कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मनास्लु आरोहणका लागि १ सय २० जनाले लिए अनुमति

भाद्र १७, २०८१
मनास्लु आरोहणका लागि १ सय २० जनाले लिए अनुमति

गोरखा — शरद ऋतुमा मनास्लुसहित तीन वटा हिमाल आरोहणका लागि १ सय ३२ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १० समुहका १२० जनाले अनुमति लिएका छन् ।

जसमध्ये ८८ जना पुरुष र ३२ जना महिला छन् । पुथा हिउँचुली (७२४६) मिटरको हिमाल आरोहणका लागि १ समुहका ७ जना, अन्नपुर्ण चौँथो (७५२३ मिटर) को आरोहणका लागि १ समुहका ५ जनाले अनुमति लिएका छन् ।

हिमाल आरोहणबाट १ करोड ३० लाख ९६ हजार दुई सय ६४ रुपैयाँ रोयल्टी पनि संकलन भएको छ । तीन हिमाल आरोहणका लागि हालसम्म विभिन्न ३१ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ ।

चुमनुव्री गाउँपालिका–१ सामागाउँको मनास्लु हिमाल आरोहण गर्नेबाट मात्र एक करोड २६ लाख ६० हजार आठ सय ३९ रुपैयाँ रोयल्टी संकलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुत्त समय मानिन्छ ।

किलर माउन्टेनको रुपमा परिचित ८१६३ मिटर उचाइको मनास्लु हिमाल पछिल्लो समय आरोहीको रोजाइमा पर्ने गरेको छ । हिमाल आरोहणसँगै पदमार्ग भएर मनास्लु क्षेत्र घुम्न जाने पर्यटक पनि बढेका छन् ।

प्रकाशित : भाद्र १७, २०८१ २२:३४
x
×