कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

हिलाम्ये मैदानमा चर्च ब्वाइज स्तब्ध [तस्बिरहरू]

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौँ — भुटानको पारो एफसीले नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई मंगलबार २–१ ले पराजित गर्दै एएफसी च्यालेन्ज कपको समूह चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा प्राप्त पुनरागमन जितपछि पारो सिधै मूल प्रतियोगितामा प्रवेश गर्न सफल भएको हो ।

प्रारम्भिक चरणको प्ले अफमा पारोका लागि घानाका विलियम ओपोकुले ६६ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । पेनाल्टी एरियाको ठीक बाहिर अनमार्क रहेका ओपाकुले गरेको प्रहार चर्च ब्वाइजका लागि गोलरक्षक दीप कार्कीलाई कुनै मौका नदिएर गोलमा परिणत भएको थियो । खेलको ३८ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो र यसका लागि लाकेन लिम्बूले गोल गरे । मोसेस गाबाले हेडबाट दिएको पासमा लाकेनले नजिकको दूरीबाट गोल गरे । तर यो अग्रता लामो समय टिकेन । पारोका लागि किंगा वाङचुकले बराबरी गोल फर्काए ।

उनले ४० औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक दीप अगाडि बढेको अवस्थामा गोल गरे । पूरा खेल भने दशरथ रंगशालाको हिलाम्ये मैदानका कारण प्रभावित रह्यो । खेल अगाडिको वर्षाका कारण सुरुमै पानी जमेकोले मैदान खराब भएको थियो । पारो अहिले चलिरहेको भुटानी प्रिमियर लिगको शीर्ष स्थानमा छ । सिनियर स्तरमा कुनै पनि भुटानी टोलीले नेपाली टिमलाई हराएको यो नै पहिलो पटक हो । पारोले सुरुआती ११ मा नौजना विदेशी खेलाडी उतारेको थियो । चर्च ब्वाइजको सुरुआती ११ मा आठ नेपालका लागि खेलिसकेका खेलाडी थिए ।

प्रकाशित : श्रावण २९, २०८१ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्