कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एमेच्योर सुवासले जिते वेस्टर्न ओपन

चैत्र १९, २०७८
एमेच्योर सुवासले जिते वेस्टर्न ओपन

काठमाडौँ — सुवास तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै एमेच्योर सुवासले पहिलोपल्ट सूर्य नेपाल वेस्टर्न ओपन जितेका हुन् ।


१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवासले पोखराको हिमालयन गल्फ कोर्समा करिअरको दोस्रो टुर इभेन्ट जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर बनाए । यसअघि उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । सुवासले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।

दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २ सय ८ स्कोर बनाए । समग्रमा दोस्रो भएका उनले व्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे । समग्रमा तेस्रो स्थान हासिल गर्नेक्रममा धनबहादुर थापा, नीरज तामाङ र रामे मगरले ७ ओभर २ सय ११ स्कोरसहित जनही ६८ हजार ८ सय ३३ रुपैयाँ पाए ।

स्थानीय एमेच्योर अजित बिक समग्रमा छैटौं तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २ सय १३ स्कोर जोडे । सातौं स्थानका सन्जय लामाले १० ओभर २ सय १४ स्कोर जोड्दै ४५ हजार पाए । आठौं भएका भुवन नगरकोटी (२१५) ले ४० हजार, नवौं स्थानका दिनेश प्रजापति (२१९) ले ३६ हजार प्राप्त गर्दा एमेच्योर सुरेश तामाङ (२२१) दसौं भए । कुल ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक गल्फरले नगद पुरस्कार पाए ।

सुवासले उपाधि जित्ने क्रममा फ्रन्टनाइनमा २ ओभर ३५ तथा ब्याकनाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे । पहिलो दिन २ अन्डर ६६ जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्टनाइनको पहिलो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले नवौं होलमा बर्डी लेखाए । ब्याकनाइनमा १४ औं र १८ औं होलमा बर्डी खेलेका उनले १६ औं मा भने बोगी खेपेका थिए ।

जयरामले फ्रन्टनाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौं होलमा बोगी तथा सातौंमा डबल बोगी खेपेका उनले पाँचांै र आठौंमा बर्डी लेखाए । ब्याकनाइनमा उनले १ ओभर ३६ स्कोर जोडे ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता तीन दिन चलेको थियो । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो । इभेन्टको अन्तिम दिन शनिबार प्रोएम इभेन्ट हुनेछ ।

प्रकाशित : चैत्र १९, २०७८ ०६:४१
×