कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड

भाद्र २५, २०८१
सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड

Highlights

  • नक्कली परीक्षार्थी र लाइसेन्स रोकिने दावी 

काठमाडौँ — प्रदेशस्तरमा सञ्चालन भइरहेका सवारी चालक अनुमति पत्रको लागि दिइएको ट्रायल पास हुनेहरूले पाउने रसिदमा फोटो र क्युआर कोड राखिने भएको छ । यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको स्मार्ट कार्ड इमरजेन्सीबाहेक नछाप्ने निर्णय गरेपछि तत्कालका लागि प्रदेश मन्त्रालयअन्तर्गतका यातायात कार्यालयहरूले ट्रायल पास हुने व्यक्तिले पाउने रसिदमा सम्बन्धित व्यक्तिको फोटो र क्युआर कोड राख्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवराज रिजालले जानकारी दिए । 

महानिर्देशक रिजालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रदेश सरकारका प्रतिनिधिसहितको बैठकमा निर्णय भएअनुसार तत्कालै उक्त व्यवस्था लागू गर्न लागिएको हो । सातै प्रदेशका ४३ स्थानमा रहेको ट्रायल सेन्टरबाट दैनिक ५ देखि ६ हजारले ट्रायल पास गरिरहेका छन् ।

विभागले सामान्य अवस्थाका नागरिकलाई उपलब्ध गराउने गरी स्मार्ट कार्डको छपाइ बन्द गरेको र प्रदेशले तत्कालै स्थायी प्रकृतिको व्यवस्थापन गर्न कठिन हुने भएकाले रसिदमै फोटो र क्युआर कोड राख्दा ट्राफिक प्रहरीलाई पनि लाइसेन्स जाँच सहज र भरपर्दो हुने मन्त्रालयको भनाइ रहेको छ ।

यातायात विभागले हाल मेसिनको सफ्टवेयर बिग्रेको र संविधानतः लाइसेन्स छाप्ने अधिकार प्रदेश सरकारको एकल अधिकार भएको कानुनी व्यवस्था अघि सार्दै गत साउनको अन्तिम सातादेखि नै इमरजेन्सी बाहेकको स्मार्ट कार्ड नछाप्ने निर्णय गरेको थियो ।

उनले भिसा लागेका र विदेश जाने ग्यारेन्टी भएकाहरूलाई इमजेन्सी स्मार्ट कार्ड बनाइनेछ । यस्तो कार्ड सर्वसाधारणले भने बनाउन सक्ने छैनन् । सफ्टवेयर नै इमरजेन्सीका लागि अलग प्रकृतिको बनाइएको छ ।

‘ट्राफिक प्रहरीले नागरिक एपलाई पनि प्रयोग गर्न खोजेको छ,’ यातायातका अधिकारीहरूले बताए । अहिले मुलुकभर ५६ लाखले लाइसेन्स लिइसकेका छन् । यो सुरुमा काठमाडौं, भक्तपुर र ललितपुरका सहरमा लागू गरिनेछ ।

अहिले मुलुकभर १७ लाख भन्दा बढी नागरिक सवारी ट्रायल पास गरेको रसिद बोकेर स्मार्ट लाइसेन्स कार्डको प्रतिक्षामा रहेका बेला विभागको निर्णयले रसिदलाई प्राथमिकता दिएको हो । विभाग स्रोतका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पनि उसकै परिचयपत्रमा लाइसेन्सको सबै विवरण हेर्न सकिने गरी सफ्टवेयर परीक्षण गरिसकेको छ । ट्राफिक प्रहरीले मोबाइलको व्यवस्था भएमा राष्ट्रिय परिचयपत्रको माध्यबाट पनि जाँच गर्न सकिने जानकारी रिजालले लिए ।

महानिर्देशक रिजालले तत्काल वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयलले कम्तीमा तीन सय थान मोबाइल खरिद गरेर ट्राफिक प्रहरीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसबाट लाइसेन्स कार्ड नबनुन्जेलसम्म रसिदमा उल्लेख गरिएको लाइसेन्स नम्बर, क्युआर कोड वा फोटोको माध्यमबाट सम्बन्धित व्यक्तिको पहिचानमा सहज हुने यातायातका अधिकारीहरूले बताए ।

नक्कली परीक्षार्थी र लाइसेन्स रोकिने

ट्रायल दिनु अगावै शुल्क तिर्ने बेलामै रसिदमा क्युआर कोड राख्ने र फोटो टास्ने व्यवस्था गर्न लागिएको छ । यसबाट लाइसेन्सका लागि नक्कली परीक्षार्थीले ट्रायल दिने प्रवृत्ति रोकिनेछ । रिजालले अरुको रसिद बोकेर आफ्नै हो भन्दै सवारीसाधान चलाउने घटनालाई पनि यसले रोक्नेछ ।

अहिले दिइरहेको रसिदमा फोटो वा व्यक्ति पहिचानका लागि नाम बाहेक अन्य विवरण नहुने भएकाले ट्राफिक प्रहरी झुक्याउने गरिएको छ । अबको रसिदमा फोटो र क्युआर कोड राखेपछि ट्राफिक प्रहरीसँग मोबाइलमा भएको सफ्टवेयर स्क्यान गरेर नक्कली र सक्कली पत्ता लगाउन सकिने यातायाता विभागको भनाइ रहेको छ ।

यो व्यवस्थाले कसैले बोकेको लाइसेन्सनै नक्कली हो कि सक्कली भन्ने स्क्यान गरेर पत्ता लाग्नेछ । रिजालले भने, ‘लिखित र ट्रायलमा खेताला लगाउने प्रवृत्तिको अन्त्य हुनेछ ।’

प्रकाशित : भाद्र २५, २०८१ १४:५६
×