कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

प्रदेश खेलकुदमा चितवन पहिलो

चैत्र १२, २०७८
प्रदेश खेलकुदमा चितवन पहिलो

काभ्रे — पहिलो प्रदेश खेलकुद प्रतियोगितामा चितवन पहिलो भएको छ । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताका ८ खेलमा २१ स्वर्ण, १९ रजत र १४ कास्य पदक जित्दै चितवन पहिलो भएको हो । 

दोस्रो हुने काठमाडौंले १९ स्वर्ण, ६ रजत र ७ कास्य पदक जित्यो । तेस्रो भएको ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य पदक जित्यो ।

परिषद्ले चितवनमा भलिबल र क्रिकेट, काभ्रेमा महिला फुटबल र बक्सिङ, मकवानपुरमा पुरुष फुटबल, तेक्वान्दो र व्याडमिन्टन, सिन्धुपाल्चोकमा कराते र काठमाडौंमा एथ्लेटिक्स प्रतियोगिता सञ्चालन गरेको परिषद्का सदस्य मानबहादुर भण्डारीले जानकारी दिए । आयोजक समितिका सदस्य राजन दाहालका अनुसार, प्रतियोगिताका स्वर्णपदक विजेतालाई जनही ५ हजार, रजतलाई ४ हजार र कांस्य पदक विजेतालाई जनही ३ हजार प्रदान गरिएको छ ।

शनिवार काभ्रेमा भएको अन्तिम महिला फुटबल खेलमा धादिङलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै मकवानपुर विजयी भयो । मकवानपुरका लागि सञ्जीता बम्जनले गोल गरेकी थिइन् । सर्वोत्कृष्ट खेलाडी घोषित पुजा लामाले नगद १० हजार रुपैयाँ पाइन् ।

विजयी टिम र खेलाडीलाई संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए । उनले खेलकुदलाई स्वास्थ्य र मनोरञ्जनको रुपमा भन्दै व्यावसायिकरुपमा अघि बढाउने बताए । प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम र योजना सञ्चालन गरिरहेको बताए ।

प्रकाशित : चैत्र १२, २०७८ २२:१६
x
×