३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धुमधामको घुमघाम

चाडपर्व आउनासाथ परिवार मिलेर घुम्न जाने लहर चलेको छ । खर्च गर्ने क्षमता बाह्य पर्यटकको तुलनामा आन्तरिकको बढी छ । यो बेला मौसम सफा हुन्छ । पर्यटकीय गन्तव्यहरू मनमोहक देखिन्छन् । घुम्नेहरूका लागि यो समय उपयुक्त मानिन्छ ।
विमल खतिवडा

काठमाडौँ — जाजरकोट खलंगाकी कृतिका शाह दसैं मनाउन शुक्रबार घर पुगिन् । उनलाई दसैंभन्दा हतारो घुम्नका लागि भएको छ । योपटक उनले दसैंलगत्तै परिवारसहित डोल्पाको से–फोक्सुण्डो ताल घुम्ने योजना बनाएकी छन् । ‘कहिले पुगौं जस्तो भइसकेको छ,’ उनले भनिन्, ‘योपटक बाबा–ममीलाई से–फोक्सुण्डो लगेर सरप्राइज दिन मन छ ।’

धुमधामको घुमघाम

गत वर्ष कास्कीको मादी पुगेकी उनी योपटक से–फोक्सुण्डो जाने योजना बनाउँदा दंग छिन् । ‘चाडबाडको बेला नयाँनयाँ ठाउँ घुम्न मन लाग्छ,’ शाहले भनिन्, ‘जसले घुम्छ, उसले नेपाल कति सुन्दर छ भनेर अवश्य थाहा पाउनेछ ।’ उनी नपुगेका पर्यटकीय ठाउँ सायद कमै होलान् । नयाँ ठाउँबारे थाहा पाउनासाथ उनी पुग्न हतारिन्छिन् । ‘घुम्न जान धेरै खर्च लाग्छ, यसमा समस्या छैन,’ उनले भनिन्, ‘सबै मिलेर घुम्न जाँदा एउटैलाई मात्र आर्थिक भार कम हुन्छ ।’

उनका अनुसार जाजरकोटबाट से–फोक्सुण्डो ताल पुग्न तीन दिन लाग्छ । घुम्न प्रायः परिवारसँगै जाने गरेको उनले सुनाइन् । उनी मात्र होइन । चाडबाडको समयमा परिवारसँग घुम्न जानेको जमात केही वर्षयता बढ्दै गएको छ । कोही चाडबाडको समयमा त कोही भने चाडबाडलगत्तै घुम्न जाने गरेका छन् ।


अघिपछि भन्दा दसैंमा कार्यालय, कलेजमा छुट्टी बढी हुन्छ । नयाँनयाँ ठाउँमा घुम्न जानेको लर्को लाग्छ । चाडबाडको समयमा मुख्य पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको भीड देख्न पाइन्छ ।


अधिकांशको रोजाइमा लुम्बिनी, पोखरा, सौराहा, इलाम पर्ने गरेका छन् । यस्तै मुस्ताङ, मनाङ, रारा, लाङटाङ, सोलुलगायत ठाउँमा गाडी रिजर्भ गरेर जानेको कमी हुँदैन । यो बेला लस्कर लागेर ट्रेकिङ जाँदै गरेको दृश्य हेर्नलायक हुन्छ । पर्यटन व्यवसायीका अनुसार चार–पाँच वर्षयता पर्यटकीय गन्तव्यमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढेर गएको हो । दसैंपछि बाह्य पर्यटकको सिजन सुरु हुन्छ । अहिले पर्यटन व्यवसाय धान्ने आधार आन्तरिक पर्यटक बन्दै आएका छन् ।


लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार दसैंमा नेपाली नै धेरै लुम्बिनी घुम्न आउने गरेका छन् । ‘पहिला–पहिला नेपालीहरू दसैं भए पनि घरै बस्थे,’ उनले भने, ‘अहिले परिवर्तन भएका छन्, दसैंलाई घुम्ने चाड बनाउनेहरू धेरै छन् ।’ तर, विगत वर्षको तुलनामा अहिले लुम्बिनी घुम्न आउने कम छन् । ‘लुम्बिनीदेखि भैरहवासम्मको बाटाले गर्दा समस्या छ, निर्माण सुरु गरिएकाले बाटो लथालिंग बनेको छ,’ उनले भने, ‘त्यसैले पनि केही कम भएको हुन सक्छ ।’ चाडबाडलाई लक्षित गरेर होटल व्यवसायीले त्यस्तो अफर नल्याएको उनले सुनाए ।


‘नयाँ वर्ष र पर्यटन दिवसको समयमा छुट दिएका छौं,’ उनले भने, ‘तर, श्रीलंकन पाहुनाको बसाइ एकदमै कम भयो भनेर ४० प्रतिशत छुट दिने योजना बनाएका छौं । श्रीलंकन धेरै आउने भए पनि जुन दिन आयो, त्यही दिन फर्कने भएकाले बसाइ लम्ब्याउन यस्तो छुटको व्यवस्था गरेका हौं ।’ श्रीलंकनको सिजन फागुनबाट सुरु हुन्छ । लुम्बिनीमा सबैभन्दा बढी आउने पर्यटक श्रीलंकन नै हुन् । ‘घुम्न आएर बस्नेको संख्या १० प्रतिशत पनि भएन,’ उनले थपे, ‘किन बसेनन् भनेर तिहारपछि होटल व्यवसायीको टोली श्रीलंका जाने कुरा भएको छ ।’ लुम्बिनीमा ८० भन्दा बढी होटल छन् ।


‘नेपालीहरू पहिला एकदमै कम घुम्थे, सुरुमा हाम्रो पर्यटन बाह्य पर्यटकले नै धानिएको थियो,’ उनी भन्छन्, ‘अहिले पर्यटन धान्ने भनेकै नेपालीले हो, कुल पर्यटक आवागमनको ६० प्रतिशत नेपाली हुने गरेका छन् ।’ चाडपर्व आउनासाथ परिवार मिलेर घुम्न जाने नेपालीको लहर चलेको छ । खर्च गर्ने क्षमता बाह्य पर्यटकको तुलनामा आन्तरिकको बढी छ । यो बेला मौसम सफा हुन्छ । पर्यटकीय गन्तव्यहरू मनमोहक देखिन्छन् । घुम्नेहरूका लागि यो समय उपयुक्त मानिन्छ ।


पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन गत वर्षको तुलनामा अहिले आन्तरिक पर्यटकको आवागमन केही कम भएको सुनाउँछन् । तर, चहलपहल बिस्तारै बढ्दै गएको छ । त्यस्तै दसैं–तिहारलाई लक्षित गरेर होटल व्यवसायीले आआफ्नै तरिकारले छुटको व्यवस्था गरेका छन् । ‘प्रायः सबैले चाडबाडलाई लक्षित गरेर छुट अफर ल्याएका छन्,’ उनी भन्छन्, ‘अहिले आन्तरिक पर्यटकको मुख्य सिजन हो, दसैंअघि कम चहलपहल छ, दसैंलगत्तै चहलपहल बढ्नेछ ।’


दसैं–तिहारको बीचमा पर्यटक आवागमन वृद्धि हुने उनले दाबी गरे । गत वर्ष यो बेला आन्तरिक पर्यटकको भीड बढी थियो । समग्रमा अहिले पर्यटक आवागमन ३५ प्रतिशत रहेको उनले बताए । ‘पछिल्लो केही वर्षयता नेपालीहरू विदेश लक्षित हुन थालेका छन्, विदेश जान सस्तो पनि छ, त्यही भएर विदेश जान थालेर पनि कम भएको हुन सक्छ,’ उनी भन्छन्, ‘अर्को प्रतिकूल मौसमले गर्दा पनि पर्यटक आवागमन केही कम भएको हुन सक्छ ।’


बाह्य पर्यटक न्यून भएको बेला आन्तरिक पर्यटकले व्यवसाय धान्ने गरेका छन् । पोखरामा सबै गरेर होटलको संख्या ७ सय हाराहारी छ । होटलमा लगानी मात्र करिब ५ खर्ब छ । बेड संख्या ३० हजार र १८ हजारले रोजगार पाएका छन् । त्यस्तै सौराहामा शुक्रबारबाट आन्तरिक पर्यटकको चहपहल सुरु भएको छ । ‘पहिला–पहिला यो बेला आन्तरिक पर्यटकको भीड निकै देख्न पाइन्थ्यो,’ क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले भने, ‘तर, यो वर्ष केही कम छ ।’ उनका अनुसार आन्तरिक पर्यटकको संख्या बढेको छैन ।


‘केही समस्या वर्षात र सडकले गर्दा पनि भयो,’ उनले भने, ‘अर्को समस्या चितवनमा डेंगु लाग्छ भन्ने छ तर डर मान्नुपर्ने अवस्था छैन, सहज रूपमा सौराहा घुम्न आए हुन्छ, समस्या केही छैन ।’ जनआन्दोलनपछि सौराहा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो । ‘नारायणगढ–मुग्लिन सडक बन्दै गर्दा पनि राम्रै पर्यटक आएका थिए, दसैं–तिहारमा झन् बढी हुन्थे,’ उनले भने, ‘योपटक पर्यटक कम छन्, दसैं र तिहारको बीचमा बढ्ने अपेक्षा गरेका छौं ।’ सौराहाका प्रायः सबै होटलले दसैं–तिहारलाई लक्षित गर्दै खान र बस्नमा निश्चित प्रतिशत छुटको व्यवस्था गरेका छन् ।


नियमति १५ प्रतिशत छुट दिँदै आएका व्यवसायीले चाडबाडलाई लक्षित गरेर २० देखि ३० प्रतिशतसम्म छुट अफर दिएका छन् । चितवनमा १५० पर्यटकीय बासस्थानका होटल छन् । होटलमा १५ अर्ब लगानी रहेकामा सौराहामा मात्र ७ अर्ब लगानी पुगिसकेको छ । ५ हजारले प्रत्यक्ष रोजगार पाएका छन् । दसैंलगत्तै घुम्नेको जमात पछिल्लो समय बढ्दै गएको छ । मेघौली, कसरा पर्यटकको विशेष रोजाइमा पर्दै आएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?