कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

'भालकेरी' नयाँ मिसनमा

असार २५, २०८०
'भालकेरी' नयाँ मिसनमा

काठमाडौँ — नासाको भालकेरी रोबोटलाई नयाँ मिसनका लागि अस्ट्रेलिया पठाइएको छ । अमेरिकाको जोन्सन स्पेस सेन्टरभन्दा करिब १० हजार माइल टाढा अस्ट्रेलियाको पर्थमा यो बाइपेडल ह्युमोनोइड रोबोटले नयाँ मिसन सुरु गर्न लागेको हो ।

मानिस जान नसक्ने र धेरै खराब वातावरणीय अवस्थामा भएको क्षेत्रमा गएर काम गर्न सक्ने हिसाबले बनाइएको यो रोबोट ६ फिट उचाइको छ । १२५ केजी तौल भएको रोबोटका दुई वटा खुट्टा, हातका हत्केला, टाउको छ ।

इन्टेलकोरको आई-७ प्रोसेसरहरू दिमागको रुपमा प्रयोग भएका छन् । १‍.८ किलोवाट ब्याट्रीमार्फत ऊर्जा खपत गर्ने यो रोबोटमा इन्फ्रारेड, लेजरलगायत अन्य क्यामेरा जडित छन् ।

नासाको अन्तरिक्ष ऐनअनुसार रिइम्बर्सएबल सम्झौताअनुसार अस्ट्रेलियाको हुडसाइड इनर्जीसँग सहकार्य छ । आफ्नो कुनै पनि मिसनलाई आवश्यकता पर्ने उद्देश्य तथा नतिजा यही सम्झौताबमोजिम परीक्षण अन्य संस्थाहरूमार्फत नासाले गराउने गर्छ । हुडसाइड पेट्रोलियम पदार्थको खोज तथा बिक्री वितरण गर्ने अस्ट्रेलियाली कम्पनी हो ।

नासाले यो रोबोटको 'रिमोट मोबाइल डेक्सटेरोस मेनिपुलेसन' क्षमता हेर्न खोज्दै छ । रोबोटलाई टाढै बसेर कठिन वातावरणीय क्षेत्रमा काम गराउन सकिने उद्देश्यले यसको डिजाइन गरिएको छ । हुडसाइड इनर्जीमार्फत रोबोटलाई विभिन्न खानी तथा क्षेत्रहरूमा प्रयोग गर्न खोजिएको छ । जसबाट प्राप्त तथ्यांकको विश्लेषण गर्न खोजिएको छ । यो तथ्यांकबाट नासाले रोबोटिक प्रविधिको विकाससम्बन्धी काम गर्ने विश्वास व्यक्त गरेको छ ।

हुडसाइडसँगैकै सम्झौतामा भालकेरी रोबोटले रोबिटिक कार्य तथा क्षमता विस्तारसम्बन्धीको अध्ययन पनि गर्छ । जसमा हुडसाइडले रोबोटलाई प्रयोग गरेर आफ्नो अन्वेषणमा हुन सक्ने प्रविधिको प्रयोग र विकास र खानी क्षेत्रहरूमा मानिसहरूको सुरक्षा र त्यहाँको वातावरणको अवस्थाबारे पनि अध्ययन गर्दै छ ।

यसबाट प्राप्त तथ्यांक र विश्लेषणले रोबोटको नयाँ क्षमताको पनि जानकारी मिल्ने र भविष्यमा नासाको 'आर्टिमिस मिसन'मा प्रयोग गर्न सक्ने/नसक्नेबारे पनि अनुसन्धानमा सहयोग मिल्ने बताइएको छ । आर्टिमिस मिसन अन्तर्गत चन्द्रमाको अन्वेषणमा रोबोट र मानिस दुवैको प्रयोग गर्ने नासाको लक्ष्य छ । पृथ्वीबाटै कमान्ड दिएर चन्द्रमामा बस्ती बसाल्नका लागि पनि यो रोबोट प्रयोग गर्न सक्नेबारे नासाले अनुसन्धान गरिरहेको छ ।

मिसन अन्तर्गत प्राप्त सफलता र भोगाइबाट धेरै जोखिमयुक्त र फोहोर भएको क्षेत्रहरूमा कस्ता किसिमको रोबोटहरू डिजाइन गर्न सकिनेबारे पनि जानकारी मिल्ने नासाले जनाएको छ । यो मिसनको भोगाइबाट नासाले चन्द्रमामा लामोसमय कार्य गर्ने स्थल र मानवबस्ती बसाल्न रोबोटको प्रयोगसम्बन्धीको बहस र छलफललाई पनि बढुवा दिने उल्लेख गरेको छ ।

टाढा बसेर(पृथ्वीबाटै) चन्द्रमा र मंगल ग्रहको सतहमा भएका रोबोटहरूलाई पृथ्वीबाटै पनि नियन्त्रण गरेर काम लगाउन सकिए धेरै हिसाबले अन्तरिक्षयात्री सुरक्षित हुन्छन् । अन्तरिक्षयात्रीबिना नै पृथ्वीबाहिर अन्यत्र गरिने निर्माणजन्य कार्यहरू रोबोटमार्फत गराउन सकिनेमा नासा विश्वस्त छ । रोबोटबाटै निरीक्षण, संरचनाहरूको निर्माणलगायत पृथ्वीभन्दा अन्य ग्रहमा बस्ती बसाल्नका लागि गरिने निर्माण कार्य पनि सकिनेमा अनुसन्धानकर्ताहरू आशावादी छन् ।

यो रोबोटलाई अस्ट्रेलिया पठाउनका लागि नासाको जोन्सनस्थित डेक्सटेरोस रोबोटिक्सको टोली पश्चिम अस्ट्रेलियाको पर्थ सहरमा रहेको हुडसाइडको प्रधान कार्यालयमा पुगेको छ । रोबोटलाई तयारी बनाएर हुडसाइडका प्रतिनिधिहरूलाई सञ्चालनसम्बन्धी जानकारी गराइएको नासाद्वारा जारी सूचनामा उल्लेख छ ।

भालकेरी र अन्य विकासित रोबोट्सहरूले धेरै कठिन कार्यहरू टाढै बसेर गराउन सकिनेमा नासाको डेक्सटेरोस रोबोटिक्स विश्वास्त छ । यसको प्रयोगले अन्तरिक्षहरूमा मानिसले गर्न नसक्ने कार्यमा प्रयोग गराउन सकिने नासाले जननाएको छ ।

घरेलु र अन्तर्राष्ट्रिय साझेदारी मार्फत नासाले अर्को पुस्ताको ह्युमोनोइड रोबोटलाई विकासित गर्दै लैजाने योजना छ ।भालकेरी रोबोटको प्रयोगबाट प्राप्त ज्ञानलाई नासाले अन्तरिक्षमा प्रयोग हुने रोबोटहरूमा लागू गर्दै छ ।

प्रकाशित : असार २५, २०८० २१:१४
×