कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

दाहालले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउन लागे : एमाले महासचिव पोखरेल 

भाद्र २०, २०८१
दाहालले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउन लागे : एमाले महासचिव पोखरेल 

सुर्खेत — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी अध्यक्ष दाहालको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको बताए ।

‘प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’ उनले भने, ‘त्यो लोकतान्त्रिक हुनै सक्दैन ।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभइ फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको उनको भनाइ छ । उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिए ।

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ,’ महासचिव पोखरेलले थपे, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो । ’ ०८४ मा एमाले बलियो शक्ति भएर आउने ठोकुवा महासचिव पोखरेलले गरे ।

प्रकाशित : भाद्र २०, २०८१ १३:४७
x
×