कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

राजीनामा दिँदै मनाङेले भने- 'वनमारा र तितेपाती हेर्नलाई मन्त्री किन चाहियो ?'

भाद्र १७, २०८१
राजीनामा दिँदै मनाङेले भने- 'वनमारा र तितेपाती हेर्नलाई मन्त्री किन चाहियो ?'

पोखरा — गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका मनाङेले मन्त्री पदबाटै राजीनामा दिएका हुन् ।

उनले कान्तिपुरसँग कुरा गर्दै केहीबेर अघि मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएको बताए । मन्त्रिपरिषद् विस्तार हुँदा सोमबार मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मनाङे यसअघि भौतिक पूर्वाधार मन्त्रीका रुपमा कार्यरत थिए । कांग्रेसबाट मुख्यमन्त्री रहेका पाण्डेले विगतमा असहज परिस्थितिमा साथ दिएको भन्दै मनाङेलाई समेट्नकै लागि मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मन्त्री मनाङेले भने प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नै नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताएका छन् । 'मैले मुख्यमन्त्रीलाई राजीनामा पठाइसकेँ । म काम गर्न खोज्ने मान्छे हो । प्रदेशको वन मन्त्रालयमा गएर मैले के गर्ने ?,' मनाङेले प्रश्न गर्दै भने, 'प्रदेशलाई वनमा कुनै अधिकार नै छैन । खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन । सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो ? त्यो त रेन्जरले हेरे भइहाल्छ ।'

उनले आफू गाडी र डेरा पाउनकै लागि मात्रै मन्त्री नभएको दाबी गरे । 'मेरो घर छ । गाडी छ । मलाई मन्त्रीको गाडी चढ्न रहर लागेर मन्त्री भएको होइन,' उनले भने, 'विगतमा अफ्ठ्यारो परिस्थितिमा साथ दिँदा उहाँहरूले मलाई मन्त्री बनाउनुभयो । अहिले म मन्त्री नभएपनि केही अफ्ठयारो छैन । बरू यही ठाउँ कोही युवालाई दिए हुन्छ ।'

प्रकाशित : भाद्र १७, २०८१ १७:५३
x
×