२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मेघालयमा नेपाली समुदाय

माधव गौतम

स न् २००१ को जनगणनाअनुसार यहाँ नेपालीभाषीको जनसंख्या ५२ हजार १ सय २५ छ । इतिहासको कालखण्डमा बृहत्तर र सुसम्पन्न भारतको निर्माणका लागि बेलायती र नेपालीहरूको अनुकरणीय योगदान रहेको कुरा शिलङको नेपाली इतिहास खोतल्दा छर्लंग हुन्छ

 
 
 । तत्कालीन इस्ट इन्डिया कम्पनीका क्याप्टेन प्याटि्रक डजनले सन् १८२४ मा सिलहटमा -हाल बंगलादेश) '१६ सिलहट लोकल बटालियन' को स्थापना गरेपश्चात् यहाँ नेपाली इतिहासको सुरुवात भएको देखिन्छ । सम्भवतः त्यो बटालियन त्यति प्रभावकारी नभएकाले केही समयपछि उक्त पल्टनमा नेपालीहरूलाई प्रवेश गराउन थालियो ।
सन् १८२८ बाट त्यसलाई '१/८ गोरखा राइफल्स' नामकरण गरी पूर्णतः नेपाली पल्टनमा परिणत गरियो । पछि क्याप्टेन एफजी लिस्टर कमान्डर भएपछि सन् १८३५ तिर यस पल्टनलाई चेरापुञ्जीमा सारियो तर चेरापुञ्जीमा अत्यधिक वषर्ा हुने हुँदा कामकाजमा असजिलो भइरहेकाले सन् १८६७ मा बस्ती नभएको अहिलेको शिलङ सहर भएको स्थानमा सारियो । अर्कोतर्फ गुवाहटीमा पनि १३ अपि्रल १८३५ मा क्याप्टेन विलियम साइमन्डले 'दि आसाम से-बन्डी कोर' नामको पल्टन खडा गरे । यस पल्टनमा पनि नेपालीहरूलाई प्रवेश गराए । पछि यसैलाई '२/८ गोरखा राइफल्स' नामकरण गरियो । शिलङको सुन्दरता र अनुकूल हावापानीको प्रभावले १८८० को दशकमा २/८ गोरखा राइफल्स पनि शिलङमा सारियो । यसरी शिलङ मानव बस्तीका लागि अनुकूल बन्दै गयो र नेपालीहरूको उपस्थिति पनि बाक्लिँदै गयो ।
त्यतिबेला यहाँ ती नेपाली सैनिकका छोराछोरीले हिन्दी, अंग्रेजी वा बंगालीमा पढ्नुपर्ने बाध्यता थियो । त्यसैले यहाँ आएका दुवै गोरखा पल्टनबाट सेवा निवृत्त  भएका सैनिकहरूले आफ्नै समृद्ध भाषा र संस्कृतिको रक्षार्थ आफ्ना नानीहरूलाई शिक्षित तुल्याउन सामुदायिक रूपमा सन् १८८० को दशकमा लाइबे्ररी स्कुलको स्थापना गरेका  थिए । यसैको निरन्तर र विकसित रूप हाल गाडीखानमा अवस्थित गोरखा पाठशाला उच्चत्तर माध्यमिक विद्यालय हो । भूतपूर्व सैनिक तथा साहित्य एकादमी पुरस्कारले पुरस्कृत साहित्यकार विक्रमवीर थापा लाइबे्ररी स्कुल नै भारतभरिको नेपाली स्कुलहरूमा पहिलो स्कुल भएको दाबी गर्छन् । जानकारहरूका अनुसार खरको झुपडी भएको त्यस विद्यालयमा हातैले लेखेर र मौखिक रूपमा नेपाली भाषाको पढाइ हुन्थ्यो भने दुर्गा कवच, चण्डीजस्ता केही संस्कृत भाषाका धार्मिक पुस्तक राखिएको थियो । लाइबे्ररी स्कुलको पढाइ सुरुका दिनमा त्यति नियमित र व्यवस्थित हुन सकिरहेको थिएन । यसलाई व्यवस्थित गराउन मणिसिंह गुरुङको योगदान रहेको सजिलै बुझ्न सकिन्छ । उनकै अथक प्रयासमा सन् १९१५ मा यस विद्यालयले गोरखा पाठशालाको नामकरणसहित सरकारी मान्यता प्राप्त गरेको तथ्य स्कुलका वर्तमान प्राचार्य विनोदकुमार जोशी बताउँछन् ।
मणिसिंह गुरुङका बारेमा धेरै पुस्तकमा उल्लेख गरेको पाइन्छ । दुर्गाप्रसाद अधिकारीको 'कर्मवीर मणिसिंह गुरुङ' उनका बारेमा लेखिएको हालसम्मको सबैभन्दा ठूलो कृति हो । यो साझा प्रकाशन, काठमाडौंले प्रकाशन गरेको छ । त्यसैगरी सञ्जय रानाको मित्तल पब्लिकेसन न्यु दिल्लीबाट प्रकाशित 'दि गोरखाज् सेटलमेन्ट एन्ड सोसाइटिज,' नामक पुस्तकमा पनि नेपालीभाषीको मेघालय आगमनका बारेमा थुप्रै तथ्य उजागर गरिएको छ ।                                                                                                                                    
हाल यस राज्यमा १७ वटा नेपाली स्कुललाई राज्य सरकारले मान्यता प्रदान गरेको छ र कक्षा ४ सम्म सबै विषय नेपाली भाषामै पनि पढ्न पाइने व्यवस्थाअनुसार नेपाली भाषा प्रकाशन समितिले पाठ्यपुस्तक तयार पारेको छ । यसैगरी नर्थ इस्टर्न हिल युनिभर्सिटीले बीएसम्म नेपाली भाषाको अध्ययन गर्न पाउने प्रावधान राखेको छ ।
नेपाली समुदायको व्यवस्थापनमा सञ्चालित बुद्ध भानु सरस्वती कलेजमा करिब २ हजार विद्यार्थी अध्ययनरत छन् । मेघालय राज्य सरकारको विधानसभामा लगातार २५ वर्षसम्म नेपाली मूलका ध्रुवनाथ जोशी विधायकका रूपमा विजयी हुनुभएको थियो । सरकारी बैंक र अन्य कार्यालयमा पनि केही नेपाली वरिष्ठ अधिकारीका रूपमा कार्यरत छन् । कलेज र युनिभर्सिटीमा पनि केही पीएचडी उपाधिप्राप्त नेपालीभाषी वरिष्ठ प्राध्यापकका रूपमा कार्यरत छन् भने व्यापार व्यवसाय गरेर बसेका नेपालीको संख्या पनि उल्लेख्य छ ।

 
 

प्रकाशित : जेष्ठ १२, २०६७ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?