कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

थामे बाढी : दूधकोशी नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह 

श्रावण ३२, २०८१
थामे बाढी : दूधकोशी नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह 

खोटाङ — थामे बाढीपछि सोलुखुम्बु, ओखलढुंगा र खोटाङ प्रहरी, प्रशासन तथा स्थानीय तहहरूले दूधकोसी नदीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेका छन् । 

बाढीले जनधनको क्षति गर्ने सम्भावना बढेकाले सुरक्षित रहन आग्रह गरिएको हो । जल तथा मौसम विज्ञान विभागले पनि अर्को सूचना नआइन्जेलसम्मका लागि दूधकोशीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।

शुक्रबार खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ ।

वर्षातबिना नै कोशीमा आएको बाढीको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ ।

प्रकाशित : श्रावण ३२, २०८१ १९:२९
×