कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अड्किएकालाई छिट्टै फर्काउनुपर्छ : राजदूत पाण्डे

वैशाख १९, २०७७
अड्किएकालाई छिट्टै फर्काउनुपर्छ : राजदूत पाण्डे

काठमाडौँ — कोभिड-१९ महामारीले सिर्जित संकटका कारण कम्पनीहरुले आप्रवासी कामदारको ड्युटी कटौती गरिरहेका छन् । समयमा तलब दिन छाडेका छन् ।
कतिपय कम्पनी बन्द हुन थालेका छन् । करार अवधि सकिएकाहरु घर फर्कन नपाएर बेखर्ची बन्न लागेका छन् ।

यसै विषयमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसँग होम कार्कीले गरेको कुराकानी :

मलेसियामा कार्यरत नेपालीको पछिल्लो अवस्थालाई दूतावासले कसरी हेरिरहेको छ ?

हामीले धेरै नेपालीलाई रोजगार दिने कम्पनीहरूसँग सम्पर्क गरी बदलिँदो स्थितिबारे बुझिरहेका छौं । नेपालीलाई सुरक्षित गरेर राख्न कम्पनीलाई अनुरोध गर्दै आएका छौं । सुरक्षा सेवा दिने कम्पनीको छाता संस्थाको नेतृत्वसँग कुरा गर्‍यौं । कुनै कम्पनीबाट रोजगारी गुमाएका नेपालीलाई कामदार चाहिने कम्पनीमा रोजगार दिनुपर्छ भन्नेतर्फ प्रयत्न गरिरहेका छौं । आइसकेको मान्छेलाई किन पठाउने ? यहीँ कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने नीति मलेसियाले ल्याउनुपर्छ ।

काम नदिएका कम्पनीले बेसिक तलब रोकेका छन् । कतिपयले खाना पनि दिएका छैनन् । उनीहरूका लागि दूतावासले के गरिरहेको छ ?

मलेसिया सरकारले आफ्ना नागरिकको हकमा केही राहत प्याकेज ल्याएको छ । विदेशीका लागि त्यस्तो केही छैन । व्यवसाय ठप्प भएका कम्पनीले सञ्चालनमा आएपछि तलब दिने भनिरहेका छन् । खाना नपाउने समस्यामा रहेकाको संख्या ठूलो छैन । तलब र खाना रोक्नेलाई फोन गरेर रिलिज गराइँदै छ । केहीले आंशिक रूपमा दिन्छौं र खुलेपछि पूरा दिन्छौं भनेका छन् । पूरै रोके भने कानुनी कारबाहीमा जानुपर्छ । यो कामदारको गल्तीले भएको होइन । कामदारले काम गर्छु भनेका छन् । तलब काट्ने कुरा हुँदैन ।

कम्पनी बन्द हुने र कामदारलाई रोजगारीबाट निकाल्ने क्रम बढ्न थालेको हो ?

लकडाउन लम्बिँदै गयो भने रोजगारीबाट कामदार निकाल्ने क्रम बढ्छ । कतिपय कम्पनीले कामदारलाई घर जान बिदा दिने भनिसकेका छन् । हवाई टिकट पनि दिने र चाहिए फेरि बोलाउने उनीहरूको भनाइ छ । कम्पनीहरूले सरकारबाट सहयोग पाए मात्र पुनः सञ्चालन गर्ने भनिरहेका छन् ।

कम्पनीमा कामदार कोभिड-१९ संक्रमणबाट कतिको सुरक्षित छन् ?

सुरुसुरुमा असुरक्षित भइयो भनेर दूतावासमा धेरै उजुरी आयो । एउटा कोठामा कोचिएर राखेको भन्ने आयो । हामीले कम्पनीमा कुरा गरेपछि सुधार भयो । अहिले त्यस्तो गुनासो कम छ । करार अवधि सकिएर नेपाल फर्कन नपाएका कामदारले नेपाल पठाइदिए हुन्थ्यो भनिरहेका छन् ।

उनीहरूको गुनासो सुनुवाइमा के पहल हुँदै छ ?

हामीले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर करार अवधि सकिएका नेपालीलाई तुरुन्त देश फर्किने वातावरण मिलाउन अनुरोध गरेका छौं । अन्य देशले आफ्ना नागरिकलाई खोजी खोजी लगिरहेका छन् । नेपालमा कोभिड-१९ को संक्रमण भयावह छैन । मलेसियामा पनि भयावह संक्रमण छैन । त्यसैले करार अवधि सकिएकालाई स्वास्थ्य परीक्षण गरेर लैजाँदा हुन्छ । काठमाडौंमा पनि जाँच गरौं । तर चाँडो गरौं । यहाँबाट कामदार लैजान विमान नै चार्टर गर्नुपर्दैन । कम्पनीले आफैं टिकट दिएको छ ।

मलेसियाबाट नेपालीलाई ठूलो संख्या पठाउनुपर्ने अवस्था आउने सम्भावना छ कि छैन ?

स्थिति लम्बियो भने कामदार पठाउनुपर्ने हुन्छ । कम्पनी टाट उल्टेको घोषणा गरिदिए भने नेपालको आफ्नै खर्चमा लैजानुपर्ने पनि हुनसक्छ । तर जोखिम घट्दै गएको छ । संक्रमण भएकामध्ये ६३ प्रतिशत निको घर गइसकेका छन् । अस्पतालमा पनि गम्भीर बिरामी छैनन् । १२ मेपछि खुकुलो हुन्छ कि भन्ने लागेको छ ।

प्रकाशित : वैशाख १९, २०७७ ०७:५७
×