अभिभावक र सन्तानको फरक–फरक सोच

अहिलेको ‘जेन–जी’ पुस्तालाई स्कुल तह सक्दानसक्दै करिअरका बारेमा सोच्नुपर्ने एउटा बाध्यता त छ नै, त्यसमा पनि आफ्नो रुचि एकातिर, परिवारको दबाब अर्कोतिर हुँदा अधिकांश डिप्रेसन वा एन्जाइटीमा जाने र कुलतमा फस्ने जोखिम उत्तिकै 

आश्विन ४, २०८१

सुजाता मुखिया

Different thinking of parents and children

काठमाडौँ — किशोर उमेरमा दबाब र द्विविधा बढी हुने गर्छ । एकातिर आमाबुबाको अपेक्षा बुझ्नुपर्ने, अर्कोतिर आफ्नो रहर र रुचि पनि पूरा गर्नुपर्ने । त्यसमाथि पढाइ, परीक्षा, करिअरको चिन्ता छँदै छ । 

माल्पी इन्टरनेसनल कलेजमा अध्ययनरत अनिशा श्रेष्ठलाई पनि कक्षा ११ मा भर्ना हुने बेला कुन विषय लिएर पढ्ने भन्ने कुराले निकै तनाव दिएको थियो । ‘किनभने म सानैदेखि पढाइमा राम्रो भएकाले डाक्टर बन्नुपर्छ भन्ने मनोविज्ञानबाट निर्देशित थिएँ,’ तर उनले विज्ञान नभई व्यवस्थापन रोजिन् । जुन अभिभावक र शिक्षकको अपेक्षाविपरीत थियो । ‘मैले त मेरो रुचि र क्षमतालाई बुझेर नै विषय छनोट गरेकी थिएँ,’ उनले भनिन्, ‘तर अरूलाई यो कुरा मन परेन ।’ 

आफ्नो रुचिको विषय छनोट गर्दा परिवार एवं समाजले त्यसमाथि प्रश्न उठाइरहने अनिशाको अनुभव छ । ‘यस्तो विषय पढेर के गर्छौ, के बन्छौ’ भन्ने प्रश्नको उनले बारम्बार उत्तर दिइरहनुपर्‍यो । विद्यालयमा अब्बल विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ भन्ने पुरातनवादी सोचका कारण उनीहरूले डाक्टर, इन्जिनियर पढिदिनुपर्छ । यही कारण शिक्षक र अभिभावकले प्रायः सोध्ने गर्दैनन्, ‘तिमी के बन्ने ? तिम्रो रुचि केमा छ ?’ बरु आफ्नो इच्छा सन्तानमाथि लाद्ने गर्छन् । ‘मेरो एक जना साथीको परिवारमा सबै जना डाक्टर छन् । ऊ कृषिमा एकदमै रुचि राख्थ्यो । तर परिवारले गर्दा उसले बीएस्सी नर्सिङ नपढी सुखै पाएन,’ अनिशाले थपिन्, ‘यदि उसले कृषिसम्बन्धी नै पढ्न पाएको भए पक्कै पनि राम्रो गर्ने थियो ।’

Different thinking of parents and childrenत्यस्तै अनिशाकै अर्का एक साथी थिए, असाध्यै मीठो गीत गाउने । तर पढाइ राम्रो नभएकैले शिक्षकले उसलाई कहिल्यै सहयोग गरेनन् । विद्यालयमा जहिले पनि सजाय पाउने गर्थे । ‘आखिर उसको गीत गाउने खुबी र रुचिलाई बुझेर त्यहीअनुसार सहयोग गरेको भए धेरै प्रगति गर्न सक्थ्यो होला,’ अनिशा सुनाउँछिन्, ‘तर, उनलाई न शिक्षकले सहयोग गरे, न परिवारले ।’ फरक क्रियाकलापमा अब्बल विद्यार्थीलाई केवल पढाइमा मात्र दबाब दिनु उपयुक्त नहुने उनको तर्क छ । सबै विद्यार्थीले पढेर उच्च अंक ल्याउनैपर्छ, डाक्टर–इन्जिनियर बन्नैपर्छ भन्ने नभएको अनिशा मान्छिन् । 

हाम्रो समाजले हरेकलाई तुलना गरेर हेर्ने प्रवृत्ति पनि उपयुक्त नभएको १९ वर्षे आसिक खतिवडाको धारणा छ । ‘हरेक व्यक्तिको क्षमता र रुचि मात्र होइन, खुसी पनि अलग–अलग हुन सक्छ,’ उनले भने, ‘तर यहाँ एकअर्कालाई तुलना गरेर जाँचिन्छ ।’ उनी कानुनका विद्यार्थी हुन् । यो उनको आफ्नै रुचिअनुरूपको छनोट थियो । तर, सबैले रुचिअनुसार पढ्न नपाउने उनी बताउँछन् । के पढ्ने भन्ने कुरा पहिल्यै अभिभावकले तय गरिदिइसकेका हुन्छन् । भविष्यमा के बन्ने भन्ने कुरामा पनि अभिभावक नै हाबी भइदिँदा प्रायः सन्तानले आफ्नो रहर, रुचि र लक्ष्य नै के हो भन्ने थाहा पाउँदैनन् । बरु जहिले पनि एक किसिमको दबाब महसुस भइरहने तर्क गर्दै आसिक भन्छन्, ‘जति–जति हुर्कंदै र पढ्दै गयो, उति नै दबाब महसुस हुने रहेछ, कहिलेकाहीँ के लाग्छ भने बरु सानो छँदाको जीवन नै रमाइलो थियो ।’

Different thinking of parents and childrenदेव्यानी अधिकारी अहिले १७ वर्षकी भइन् । ऋत एकेडेमीमा १२ कक्षामा पढिरहेकी उनी आफ्नो रुचि र लक्ष्य के थियो भनी सोच्नेमा भन्दा पनि समाजले आफ्नाबारे के सोच्छन् भन्ने कुरामा ध्यान दिनुपर्ने अवस्था आउने गरेको सुनाउँछिन् । विद्यालयमा छँदा उनले पढाइमा मात्रै आफूलाई केन्द्रित गरिन् । किताब, ‘होमवर्क’, ‘असाइनमेन्ट’ भन्दा बाहिर निस्कनै पाइनन्, दिनभर कक्षाकोठामा । साथसाथै बिहान–बेलुका पनि विद्यालयमै अतिरिक्त कक्षा लिनुपर्ने । ‘एसईई भनेको आइरन गेट हो भनेर तर्साइएको थियो,’ उनी सम्झिन्छिन्, ‘त्यसैले आफूलाई बिर्सिएर किताबमा केन्द्रित हुनुपर्‍यो ।’ उनी विद्यालयमा अब्बल विद्यार्थी थिइन् । अब्बल हुनुको नाताले उनीमाथि ‘साइन्स’ पढ्नैपर्ने दबाब थियो । तर कक्षा ११ मा पुगेपछि उनले कानुन विषय रोजिन् । ‘मैले अभिभावक र शिक्षकको अपेक्षाविपरीत आफ्नो रुचिको विषय छनोट गरें,’ उनी भन्छिन्, ‘किनभने अरूको अपेक्षा पूरा गर्दा मैले धेरै तनाव झेल्नुपरेको थियो ।’ अनिशा पनि देव्यानीको कुरामा सहमत छिन् । उनी थप्छिन्, ‘कति तनाव त आफ्नोभन्दा पनि अरूले के सोच्छन् भनेर नै हुन्छ ।’

किशोरवय आफैंमा संवेदनशील चरण मानिन्छ । यसबेला एकातिर तीव्र रूपमा शारीरिक परिवर्तन भइरहेको हुन्छ भने अर्कोतिर हर्मोनका कारण भावनात्मक उथलपुथल पनि भइरहेको हुन्छ । रमाइलो, मनोरञ्जन, साथीसंगत, फेसन, खानपानजस्ता कुरामा बढी रुचि हुने बेला पनि यही हो । त्यसका साथसाथै देखासिकी, प्रतिस्पर्धाको भावना बढी हुने गर्छ । यसले उनीहरूलाई अस्थिर बनाइराख्छ । यही बेला पढाइको दबाब र करिअरको चिन्ताले पनि सताउन थाल्छ । त्यसैले किशोर चरणमा पुगेकाहरूलाई मानसिक स्वास्थ्यको कुरामा बढी नै ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । 

Different thinking of parents and children

आसिक भन्छन्, ‘एकसाथ धेरै कुरा झेल्नु र सम्हाल्नुपर्ने उमेर भएकाले यति बेला मानसिक दबाब हुन्छ । त्यही कारण कोही कुलतमा लाग्न सक्छ भने कति डिप्रेसन, एन्जाइटीमा पर्न सक्छन् ।’ अभिभावकले यो उमेरका सन्तानलाई पूर्ण नियन्त्रण वा निगरानी गर्ने नभई हरक्षण साथ–सहयोग दिन सक्नुपर्ने उनी ठान्छन् । किनभने उनीहरूलाई ‘मेरो कोही छैन, म बाँच्नुको अर्थ छैन’ भन्ने भावना पनि आउन सक्छ । विगतमा मानसिक स्वास्थ्यबारे खास बहस हुँदैनथ्यो । तर यो अहिले अनिवार्य आवश्यकता भइरहेको उनीहरू बताउँछन् । 

देव्यानी भन्छिन्, ‘एसईईका बेला पढाइमा यति व्यस्त भइएछ कि परीक्षा दिइसकेपछिको फुर्सदमा पनि रमाउन सकिनँ । एक किसिमको बेचैनी महसुस भयो ।’ उनले यो कुरा अभिभावकलाई सुनाइन् । अभिभावककै सल्लाहमा देव्यानीले मनोपरामर्शदाताको सहयोग लिनुपरेको थियो । किशोरवयका छोराछोरीलाई मनोपरामर्श जरुरी हुने उनीहरूको बुझाइ छ । यसका लागि अभिभावक वा विद्यालयले नै व्यवस्था गर्नुपर्ने उनीहरू सुझाउँछन् ।

युवा ग्यालरी

सुजाता मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully