धान्नै नसकिने पर्यटकको चाप

सूर्योदय र हिमाल हेर्नेको घुइँचो 
होटल र होमस्टे भरिए
विप्लव भट्टराई

(इलाम) — ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास हुँदै गएको अन्तुमा पर्यटकको चाप स्थानीयको अपेक्षाभन्दा धेरै हुन थालेको छ । झुल्केघाम दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।

पर्यटकीय क्षेत्रका होटल र होमस्टे खचाखच छन् । आउँदो मंसिरमा महोत्सव गर्ने अभियानमा लागेका अन्तुवासी पर्यटन वर्ष २०२० मा झन् पर्यटक बढ्ने भएकाले खाने वस्ने व्यवस्था मिलाउन अहिलेदेखि क्रियाशील देखिएका छन् ।


मौसममा सुधार आएसँगै अन्तुमा चाप बाक्लिएको छ । ५६ होमस्टे र ५ वटा होटलले मुस्किलले मात्र पाहुनाको व्यवस्थापन गरिरहेका छन् । ‘अहिलेको होमस्टे र होटलको क्षमताले करिब १ हजार ४ सय जना अटाउन सकिन्छ,’ स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले भने, ‘महोत्सव र भ्रमण वर्षमा पर्यटकको चाप अझै बढ्ने निश्चित भएकाले थप बासस्थानको व्यवस्था गरिरहेका छौं ।’


अन्तुपोखरी र अन्तुडाँडा नामक दुई सामुदायिक होमस्टे यहाँ सञ्चालित छन् । स्थानीयका अनुसार अब थप १ हजार ३ सय जना अटाउने बासस्थानको व्यवस्थाका लागि अरू घरहरू तयार परिँदै गरेको हो । डेढ दशकअघिदेखि व्यावासयिक पर्यटनको अभ्यासमा जुटेका अन्तुका बासिन्दाले आम्दानीको गतिलो स्रोतका रूपमा पर्यटन व्यवसायलाई स्थापित गरेका छन् ।


मेची राजमार्गको फिक्कलबाट नजिकको छिपिटारबाट सडक कालोपत्रे भएसँगै धेरैको गन्तव्यमा अन्तु परेको हो । आन्तरिक पर्यटकको घुइचो हुने यस क्षेत्रमा भारतीय र वंगाली पर्यटक पनि बढ्दै गएको अन्तु भन्ज्याङका व्यवसायी टेकबहादुर आलेले बताए ।


लोपन्मुख लेप्चा जातिको बसोबास, चिया बगानबीच फूलबारीले भरिएको चिटिक्क परेका काठे घरले पनि अन्तु पुग्नेहरूको ध्यान तान्ने गर्छ । फिक्कलबाट १३ किलोमिटर पूर्वमा रहेको अन्तु क्षेत्रमा गुफापातल, लेप्चाहरूको ऐतिहासिक थातथलो, नगदेबालीबाट सुधारिएको जीवनशैली जस्ता कारण पनि आगन्तुक बढ्दै गएका हुन् । वरिपरि चियाबारी रहेको अन्तुपोखरीको डुंगा सवारले त्यहाँ पुग्ने अधिकांश पर्यटकलाई लोभ्याउँछ ।

दसैंदेखि हिउँदयामभर अन्तु पर्यटनको सिजन मानिने गरे पनि अहिले १२ महिना नै धेरथोर संख्यामा पर्यटक पुग्ने क्रम छ । पर्यटकको संख्या धेरै हुने भएकाले कतिपय होमस्टे नम्सभन्दा फरक ढंगले चलेको आरोप पनि स्थानीयलाई लाग्ने गरेको छ । सुरिला सल्लाका रुखले भरिएको अन्तुडाँडाबाट बंगालको खाडीबाट निस्किए झैं लाग्ने घाम झुल्किएको दृश्य लोभलाग्दो देखिन्छ । अन्तु डाँडाबाट झुल्के घामसँगै नेपाल र भारतका अनेकौं स्थान र हिमालय दृश्यावलोकनका लागि भ्युटावर निर्माण गरिएको छ ।


सदरमुकाम क्षेत्रमा पनि घुम्न आउनेका कारण चहलपहल बढेको छ । मुलुककै पुरानो चिया बगान, पुरानो चिया कारखना, भ्युटावर र मठ मन्दिरमा पर्यटक पुग्ने गरेका छन् । ‘वर्षाको समयमा सुनसान बनेको यहाँका पर्यटकीय क्षेत्रमा अहिले बाक्लै गरी पर्यटक आउन थालेका छन्,’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले भने, ‘जिल्लाका अधिकांश पर्यटकीय क्षेत्रमा रहेका होटलहरू अहिले व्यस्त देखिएका छन् ।’


थुम्काथुम्का डाँडामा चियाबारीले सजिएको कन्याममा पनि पर्यटकको बाक्लो उपस्थिति छ । वनभोजका लागि प्रख्यात कन्याममा साथीसंगी बिदाको रमाइलो साट्नेदेखि पारिवारिक रूपमा चियाबारीको आनन्द लिन टाढाबाट पनि आउने गरेका छन् । रमणीय डाँडाकाँडाको दृश्यावलोकन र घोडचडीको आनन्दले आगन्तुक दंग पर्छन् । फिक्कल र पशुपतिनगर क्षेत्रमा पनि पर्यटकको बाक्लो उपस्थिति छ । इलामसँगै दार्जिलिङ र सिक्किम घुम्न जानेका कारण यी क्षेत्रमा चहलपहल बढेको हो ।


यहाँका होटल व्यवसायीसँगै इलामको कोसेली चिया, छुर्पी, ललिपपलगायतका सामग्री बिक्री गर्ने पसललाई पनि फाइदा पुगेको फिक्कलका युवराज प्रधानले बताए । कन्याम क्षेत्रलाई पार्किङ, व्यवसाय र घुमघामका लागि व्यवस्थित गर्दै लगिएकाले घुम्न आउनेका लागि सहजता थपिँदै गएको छ । हर्कटेदेखि फिक्कलसम्म दर्जनौं पर्यटक लक्षित होटल खोलिएकाले खानबस्नको समस्या नहुने गरेको व्यवसायीको भनाइ छ ।


उत्तरी सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि चहलपहल बढ्दो छ । सदरमुकामबाट १३ किलोमिटर उत्तरको माईपोखरीमा श्रद्धालुसँगै जैविक विविधतासँग रमाउनेको चहलपहल छ । रामसार क्षेत्रमा सूचीकृत माईपोखरी धार्मिक र जैविक विविधताका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ ।


जिल्लाकै अग्लो सन्दकपुर पुग्न चाहने पनि उत्तिकै छन् । भारतीय र पश्चिमा पर्यटकको बाक्लो भीड लाग्ने सन्दकपुरमा नेपाल भएर पनि जाने उत्तिकै छन् । माबु र माइमझुवा हुँदै सदरमुकामबाट करिब ४५ किलोमिटरको दूरीमा सन्दकपुर पुग्न सकिन्छ । त्यहाँबाट सगरमाथा, कञ्चनजंघासहित नेपाल, भारत र भुटानका दर्जनौं हिमाल देख्न सकिन्छ । झुल्केघाम दृश्यावलोकनका लागि पनि प्रख्यात मानिएको ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुरसम्म पैदल नै यात्रा गरेर आसपासका क्षेत्रमा रमाउनेहरू पनि धेरै छन् । सन्दकपुर गाउँपालिका क्षेत्रका ढापपोखरी, टोड्के झरना, छिन्टापु, माबुथाम, दोबाटे, कालपोखरी, जौबारी, मेघमा, तुम्लिङलगायत स्थानका ठाउँ पनि पर्यटकका रोजाइमा छन् ।


सदरमुकाम पश्चिमो सिद्धिथुम्का, माङमालुङ, गजुरमुखीधाम, माङसेबुङ, राँकेलगायत क्षेत्रमा पनि चहलपहल बढ्दो छ ।


यहाँका पर्यटकीय स्थलहरूसम्म पुग्ने सडक, खानेबस्ने व्यवस्था र टुर प्याकेजको अभावमा भने सोचेअनुसार गतिविधि फस्टाउन सकेको छैन । सदरमुकाम पश्चिमका पानीटार, गुफापातल, सिद्धिथुम्का, माङमालुङ, उत्तरका राँके, दिदीबहिनी झरनालगायत क्षेत्रमा पनि आन्तरिक पर्यटकहरू बाक्लिँदै गएको स्थानीय बताउँछन् ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:३५

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिया श्रमिक अभाव : पर्म र मेसिनले काम चलाइँदै

विप्लव भट्टराई

(इलाम) — चैतदेखि कात्तिकसम्म चिया टिप्ने काम हुन्छ । हिउँदमा बोट काँटछाँटमा लाग्नुपर्छ । जिल्लाका विभिन्न स्थानमा चिया बगान बढ्दै गएका छन् । यहाँबाट रोजगारी र पढाइका लागि विदेश जाने र गाउँ छाड्ने क्रम पनि उत्तिकै छ ।

बढ्दो बगान र घट्दो जनशक्तिका कारण नियमित चिया टिपेर कारखाना पुर्‍याउन कृषकलाई हम्मे पर्न थालेको छ । हरेक घरमा बगान भएकाले अर्काकोमा काम गर्न जाने फुर्सद कसैलाई छैन । जसरी भए पनि चियापत्ती समयमा टिप्नैपर्ने बाध्यता भएकाले चिया बगान धेरै भएका क्षेत्रका बासिन्दा अन्य काम छाडेर झिसमिसेदेखि अबेर रातिसम्म व्यस्त हुन्छन् ।

टिप्न मात्र नभएर मलखादको व्यवस्था, गोडमेल, काँटछाँटजस्ता काममा कृषकको व्यस्तता चुलिँदो छ । थोरै मेहनत गर्दा हुने अरू खेती छाडेर चियामा लागेका कृषक श्रमिकको अभाव र व्यस्तता बढेसँगै दिक्दारी पनि बढेको छ । कतिपय कृषकले कामदार नपाएकै कारण अर्कैलाई वयस्क भएको बगान अधियाँ दिएर बसेका छन् ।

विकल्प बन्दै चिया टिप्ने मेसिन
कामदार अभावबाट मुक्ति पाउन कतिपय कृषकले २० हजारदेखि १ लाख रुपैयाँसम्म खर्चेर मेसिनको प्रयोग बढाएका छन् ।

सूर्योदय नगरपालिका–३ जिल्लाका हेमन्त आचार्यले मेसिन खरिद गरेर चिया टिप्न थालेको ५ वर्ष भयो । उति बेला ४० हजारमा किनेको मेसिनले अहिलेसम्म काम चलाएका छन् । श्रमिक अभावले पत्ती छिप्याउनु नपर्ने भएकाले आफ्नो बगानसहित छरछिमकेको बगानमा पनि चिया टिप्न उनी भ्याउँछन् ।

दैनिक औसत २ सय किलो चिया मेसिनको प्रयोगले टिप्न सकिने उनको अनुभव छ । मेसिन चलाउनेसहित पत्ती लाई बटुलेर थन्क्याउन २ जना आवश्यक हुन्छ । हातले पत्ती टिप्दा १ जनाले मुस्किलले ३० किलोसम्म जम्मा गर्छन् । ‘मेसिन नहुने हो भने बगान मासेर वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘मेरो गाउँमा मात्र २० वटाभन्दा धेरै मेसिन भित्रिएको भए पनि सबैलाई कामको हर्जा छैन ।’ दिनभर चिया टिप्दा १ लिटर तेल खपत हुन्छ ।

श्रमिकलाई दिने पारिश्रमिकभन्दा सस्तो पर्ने भएकाले पनि मेसिनको प्रयोग बढेको हो । यो मेसिनले कटिङ ब्लेड परिवर्तन गरेपछि काँटछाँटमा पनि सहज भएको छ । हातले हँसिया र सिक्कलको भरमा काँटछाँट गर्दा लाग्ने मेहनत र खर्चको हिसाब गर्दा निकै सहज छ ।

मेसिनको प्रयोग गर्न सबै कृषकलाई सजिलो भने छैन । मेसिन चल्दा आउने भाइब्रेसन र आवज थेग्न दुब्लो–पातलोलाई निकै कठिन हुने प्रयोगकर्ता बताउँछन् । श्रमिकको अभाव टार्नुपर्ने बाध्यता भएपछि कष्ट झेलेर पनि मेसिन चलाउनुपरेको प्रयोगकर्ताहरूको भनाइ छ । नियमित रूपमा मेसिनको प्रयोगले पत्ती टिप्दा उत्पादन र गुणस्तरमा असर नपर्ने उनीहरूको भनाइ छ । मेसिनको प्रयोग उपयुक्त नहुने कतिपय विज्ञको भनाइ छ । श्रमिक अभाव टार्नकै लागि हरेक जसो बगानमा भित्रँदै गएको मेसिनले मान्छेले जस्तो टिपाइ नहुने उनीहरूको तर्क छ । तर, नियमित प्रयोगकर्ता भने असर नहुने दाबी गर्दै आएका छन् । पत्तीलाई धेरै ठूलो हुन नदिई ठीक समयमा टिप्न दिने हो भने कुनै समस्या नहुने अन्तुका कृषक शिशिर आचार्यको अनुभव छ ।

चिया बगान धेरै भएका क्षेत्रमा मेसिनवालाले फुर्सद पाउँदैनन् । आफ्नोसँगै छरछिमेकको पत्ती टिप्न पनि उनीहरूले सघाउने गरेका छन् । श्रमिकलाई पत्ती टिप्न लगाउँदा प्रतिकिलो १० देखि १२ रुपैयाँ तिर्नुपर्छ । तर, यति रकम दिँदा पनि श्रमिक पाउन मुस्किल छ । मेसिनले प्रतिकिलो १५ रुपैयाँसम्म लिने गरेका छन् ।

धेरै कृषकले निजी लगानीमा नै मेसिन खरिद गरेका छन् । केही क्षेत्रमा भने वित्तीय संस्थाहरूले ऋणसमेत व्यवस्था गर्ने गरेका छन् ।

चिया खेती सुरु भएको डेढ सय वर्षपछि भित्रिएको चिया टिप्ने र काँटछाँट गर्ने मेसिनको प्रयोगले कृषकलाई श्रमिकको विकल्प प्रदान गरेको हो । पानी झरीमा चाहिँ यो मेसिनको प्रयोग कठिन रहेको प्रयोगकर्ता बताउँछन् । बर्खायाममा धेरै पत्ती पलाउने भएकाले नियमित वर्षा हुँदा चाहिँ निकै समस्या झेल्नुपर्ने उनीहरूको भनाइ छ ।

चिया टिप्ने मेसिन (टी प्लकर) छिटो काम गर्ने, कम खर्च लाग्ने र मान्छे खोजिरहनु नपर्ने भएकाले कृषकले महँगो खर्च गरेर पनि प्रयोगमा ल्याएका हुन् । निगमअन्तर्गतका कारखानाले पनि मेसिनको प्रयोग गर्ने गरेका छन् । श्रमिक घट्दै गएकाले समयमा टिप्न नभ्याउँदा मेसिनको प्रयोग ठूला बगान हुने कम्पनीलाई पनि अनिवार्य भएको हो । मेसिनलाई सहीँ ढंगले चलाउन नजान्दा भने पत्तीमा समस्या आउने गरेको कृषकको बुझाइ छ । मेसिनले टिप्दा डाँक्ला धेरै आउने समस्या देखिएको चिया कारखानाले गुनासो गर्ने गरेका छन् । बर्सेनि मेसिन खरिद गर्ने कृषक थपिँदै गएका छन् । सुक्खायाममा चिया काँटछाँट गर्न प्रयोग गरिने टी स्किपर पनि प्रभावकारी रहेको कृषकको अनुभव छ । धारिलो हतियारको प्रयोगभन्दा मेसिनले काटेको बगान राम्ररी पलाउने र लेभल पनि मिल्ने गरेको कृषक बताउँछन् ।

अर्मपर्म कायमै
चिया टिप्ने श्रमिक घटेसँगै मेसिन नभएका क्षेत्रमा अर्मपर्मले काम चलाउनुपर्ने बाध्यतामा कृषक छन् । अन्य खेतीबालीमा अर्मपर्म हट्दै गएको बेला चिया टिपाइमा भने यो अनिवार्य जस्तै बनेको छ । ‘हाम्रो टोलमा नै चिया टिप्ने मेसिन चलाउन सक्ने जनशक्ति छैन,’ अन्तुका कमल घिमिरेले भने, ‘हातैले टिप्ने विकल्प नभएकाले अर्मपर्मको विकल्प छैन ।

६/७ घरको समूह बनाएर आलोपालो दिनैपिच्छे चियापत्ती टिपाइ गर्ने चलन कृषकहरूको छ । गाउँमा चलेको दरभन्दा बढी दिँदा पनि श्रमिक नपाउने भएकाले घरका सबै सिजनभर चिया टिप्न व्यस्त हुने गरेका छन् । सीमावर्ती पूर्वी गाउँका कृषक दशकअघि चिया टिप्न सीमापारि ओकाइटी, थर्बुलगायतका बगानमा पुग्थे । नेपालतर्फ घरैपिच्छे बगान भएपछि फुर्सद पाए भने सीमापारिका यता चिया टिप्न आउने गर्छन् । बगान विस्तार बढेसँगै काम गर्ने जनशक्ति नहुँदा ठूला बगान हुनेलाई धेरै समस्या छ ।

कतिपय कृषकले बाहिरी क्षेत्रबाट परिवारलाई बस्ने व्यवस्था गरिदिएर जागिरसरह काम दिने गरेका छन् । बगानलाई हुर्कन नदिन र निरन्तर आम्दानीको बाटोलाई कायम राख्न कतिपय कृषकले आलोपालो गरेर पत्ती टिप्ने विधिलाई नै पछ्याएका छन् ।

विद्यार्थी पनि चिया टिपाइमा
करफोक विद्या मन्दिर पुग्दा नगरपालिका क्षेत्रका विद्यालयहरूबीच हाजिरीजवाफ प्रतियोगिता भइरहेको थियो । प्रतियोगिता चलिरहँदा विद्यार्थीको चाप भने कम देखियो । पढाइ नहुने बुझेपछि ठूला कक्षाका धेरै विद्यार्थी गयल भएछन् । अभिभावकलाई चिया टिप्न सघाउनकै लागि धेरै विद्यार्थीहरू निरन्तर उपस्थित नहुने गरेको विद्यालयको भनाइ थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने बुझेपछि विद्यार्थी नै नआउने गरेको पुरानो चलन अझै कायम रहेको शिक्षकहरू बताउँदै थिए ।

‘सूर्योदय नगरपालिकाले विद्यालयहरूमा विद्युतीय हाजिरीको व्यवस्था गरेपछि शिक्षकको उपस्थिति नियमित छ,’ करफोक माविका शिक्षक सुवास राईले भने, ‘तर, विद्यार्थी अनिवार्य गराउने उपाय नभएकाले धेरै विद्यार्थीहरू चिया टिप्न जान्छन् ।’ उनको भनाइमा कक्षा ६ माथिका विद्यार्थीहरू चिया बगनमा व्यस्त हुने गरेका हुन् । अन्तु, समालबुङ, बौद्धधाम, कन्यामलगायत क्षेत्रमा विद्यार्थीहरू चिया टिप्ने कामममा लाग्ने गरेका छन् । धेरै विद्यार्थीले बिदाको समयमा चिया टिपेर नै अतिरिक्त खर्चको व्यवस्था मिलाउने गर्छन् ।



प्रकाशित : कार्तिक ३, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×