कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

बलात्कार बढ्नुमा दोष कसको ?

भाद्र २१, २०८१
बलात्कार बढ्नुमा दोष कसको ?

Highlights

  • छोरीहरू राति घरबाहिर भए चाँडै घर फर्कनु, छोटो लुगा लगाए यस्तो लुगा नलगाउनु वा यसरी बोल, त्यसरी नबोल भनेर छोरीलाई कमजोर बनाइन्छ, छोरामाथि यस्तो सर्तहरू राखिँदैन

काठमाडौँ — जब बलात्कारका घटना बाहिर आउँछन्, त्यसले एउटी किशोरीको मनमा के–कस्ता कुरा खेल्छन् होला ? उनीहरूमा कति असुरक्षाको भय जाग्छ होला ?

काठमाडौं मोडल कलेजमा पढिरहेकी १९ वर्षीया सभ्यता पौडेल भन्छिन्, ‘पत्रपत्रिका वा कुनै मिडियामा बलात्कार भन्ने शब्द सुनेपछि मनमा एकसाथ रिस र डर पैदा हुन्छ । यस्तो कुराले हामीलाई जहिले पनि असुरक्षित छु भन्ने लागिरहन्छ ।’ एकान्तमा, अँध्यारोमा, जंगलमा मात्र होइन, आफ्नै कार्यथलो, विद्यालय, कलेजमा पनि सहज र सुरक्षित महसुस नहुने उनी बताउँछिन् । केही समयअघि भारतको कोलकातामा महिला चिकित्सकको बलात्कारपछि हत्या भयो । उनको शव अस्पतालको चौथो तलामा भेटिएको थियो । यो घटनाले पनि महिलाहरू कहीँ सुरक्षित छैनन् भन्ने पुष्टि गरेको बताउँछिन्, भरोसा सेढाई ।

युनिग्लोब कलेजमा १२ कक्षामा पढिरहेकी भरोसालाई लाग्छ, ‘महिला भएर जन्मिएपछि जहाँ पनि र जहिले पनि डर अनि संकोच मान्नुपर्ने अवस्था छ ।’ घरबाहिर कतै निस्कँदा कसैले हेर्‍यो भने उसको हेराइ कस्तो हो भन्ने विचार मनमा स्वतः आउने उनी बताउँछिन् । छोरीले मात्र होइन, छोराले पनि आफ्ना दिदीबहिनी कहाँ गए, के भयो भन्ने चिन्ता गर्ने बताउँछन् सुजित लोहनी । किङ्स कलेजमा पढिरहेका सुजित भन्छन्, ‘बहिनी अबेरसम्म घरमा छैन भने मलाई पनि छटपटी हुन्छ । अनि फोन गरेर सोधीखोजी गर्न थाल्छु ।’

अचेल समय बदलियो, समाज बदलियो, जीवनशैली बदलियो । तर, महिलाले भोग्ने डर र पीडा उस्तै रहेको सुजितको बुझाइ छ । ‘हाम्रो समाज सभ्य भयो, शिक्षित भयो भन्छौं तर महिलाप्रति गरिने व्यवहार उस्तै छ,’ भरोसा थप्छिन्, ‘पहिला र अहिलेको अवस्थामा केही बदलिएको छैन ।’ आफूले पढिरहेको विद्यालय, आफूले काम गरिरहेको कार्यस्थलमा मात्र होइन, घरभित्र पनि महिलाहरू सुरक्षित नभएको भरोसाको टिप्पणी छ । ‘बालिकाहरू आफ्नै घरमा पनि बलात्कृत भएको घटना सुनिन्छ,’ भन्छिन्, ‘त्यो पनि अरूबाट होइन, आफ्नै बुबा, काका, आफन्तबाटै ।’

पहिले–पहिले बलात्कारको घटनालाई इज्जत र प्रतिष्ठाको डरले गुपचुप राखिन्थ्यो । तर, अहिले यस्ता घटनाहरू लुक्दैनन् । कति महिलाले त बाल्यकाल वा किशोरवयमा भोगेका दुर्व्यवहारका बारेमा बोल्न थालेका छन् । यसले बलात्कारबारे सचेतना र सावधानी भने जगाएको जेन–जी पुस्ताको बुझाइ छ । बलात्कार गर्नु अमानवीय कृत्य मात्र होइन, जघन्य अपराध पनि हो भन्ने कुरा अधिकांशलाई थाहा छ । तर, यस्तो घटना भने रोकिएको छैन । आर्थिक वर्ष २०८०/८१ मा मात्र २ हजार ५ सय ७ जनामाथि बलात्कार भएको नेपाल प्रहरीको तथ्यांक छ । अघिल्लो वर्ष पनि २ हजार ३ सय ८७ जनामाथि बलात्कार भएको घटना बाहिर आएको थियो । बर्सेनि महिलाहरूमाथि हुने बलात्कारका घटना मात्र बढेका छैनन्, कतिपयको निर्मम हत्या पनि हुने गरेको छ ।

बलात्कारका घटना कम नहुनु, दोषी पक्राउ नपर्नु वा कारबाही नहुनुमा राज्य संयन्त्रको कमजोरी हो भन्ने लाग्छ, शुभम देवकोटालाई । किङ्स कलेजमा पढिरहेका शुभमलाई लाग्छ, पहुँचवाला मान्छेको नाम जोडिने बलात्कारका घटनालाई सामसुम पार्ने कोसिस गरिन्छ । अपराधीलाई उम्कने मौका दिइन्छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई उनी यसैको उदाहरण मान्छन् । ‘त्यो घटनामा ठूला मान्छेहरूको नाम जोडिएकै कारण अहिलेसम्म सत्यतथ्य बाहिर नआएको भन्ने लाग्छ,’ शुभम थप्छन्, ‘यसले गर्दा आम मान्छेलाई पनि बलात्कारजस्तो जघन्य अपराध गरे पनि सजिलै उम्कन सकिन्छ भन्ने लागेको हुन सक्छ ।’

निर्मलाको बलात्कारपछि हत्या भएको वर्षौं बितिसक्यो, दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन माग गर्दै कति आन्दोलन भए, विडम्बना अहिलेसम्म दोषीसमेत पत्ता लाग्न सकेको छैन । ‘हामी जसलाई विश्वास गर्छौं उनीहरू नै भ्रष्ट भएपछि कोसँग न्याय माग्ने ?’ भरोसा प्रश्न गर्छिन् । बलात्कारको घटनामा दोषीको पहिचान गर्न नसक्नु, कारबाही नहुनुले बलात्कारजस्ता जघन्य अपराधलाई पनि सामान्य बनाउँदै लगेको उनको आरोप छ ।

अहिले बलात्कारको तथ्यांक जसरी बढिरहेको छ, त्यो हेर्दा बलात्कारको घटना पनि बढेको जस्तो लाग्न सक्छ । तर, बलात्कारको अवस्था पहिले पनि कम नभएको बरु अहिले यसमा उजुरी गर्ने वा विरोध गर्ने प्रवृत्ति बढेको बताउँछन्, सुजित । १९ वर्षे सुजित भन्छन्, ‘बलात्कारको घटना लुकाउनु हुँदैन । प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने सचेतना बढेको छ, जुन राम्रो कुरा हो ।’ बलात्कारको घटनामा प्रहरी कारबाहीले मात्र नपुग्ने उनीहरूको बुझाइ छ । बरु यसका लागि सामाजिक सचेतना बढी जरुरी हुन्छ । घर–घरमा महिलाप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहार बदलिनुपर्ने उनीहरूको सुझाव छ ।

सभ्यता भन्छिन्, ‘हामीलाई हुर्काउने क्रममा नै छोरीलाई पनि सम्मान गर्न, उनीहरूलाई विभेद नगर्न भनी सिकाइँदैन ।’ राति छोरी घरबाहिर भए चाँडै घर फर्कनु भनिन्छ । छोटो लुगा लगाए यस्तो लुगा लगाउन हुन्न भनिन्छ । आफ्नो शैलीमा बोल्दा यसरी बोल्न हुँदैन भनिन्छ । भावनात्मक रूपमै छोरीलाई कमजोर बनाइन्छ । जबकि छोरामाथि यस्तो निर्देशन र सर्तहरू राखिँदैन । ‘बलात्कार त छोरा मान्छेले गर्ने हो, त्यसैले उनीहरूलाई यसबारे बढी सजग बनाउनुपर्ने थियो होला,’ सभ्यता थप्छिन्, ‘तर छोरा होइन, छोरीलाई चाहिँ यसो गर्नु, उसो नगर्नु भनेर उपदेश दिइन्छ ।’

जब कुनै छोरीमाथि बलात्कार हुन्छ, तब मान्छेहरू छोरीमाथि नै दोष थोपर्न थाल्छन् । किन राति हिँडेको ? किन छोटो लुगा लगाएको ? किन एक्लै गएको ? भन्छन् ।

‘पुरुषको अगाडि उभिँदा महिलाहरू कुनै न कुनै रूपमा आफूलाई कमजोर महसुस गरिरहेका हुन्छन्,’ भरोसा भन्छिन्, ‘महिलाहरू जसरी दबिएर बसेका छन्, त्यसले यस्तो घटनालाई अरू बढाइदिएको छ ।’ बलात्कारजस्तो जघन्य अपराध नियन्त्रण गर्न महिलालाई लुकाउने होइन बरु पुरुषलाई सजग बनाउन जरुरी हुने उनको तर्क छ । ‘यो नैतिकताको कुरा हो,’ उनी भन्छिन्, ‘एउटा छोरो हुर्काउँदा उनका आमाबुबाले नैतिक मूल्य मान्यता पनि सिकाउनुपर्छ ।’

हाम्रो समाजमा बलात्कारबारे सचेतनाको कमी नभएको लाग्छ शुभमलाई । सुजित भन्छन्, ‘छोराछोरी हुर्काउँदा नै यसबारे सचेत गराउने र नैतिक बनाउने काम गर्नुपर्छ ।’

प्रकाशित : भाद्र २१, २०८१ ०९:२८
x
×