कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

न्युयोर्कमा ओली-मोदी भेटवार्ताको गृहकार्य

भाद्र २३, २०८१
न्युयोर्कमा ओली-मोदी भेटवार्ताको गृहकार्य

काठमाडौँ — नेपालले संयुक्त राष्ट्र संघ (यूएन) को ७९ औं महासभाको दौरान प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता गराउने गृहकार्य थालेको छ। प्रधानमन्त्री ओलीकै निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकाको न्युयोर्कमा दुई मुलुकका प्रधानमन्त्रीहरुबीच भेटवार्ता गराउनको लागि गृहकार्य थालेकी हुन् ।

‘प्रधानमन्त्रीज्यूको आग्रहमा परराष्ट्रमन्त्रीज्यूले भारतीय पक्षलाई न्युयोर्कमा दुई प्रधानमन्त्रीहरुबीच भेटवार्ताको लागि आग्रह गरिसक्नुभएको छ,’ परराष्ट्रका एक अधिकारीले भने,‘अब नेपालको प्रस्ताव गरिसकेको र भारतीय पक्षबाट जवाफ आउन बाँकी छ ।’

महासभा भदौ २५ बाट महासभा सुरु हुँदैछ । महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने कार्यक्रम छ । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरेर जाने प्रधानमन्त्री ओलीले उक्त उच्चस्तरीय छलफलमा नेपालको तर्फबाट सम्बोधन गर्न छन् ।

यसपटक असोज ७ र ८ मा भने राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्यूचर’ कार्यक्रम समेत हुन लागेको छ । त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भारतका प्रधानमन्त्री मोदी भने समिट अफ द फ्युचर कार्यक्रममा सहभागी भएर सम्बोधन गर्नको लागि मात्र न्युयोर्क जान लागेका हुन् । असोज ५ मा अमेरिकाको विल्मिङटनमा चार मुलुकहरुको संगठन क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को बैठक हुँदैछ । उक्त बैठकमा मोदी सहभागी हुन जाँदैछन् । त्यहाँबाट उनी न्युयोर्क पुग्नेछन् ।

‘भारतका प्रधानमन्त्री मोदीजी समिट अफ द फ्युचरको लागि एक दुई दिनमात्र न्युयोर्कमा जाँदै हुनुहुन्छ । त्यहि दुई दिन भित्रमा दुई प्रधानमन्त्रीहरुबीच भेटवार्ता गराउने गरि नेपालले गृहकार्य गरेको हो,’ परराष्ट्रका ती अधिकारीले भने,‘नेपालले नयाँ दिल्लीस्थित नेपाली दूतावास र न्युयोर्कस्थित नेपालको स्थायी नियोगबाट साइडलाइन भेटवार्ताको लागि पहल गरिरहेको छ ।’ भारतीय पक्षले मोदी कम समयका लागि न्युयोर्क बस्ने कारणले समयको सिमा एकदमै व्यस्त हुने जानकारी गराएपनि भेट्ने वा नभेट्ने भन्ने सम्बन्धमा अहिलेसम्म कुनैपनि जवाफ नदिएको ती अधिकारीको भनाई थियो । मोदी महासभामा भने सहभागी हुने छैनन्, भारतको तर्फबाट विदेशमन्त्री एस. जयशंकरले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओली र मोदीबीच यसअघि नै थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनका दौरान साइडलाइनमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो । उक्त भेटवार्तालाई भारतीय पक्षले पनि सहभागी जनाएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक उतार–चढावको कारण स्थगित भयो ।

ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै आफ्नो विदेश यात्रा थालेका थिए । तर तेस्रोपटक भने उनी तीन महिनामात्र प्रधानमन्त्री हुँदा कुनैपनि मुलुकको भ्रमण गरेनन् । ओली २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रो र २०७८ सालमा तेस्रोपटक प्रधानमन्त्री भएका थिए । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको विदेश भ्रमण न्युर्योकमा हुने महासभाबाट हुने भएको छ । ओलीलाई हालसम्म भारतीय पक्षबाट निमन्त्रणा आएको छैन । तर ओलीले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको दौरान नेपाल भ्रमणको निम्तो पठाएका थिए । जुन निम्तोलाई परराष्ट्रमन्त्री राणाले मोदीसँग भएको शिष्टाचार भेटवार्तामा हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित : भाद्र २३, २०८१ १८:२५
×