कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

वाग्मती प्रदेश खेलकुद फागुनमै

फाल्गुन ३, २०७८

मकवानपुर — वाग्मती प्रदेश सरकारले फागुन अन्तिम सातादेखि प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । फागुन २८ देखि चैत ५ सम्म हुने प्रतियोगितामा आठ खेल समावेश हुने प्रदेश खेलकुद विकास परिषद् हेटौंडाले जनाएको छ ।

परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीका अनुसार फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथलेटिक्स, बक्सिङ र ब्याडमिन्टन खेललाई प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन हेटौंडा र समापन चितवनमा हुने गरी तयारी अगाडि बढाइएको भण्डारीले बताए ।

प्रतियोगितामा करिब ८ करोड ४ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी पालिका र जिल्लास्तरीय प्रतियोगिताबाट छनोट गरिने छ । ‘१ सय १९ वटै स्थानीय तहबाट छनोट भएका खेलाडीले जिल्लास्तरका प्रतियोगितामा प्रतिस्पर्धा गरी प्रदेशमा पदकका लागि खेल्नेछन्,’ उनले भने ।

प्रतियोगितामा खेलाडी, अफिसियल र प्रशिक्षक गरी करिब ३ हजार जना सहभागी हुने अनुमान गरिएको छ । ‘महिला र पुरुषको समान विधा समावेश गरेका छौं । कुनै जिल्लाबाट महिलाका सहभागिता कम हुने हो कि भन्ने मात्र हो,’ उनले भने ।

भण्डारीका अनुसार प्रतियोगितालाई व्यवस्थित गर्न मूल आयोजक समिति र ६ उपसमिति गठन गरिएको छ । खेलाडी छनोट गर्न प्रत्येक जिल्ला खेलकुद विकास समितिलाई जिम्मेवारी दिइएको छ । फागुन २० भित्रमा जिल्ला छनोट सम्पन्न गर्न परिषद्ले पत्राचार गरिसकेको छ । पालिका तहबाट छनोट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराएर प्रदेशमा अन्तिम प्रतिस्पर्धाका लागि ल्याउन परिषद्ले जिल्लालाई पत्राचार गरेको हो ।

खेलअनुसार टेक्निकल कमिटीसमेत गठन भइसकेको छ । कुन जिल्लामा कुन खेल हुने भन्ने अझै टुंगो लागिसकेको छैन । ‘हेटौंडा र चितवनमा मात्र होइन । अन्य जिल्लामा पनि खेल हुनेछन् । हामी पूर्वाधार हेरेर निर्णय गर्नेछौं,’ भण्डारीले भने । प्रदेशबाट विजेता वा छनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ । ‘सात प्रदेश र विभागिय टोलीबीच हुने विभिन्न प्रतियोगितामा यहाँबाट छनोट वा सहभागी खेलाडीले भाग लिनेछन् । जसले गर्दा प्रदेशको आफ्नो छुट्टै टोली तयार पार्न हामीलाई सहज हुन्छ,’ सदस्यसचिवले भने । प्रतियोगिता बर्सेनि गर्ने परिषद्को तयारी छ ।

प्रकाशित : फाल्गुन ३, २०७८ ११:२५
x
×