कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

चाडपर्वमा लुकेको महिला खुसी

भाद्र २७, २०८१

अमृता अनमोल

अमृता अनमोल पत्रकार हुन् ।

चाडपर्वमा लुकेको महिला खुसी

Highlights

  • चाडपर्वमा महिलाको सहभागिता र खटन घट्यो भने चाडपर्व नीरस हुनेछन् । यत्तिमात्र होइन, बिस्तारै चाडपर्व र हाम्रा संस्कार लोपोन्मुख अवस्थामा पुग्नेछन् ।

हिन्दु धर्मावलम्बीका चाडपर्व धमाधम भित्रँदै छन् । जनैपूर्णिमाबाट सुरु पर्व कृष्णाष्टमी हुँदै तीज भरखरै सकिएको छ । अब पितृ सम्झने सोह्रश्राद्ध हुँदै दसैंतिहार नजिकिँदै छन् । तीज सकिए पनि तीजमा दर खाएका, आफन्त भेटका, राम्रा र रंगीचंगी लुगा लगाएर छमछमी नाचेका महिलाका फोटा सामाजिक सञ्जालभरि छन् । 

चाडपर्व नजिकिँदै जाँदा महिलाको भूमिका र कार्यबोझ बढेको छ । घरभित्रको भान्सामा होस् वा पारिवारिक र सामाजिक जमघटमा महिला थप सक्रिय बन्दै गएका छन् । चाडपर्व हिन्दु महिलाको बेफुर्सद हुने समय हो । यद्यपि, चाडपर्व महिलाको बेजोड खुसी हुने र रमाउने समय पनि हो ।

हाम्रा अधिकांश भान्सा सम्हाल्ने महिला हुन् । चाडपर्वमा खानपिनको व्यवस्थापन गर्ने महिला हुन् । महिलाहरू तुलनात्मक रूपमा पुरुषभन्दा बढी पारिवारिक माहोलमा खुसी हुन सक्छन् । सामाजिक माहोलमा पुकलित हुँदै खुसी साट्न सक्छन् । यसैले पुरुषको तुलनामा महिला धेरै दिन चाडपर्व मनाउन जुटेका, राम्रा लुगा लगाएका, नाचगान गरेका र भोजभतेरमा रमाएका देखिन्छन् ।

महिलाहरू चाडपर्वमा व्यक्तिगत र पारिवारिक काममा मात्र होइन, समुदायकै काममा धेरै समय खट्न सक्छन् । घरपरिवारलाई संसार मान्ने सामाजिक संस्कार सिकेका नेपाली महिलाले पारिवारिक कार्यबोझलाई आफ्नो पहिलो जिम्मेवारी बुझेका हुन्छन् । यसैले महिलाहरू व्यथा लुकाएर पनि हाँस्न सक्छन् । अभाव लुकाएर पनि प्रभाव देखाउन सक्छन् । चाडबाडमा महिला केवल आफ्ना लागि खुसी भएका होइनन्, परिवार र समाजका लागि खुसी बनेका हुन् ।

चाडपर्वमा महिलाले घरपरिवारबाहिर समुदायमा दिने समय, श्रम र गुणात्मकता पनि उच्च छ । यसैले शुभकर्म होस् वा मृत्युसंस्कार सम्पन्न गराउन महिला धेरै दिन खट्छन् । एउटा परम्परागत भनाइ छ– ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीहरूको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् । यसैले होला, हाम्रा हरेक चाडपर्व महिलालाई खुसी गराउने, नचाउने र आफन्त भेटाउने खालका छन् । परम्परादेखि नै महिलालाई परिवार, संस्कार र संस्कृति संरक्षणको जिम्मा दिइएको देखिन्छ । चाडपर्वले परिवारको एकता र मेलमिलाप गराउँछन् । पारिवारिक सम्बन्धलाई बलियो बनाउँछन् । चाडपर्वमा विशेष खालका मीठा, स्वादिला भोजन र परिकार बनाइन्छ । आफूले बनाएका मिठामिठा परिकार परिवारलाई खुवाउन पाउँदा महिलाको खुसीको सीमा नै हुँदैन ।

चाडपर्वमा पारिवारिक संस्कारसँगै धार्मिक अनुष्ठानका काम गरिन्छ । यसमा पनि पुरुषको भन्दा महिलाको लगाव बढी हुन्छ । यसले पनि चाडपर्वप्रति महिलाको आकर्षण र प्रभाव धेरै भएको हो । पर्वअनुसार उपवास बस्ने, घरमा पूजाआजा गर्ने र मठमन्दिरको पूजापाठमा बढी महिला नै देखिन्छन् । पुरोहितलाई दानदक्षिणा गर्ने धार्मिक काम होस् वा दीनदुःखीलाई सघाउने र खुवाउने सामाजिक काममा महिला सक्रियता धेरै छ । यो केवल महिला फुर्सदिला भएर गरेका होइनन् । घरपरिवार, समाज र संस्कृतिप्रतिको अगाध प्रेम, श्रद्धा र जिम्मेवारीबोधका कारण चाडपर्वमा धेरै सक्रिय भएका हुन् ।

चाडपर्वमा अनिवार्य जस्तै बनेको संगीत अहिलेको कुरा होइन । वेदहरूमध्ये सामवेद भनेको संगीत हो । अहिले गाउन सिकाउने पहिलो चरण सारेगम सामवेदबाटै आएको हो । यसैले चाडबाडमा महिलाले गाएर र नाचेर पनि परम्परा र संस्कार जोगाउने काम गरेका छन् । कतिपयले महिलालाई रंगीचंगी पहिरन लगाएको र नाचगानमा संलग्न भएको देखेकै आधारमा एकपक्षीय नकारात्मक मूल्यांकन गरेको देखिन्छ । यो गलत हो । चाडपर्व, महिला र संस्कार एकअर्काका परिपूरक जस्तै हुन् । चाडपर्व व्यक्तिका खुसीका संवाहक हुन् भने समाजका संस्कार हुन् । चाडपर्वमा महिलाको सहभागिता र खटन घट्यो भने चाडपर्व नीरस हुनेछन् । यत्तिमात्र होइन, बिस्तारै चाडपर्व र हाम्रा संस्कार लोपोन्मुख अवस्थामा पुग्नेछन् ।

महिला सहभागिताबिनाका चाडपर्व कल्पना पनि गर्न सकिँदैन । चाडपर्वमा महिलाको भूमिका केवल धार्मिक वा सांस्कृतिक दायरामा सीमित छैन, नेतृत्व र व्यवस्थापन क्षमतामा पनि अब्बल छ । यसर्थ, आधुनिक समाजले महिलाको चाडपर्व र संस्कार जोगाउने योगदानलाई कदर गर्दै उनीहरूको भूमिकालाई अझ सम्मानपूर्वक र समानतापूर्ण रूपमा स्वीकार्न आवश्यक छ । चाडपर्व हाम्रा खुसी हुन् भने संस्कृति सम्पत्ति हुन् ।

यसैले हरेक चाडपर्वलाई सबैले खुसी हुने र गर्व गर्न सक्ने बनाउनुछ । परम्पराका नाममा कतिपय अव्यावहारिक मान्यता र चलन छन् भने तिनलाई हटाउँदै व्यावहारिक बनाउनुपर्छ । महँगा र उच्छृंखल बन्दै गएका चाडपर्वलाई मौलिक र मितव्ययी बनाउनुपर्छ । यसको सूत्राधार पनि महिला नै बन्न सक्नुपर्छ ।

प्रकाशित : भाद्र २७, २०८१ ०७:४५
×