किलो चामलको बोरा जुरुक्क उठाइन् । उनका कान्छा नातिले नुनको पोको टिपे । माइला नातिले दुई किलो मसुराको दाल समाए । साइला नातिको भागमा बन्दागोभी र आलु पर्‍यो । केही दिनअघि राहतमा खाद्यान्न प्राप्त गरेपछि लालसरीको परिवार खुसी थियो । राहत सामग्री बोकेर हजुरआमासँग लुटपुटिँदै घर फर्किए । उनीहरू चामल देखेर दंग थिए । कान्छा नाति कालेले बज्यैको मुख हेर्दै भने, ‘आमै आज भात पकाऊ है ।’

उनीहरूको भान्सामा केही दिनदेखि भात पाकेको थिएन । गहुँका रोटीले लकडाउन कटाइरहेका उनीहरू चामल पाउँदा हर्षित देखिए । आफ्ना दुई छोरी र तिनका सन्तान गरी सात जनाको परिवार पाल्दै आएकी लालसरी एकल हुन् । श्रीमान्को एक दशकअघि मृत्यु भइसकेको छ । एक्लै ज्याला मजदुरी गरेर परिवार धान्दै आएकी थिइन् । लकडाउनपछि आम्दानी ठप्प भयो । लकडाउका लागि उनले २० किलो चामल, तीन किलो दाल जोडेकी थिइन् । तर उक्त खाद्यान्न एक साता पनि टिकेन । पसलबाट उधारोमा पिठो ल्याएर तीन दिन कटाइन् । लामो अवधिको लकडाउनले उनी जस्ता यहाँका मजदुर मर्कामा परेका छन् । काम नगरी चुलो बल्दैन ।


कोहलपुर–११ स्थित एकीकृत बस्तीका गन्धर्व लकडाउनमा बेखर्ची बनेका छन् । सारंगी रेट्दै जीविकोपार्जन गरिरहेका गन्धर्व घरमै बस्न बाध्य छन् । ‘सारंगी थन्कियो, पेट कसरी पाल्ने,’ ६८ वर्षीय वीरबहादुर गन्धर्वले भने, ‘जति लकडाउन बढ्यो, उति गाह्रो हुन्छ ।’ समस्यामा परेपछि मंगलबार उक्त बस्तीका २५ घरलाई खाद्यान्न वितरण गरियो । कोहलपुर–११ का वडाध्यक्ष कर्णबहादुर थापाले सबैभन्दा संकटमा गन्धर्व समुदाय परेको बताए ।

दैनिक ज्याला मजदुरी गर्नेलाई समस्या भएपछि पाल्पामा पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाका १० स्थानीय तहले मापदण्ड बनाएर राहत दिएका हुन् । ज्याला मजदुरी गर्ने, घरमा अन्नको जाहो गर्न नसक्ने परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको स्थानीय तहले जनाएका छन् । तानसेन नगरपालिकामा १ हजार २ सय ७० र रामपुर नगरपालिकामा १ हजार ६६ जनालाई राहत वितरण गरिएको छ ।


निस्दी गाउँपालिकामा ३ सय ३२, रैनादेवी छहरामा तीन सय, रम्भामा १ सय ६०, पूर्वखोलामा २ सय ४९, माथागढीमा ६ सय परिवारले राहत पाएका छन् । तिनाउले ३ सय ८५, बगनासकालीले ३ सय ८० र रिब्दीकोटले २ सय ८ परिवारलाई राहत वितरण गरेको छ ।

विभिन्न वडाका २ सय ८४ परिवारका साथै ४८ जना सडक तथा भौतिक निर्माणका क्रममा अलपत्र परेकालाई समेत राहत वितरण गरिएको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान् अर्यालले जानकारी दिए । कामदारलाई चामल, दाल, नुन, तेल, साबुन, जिरा दिइएको छ । सामाजिक दूरी कायम गरी गाउँपालिकाले वडा कार्यालयको समन्वयमा वडावडाबाट राहत वितरण गरिएको अध्यक्ष मुक्तबहादुर सारूले बताए । माथागढीमा अति विपन्न श्रमिक, अपांगता भएका र संरक्षक नभएका ७० वर्ष माथिका ज्येष्ठ नागरिकको लगत संकलन गरी खाद्य सामग्री वितरण गरिएको अध्यक्ष सन्तोष थापाको भनाइ छ ।


पूर्वखोला गाउँपालिकाले लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भनी राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले बताए । ‘कोही विपन्न परिवार नदोहोरियोस् र नछुटोस् भनेर वडागत रूपमा तथ्यांक संकलन गरिएको छ,’ उनले भने, ‘प्रत्येक वडा कार्यालयले राहतस्वरूप खाद्यान्न वितरणका लागि वडाको पायक पर्ने पसलका लागि कुपन दिएको छ ।’ गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार परिवारमा सात जनाभन्दा बढी सदस्य छन् भने ३० केजी चामल, तीन केजी दाल, दुई लिटर तेल, दुई पोका नुन र चार वटा साबुन दिइएको छ । राहत लिन आउँदा दुई मिटरको दूरी कायम गरी पसलबाट खाद्यान्न लिने दिने व्यवस्था मिलाइएको उनले बताए । रामपुर नगरपालिकाले टोलटोलमा पुगेर खाद्यान्न वितरण गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

लकडाउनको अवधि थपिएपछि रोल्पाका स्थानीय तहले विपन्न र मजदुरलाई खाद्यान्न वितरण गर्न थालेका छन् । उनीहरूले मजदुर र विपन्नलाई एक सातासम्म खान पुग्ने चामल, दाल र नुन बाँडेका हुन् । रोल्पा नगरपालिकाले नगरभित्रका १० वटै वडाका विपन्न र मजदुरलाई मंगलबारदेखि खाद्यान्न वितरण थालेको हो । हरेक व्यक्तिलाई तीन किलो चामल र दाल बाँडिएको नगर प्रमुख पूर्ण केसीले बताए ।


सबै वडामा रहेका विपन्न र मजदुरको पहिचान गरेर खाद्यान्न बाँड्न थालिएको उनले जानकारी दिए । नगरले अति विपन्न, मजदुर र गरिबलाई लकडाउनका बेला आपत् नपरोस् भनेर खाद्यान्न बाँड्न थालेको रोल्पा–४ का वडाध्यक्ष नवराज आचार्यले बताए । ‘अति विपन्न परिवारलाई मुख्य प्राथमिकता दिएका छौं । उनीहरूको चुलो ननिभोस् भन्ने ठानेका छौं ।’

रोल्पा सदरमुकाम रहेको यस वडामा धेरै विपन्न र मजदुर छन् । लिबाङ बजार यसैमा पर्छ । जिल्ला विपद् समिति, सुरक्षा समिति र सर्वपक्षीय बैठकहरूमा समेत विपन्नलाई खाद्यान्न बाँड्न आवश्यक भएकोबारे छलफल भएपछि नगरले विपन्न र गरिबलाई खाद्यान्न बाँड्ने निर्णय गरेको हो । नगरले विपन्नको पहिचान गर्न जनप्रतिनिधिका अतिरिक्त दलका नेता, आमा समूहका सदस्य र स्थानीय भद्रभलाद्मीबीच बैठक गरेको थियो । सबै वडाका मजदुर र विपन्न परिवारको पहिचान गर्दा निश्चित मापदण्ड बनाइएको नगर प्रमुख केसीले बताए । पहिलो चरणमा केही मात्रामा चामल, नुन, तेल र दाल दिए पनि पछिसम्म बिर्सन नहुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको भनाइ छ ।


वितरणमै समस्या


बर्दियामा हुनेखानेको नाम राहत लिनेको सूचीमा परेपछि वितरणको काम रोकिएको छ । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले निराश हुँदै सामाजिक सञ्जालमा स्टाटस लेखे, ‘राहत प्राप्तिका लागि आकांक्षी धेरै भएका कारण बढैयाताल गाउँपालिका–३ र ४ मा वितरण कार्य रोकिएको हो । साँझ–बिहानको चुलो निभेकाहरू अहिले मर्कामा परेका छन् । सबैको सहयोगको अपेक्षासहित राहत लिनेको सूची तयार गर्न वडाध्यक्षहरूलाई जिम्मा दिइएको थियो । तर दुई छाक सहजै खान पुग्नेहरूले विरोध जनाए । जसका कारण साँझ–बिहान चुलो बाल्न समस्या भइरहेका परिवार अन्यायमा परेका छन् ।’

एउटै वडाबाट दुई–चार सय परिवारले राहत मागेपछि स्थानीय सरकारलाई राहत वितरणमा समस्या परेको हो । विवाद नभएपछि उक्त पालिकाको वडा ७ र ५ मा भने राहत वितरण भइसकेको छ । ‘हाम्रो उद्देश्य भनेको अहिले दुई छाक खान चुलो बाल्न नसक्ने परिवारका लागि राहत बाँडिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘तर थुप्रै राहत लिन उभिए । यसले पाउनुपर्ने परिवारले पनि राहत पाउन सकेनन् ।’ अति विपन्न परिवारलाई २५ किलो चामल, दुई किलो दाल, आलु, नुन र एक लिटर तेल सहयोग गरिएको उनले बताए ।


बाँसगढी नगरपालिका–४ मा राहत लिनका लागि चार सय परिवारको नाम पुगेपछि वितरणमा विवाद भएको हो । एउटै वडामा यतिको संख्या देखिएपछि नगरपालिकालाई राहत वितरणमा समस्या भएको हो । अन्य वडामा पनि उस्तै समस्या छ । एउटा वडाबाट ३०/४० परिवार दुई छाक चुलो बाल्न नसक्ने अवस्थाका रहेको अनुमान गरिएको थियो । वडाध्यक्षलाई घरमै पुगेर पारिवारिक अवस्था बुझ्न भनिएको छ । ‘तर समस्या भने उल्झेको छ । राहत लिनका लागि धेरैले नाम लेखाइरहेका छन् । यस्तो अवस्थामा राहत वितरणमा समस्या परेको हो,’ बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर खत्रीले भने, ‘वडाध्यक्षहरूलाई वास्तविक विवरण लिएर राहत वितरण गर्न अनुरोध गरेका छौं । खान पुग्नेहरूको नाम हटाएर राहत वितरण हुन्छ ।’

अन्य वडामा पनि हुनेखानेहरूले पनि राहत लिन नाम लेखाएको उनको भनाइ छ । ठाकुरबाबा नगरपालिकामा पनि राहत वितरणमा उस्तै समस्या छ । आवश्यकभन्दा बढीले नाम लेखाउँदा विपन्न परिवार समस्या परेका छन् । वडा २ मा विवादका कारण राहत वितरण गर्न नसकिएको नगरपालिका प्रमुख घननारायण श्रेष्ठले बताए । वडाध्यक्षलाई वास्तविक विपन्न छनोट गर्न दिएको उनले जनाए । ‘घरभित्रै पुगेर खाद्यान्नको अवस्था के छ बुझ्न भनेका छौं,’ उनले भने । अन्य वडामा पनि राहतका लागि विवाद भए पनि अहिले सुल्झिएको छ । बारबर्दिया नगरपालिकाले एउटा वडामा ३० देखि ७० परिवारलाई राहत वितरण गरिरहेको छ ।


राहतमा ढिलाइ


नेपालगन्ज उपमहानगर–१२ मुस्लिम टोलकी सुधामा बाडिया राहत लिन वडा कार्यालय पुगिन् । बिहान् दुई घण्टा पर्खेर पनि उनले राहत पाइनन् । राहतका लागि वडा कार्यालय पुग्नु अनि रित्तो हात फर्कनु उनको दैनिकी बनेको छ । पतिको मृत्युपछि एक स्कुलमा सहयोगीको काम गरिरहेकी उनी स्कुल बन्द भएपछि काममा जान पाएकी छैनन् ।


‘छाक टार्न मुस्किल भयो,’ राहत थाप्न हातमा झोला बोकेर आएकी बाडियाले भनिन्, ‘गरिबको मर्का कसैले बुझेनन् ।’ उनका दुई छोरी छन् । उनीसँगै आएकी चाँदनी बाडियाको पनि उस्तै समस्या छ । पति कारागारमा छन् । उनी भेरी प्राविधिक शिक्षालयको क्यान्टिनमा काम गर्छिन् । लकडाउनका कारण क्यान्टिन बन्द छ । दुई छोरासँगै मुस्लिम टोलमा बस्दै आएकी उनलाई छोराहरूको भोक मेटाउन मुस्किल परेको छ ।

‘घरबाट बाहिर निस्कन पाइनँ । कसैले घरमा समेत काम गर्न दिँदैनन्,’ उनले भनिन्, ‘छोराहरूको भोक मेटाउन पनि मुस्किल छ ।’ उनीहरूसँगै वडाले राहत दिने भनेकाले वडा कार्यालयमा हूल बाँधेर महिलाहरू पुगेका थिए । ‘अरू वडामा राहत बाँडिए पनि यहाँ पाइएको छैन,’ पप्पु चिडीमारले भने, ‘थारै भए पनि केही राहत बाँड्नुपर्ने हो ।’ उनका अनुसार केही दिनयता राहतका लागि मान्छे आउने र फर्किने गरेका छन् । वडा कार्यालय छेउमा घर भएकी राजकुमारी कशौधनले राहत वितरणका लागि वडालाई भनिरहेको बताइन् ।


(बाँकेबाट मधु शाही, बर्दियाबाट ठाकुरसिंह थारू, नेपालगन्जबाट रूपा गहतराज, पाल्पाबाट माधव अर्याल र रोल्पाबाट काशीराम डाँगी)

प्रकाशित : वैशाख २, २०७७ ०९:००
x
×