कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

हैजालाई कम नआँकौं 

भाद्र २७, २०८१

डा. प्रकाश बुढाथोकी

बुढाथोकी चिकित्सक हुन् ।

हैजालाई कम नआँकौं 

Highlights

  • कम्तीमा खाना खानुअघि र दिसापिसाबपछि संक्रमणमुक्त झोल वा साबुनले हात धुनैपर्छ । ५ मिनेटसम्म उमालेर सफा भाँडोमा चिसो पारेर राखेको पानी मात्र सेवन गर्नुपर्छ ।

सन् २००९ मा जाजरकोटमा फैलिएको हैजा संक्रमणबाट ३० हजारभन्दा बढी प्रभावित हुँदा १ सयभन्दा बढीको ज्यान गएको थियो । काठमाडौं उपत्यकामा सन् २०१६–१७, २०२२ र २०२३ मा फैलिएको हैजामा क्रमशः २००, ७७ र १२ जना बढी संक्रमित भएका थिए ।

२०२१ मा देखिएको हैजाबाट त ६ जनाको मृत्यु नै भएको थियो, १ हजार ३ सय १८ जना प्रभावित भएका थिए । हैटीमा २०६७ सालमा फैलिएको हैजाबाट ५ हजार ५ सय ५० को ज्यान गएको थियो ।

साउनयता ललितपुरमा ४१, काठमाडौंमा ७, प्यूठानमा २ र कैलालीमा ८ जनामा कल्चर रिपोर्टपछि हैजा पुष्टि भएको छ । साउन ४ मा ललितपुरको गोदावरी–१४ थैंबस्थित नशामुक्त पुनःस्थापना केन्द्रबाट ६५ जनालाई टेकु अस्पतालमा ल्याइएको थियो । भर्ना गरिएकामा १२ भन्दा बढीमा हैजा पुष्टि भइसकेको छ ।

‘ब्याक्टेरिया भिब्रियो कोलेरी’ नामक जीवाणुद्वारा आन्द्राको संक्रमणले भएको झाडापखाला हैजा हो । संक्रमित आहार र पानीले यसको जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ र आन्द्रामा तीव्र गतिले आक्रमण गर्छ । संक्रमण भएको २ घण्टादेखि ५ दिनसम्म लक्षण सुरु हुन्छ । हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिसामा १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ ।

लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिसा हुने लक्षण देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर हरेक वर्ष १३ लाखदेखि ४० लाख जनतामा हैजा देखिने र संक्रमितमा २१ हजारदेखि १ लाख ४३ हजारसम्मको मृत्यु हुने गर्छ । समयमै उपचार नपाएका ५० प्रतिशतले ज्यान गुमाउँछन् ।

हैजाको संक्रमण भएको केही घण्टादेखि ५ दिनसम्म लक्षण देखिन सक्छ । पातलो चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने, बान्ता हुने, कडा जलवियोजन हुने सुरुआती लक्षण हुन् । गम्भीर अवस्थामा पुग्दा आँखा गडिने, जिब्रो, मुख र घाँटी सुख्खा हुने, पिसाबको रंग पहेँलो तथा गाढा हुने, चिडचिडाहट हुने, मुटुको धडकन अनियन्त्रित र रक्तचाप कम हुँदै बेहोस हुने समस्या देखिन्छ ।

लक्षण देखिएको ३ देखि ६ घण्टामा समेत हैजाले घातक रूप लिई रक्तचाप कम हुन्छ र रोगी गम्भीर रूपले अचेत अवस्थामा पुग्छ । शरीरमा पानीको अत्यधिक कमीले मुख, घाँटी सुक्न थाल्छ । पिसाब धेरै कम र गाढा पहेँलो हुन्छ । हैजाबाट संक्रमित प्रत्येक २० जनामध्ये १ जनालाई यसले निकै सिकिस्त बनाउँछ । समयमै उचित उपचार नहुँदा शरीरमा पानीको कमी भई मृगौलाले काम गर्न छाड्छ, केही घण्टामै रोगीको मृत्यु हुन सक्छ ।

विश्वभर देखिने हैजाका कुल बिरामीमध्ये करिब १० प्रतिशत मात्र रिपोर्टिङ हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका कुपोषित, बालबालिका, एचआईभी संक्रमित, दीर्घरोगी, अंग प्रत्यारोपण गरेका व्यक्तिमा हैजा लागेमा मृत्युको खतरा बढी हुन्छ । हैजाको लक्षण देखिएका ८० प्रतिशत रोगीलाई भने सामान्य झाडापखाला हुने गरेको पाइन्छ । बाँकी २० प्रतिशतमा भने शरीरमा बढी पानी कम हुनुका साथै धेरै पानी जाने कडा झाडापखाला लाग्ने गरेको पाइन्छ ।

कसरी गर्ने उपचार ?

बान्ता नहुने बिरामीलाई जीवनजल र बान्ता तथा पखाला दुवै समस्या भएकालाई सलाइनबाट पानी, लवण र तरल पदार्थ दिई उपचार गरिन्छ । उपलब्ध जीवनजलमा मात्र पानी मिसाउनुपर्छ । कहिले पनि फलफूलको जुस, सुप, दूध लगायतका पेयपदार्थ मिसाउनुहुन्न । करिब ८० प्रतिशतमा ओआरएस वा जीवनजल, नुन चिनी पानीद्वारा उपचार गरिन्छ । गम्भीर अवस्थामा भने यो झोल नसाद्वारा दिइन्छ । प्रतिजैविक औषधिले गम्भीर हुनबाट रोक्छ । उपचार नगरिए यस्ता दुई बिरामीमध्ये एकको मृत्यु हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार उपयुक्त र उचित उपचार गरे हैजाको मृत्युदर एक प्रतिशतभन्दा तल आउँछ ।

विश्वमा हैजा प्रदूषित खाना र पानीबाट फैलिने भए पनि नेपालमा प्रदूषित पानी नै मुख्य कारक (८० प्रतिशत) देखिन्छ । हामीकहाँ फोहोर छोएपछि, खानेकुरा पकाउँदा तथा खाना खाँदा साबुनपानीले राम्ररी हात धुनुपर्छ भन्ने चेतनाको अभाव छ । तथ्यांकअनुसार सरसफाइमा सुधारले झाडापखालाबाट हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीको गुणस्तरमा सुधारले २५ प्रतिशतसम्म र स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता तथा हात धुनेजस्ता स्वास्थ्य शिक्षामार्फत ४५ प्रतिशतसम्म कम गर्न सकिन्छ ।

बिरामीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्छ । खानेकुरालाई झिँगाबाट बचाउनुपर्छ । बजारको बरफ, आइसक्रिम तथा दुग्धजन्य पदार्थ खानुहुन्न । आफैंले बोक्रा ताछेका फल, तातो खाना, तरकारी राम्ररी पकाएर मात्र खानुपर्छ । सम्भव भए दाँत माझ्दा उमालेर चिसिएको पानी प्रयोग गर्दा उपयुक्त हुन्छ । गाजर, मुला लगायतका हरियो सलाद संक्रमणमुक्त बनाएर मात्र सेवन गर्नुपर्छ । कम्तीमा खाना खानुअघि र दिसापिसाबपछि संक्रमणमुक्त झोल वा साबुनले हात धुनैपर्छ । ५ मिनेटसम्म उमालेर सफा भाँडोमा चिसो पारेर राखेको पानी मात्र सेवन गर्नुपर्छ । यस्तै, जिम्मेवार निकाय, संस्था, कम्पनीबाट वितरित पिउने पानी अनिवार्य प्रशोधित हुन जरुरी छ ।

हैजा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिकार्यमा प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा काम गरिरहेको छ । स्थानीय तहका द्रुत प्रतिकार्य टोली परिचालन, नियमित केस अनुसन्धान, प्रभावित स्थानमा थप सक्रिय बिरामीको खोजी, सम्पर्कमा रहेकाको लक्षणको निगरानी तथा स्वास्थ्य शिक्षाका सामग्री तयार र प्रसारण गरिरहेको छ । १ सय ४४ अस्पतालमा नियमित रूपमा हैजाको निगरानी भइरहेको छ । एउटै टोलमा एक हप्तामा ५ जनाभन्दा बढीमा झाडापखालाका बिरामी देखिएमा टोल फ्री हटलाइन १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।

– बुढाथोकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुन् ।

प्रकाशित : भाद्र २७, २०८१ ०७:४४
×