कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

एमाले पनि अब एक्लै चुनाव लड्ने

भाद्र १९, २०८१
एमाले पनि अब एक्लै चुनाव लड्ने

Highlights

  • कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिनमै एमाले पनि एक्लै लड्ने ओलीको घोषणा

काठमाडौँ — कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका छन् । ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससित सरकारमा सहकार्य भए पनि आगामी चुनावमा आआफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताए ।

पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ०८४’ तय गरेको उल्लेख गर्दै त्यहीअनुसार कार्ययोजना बनाउन ओलीले निर्देशन दिए । ‘अहिले कांग्रेससित सत्ता सहकार्य भए पनि आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर प्रमुख राष्ट्रिय शक्ति बन्नेछ,’ पोलिटब्युरो बैठकमा ओलीले भने, ‘त्यसका लागि मिसन ०८४ सुरु गरिसकेका छौं ।’

सोमबार मात्रै कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । कांग्रेसले ‘आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्ने’ निर्णय गरेको थियो । ‘हामी भविष्यमा हुने निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले एमाले एक्लैले बहुमतको सरकार बनाउने उद्देश्यसहित ‘मिसन ०८४’ घोषणा भएकाले प्रधानमन्त्रीले त्यहीअनुसार तयारी गर्न निर्देशन दिएको बताए । ‘०८४ मा एमाले एक्लै चुनाव लडेर बहुमत ल्याउने मिसन हो,’ उनले भने, ‘कांग्रेससित सत्ता सहकार्य गरे पनि निर्वाचनमा आआफ्नो नीति लिएर चुनावमा जानेछौं ।’ एमालेले गत पुसमा मिसन बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा मिसन ०८४ अभियान चलाएको थियो ।

गत आमनिर्वाचनमा कांग्रेस, माओवादी, एस र जसपाबीच चुनावी गठबन्धन भएको थियो भने एमाले, राप्रपाबीच केही स्थानमा सहकार्य भएको थियो । आगामी निर्वाचनमा भने कांग्रेस, एमाले र माओवादीले एक्लाएक्लै निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसका लागि तीन दलले आआफ्नो संगठन सुदृढ अभियान सुरु गर्ने भएका छन् ।

बैठकमा ओलीले गठबन्धन सरकार ०८४ को आमनिर्वाचनसम्म तलमाथि नहुने उल्लेख गर्दै कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताए । उनले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न नेताहरूलाई निर्देशन दिए । प्रतिपक्ष माओवादीका नेताहरूले कांग्रेस–एमाले गठबन्धनप्रति प्रश्न गरिरहेका बेला ओलीले सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि यसले सचेततापूर्वक काम गरिरहेको बताएका छन् ।

‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन,’ ओलीको भनाइ उल्लेख गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यो सरकार बनेदेखि सर्वसाधारणमा विश्वास बढेको छ । दुई दलबीच भएको सहमतिअनुसार सरकार आफ्नो काममा प्रतिबद्ध छ ।’ उनले कांग्रेस पनि सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आवश्यक भएको बताए । दाहालले आफूमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको ओलीको भनाइ थियो । ‘एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ । सरकारबाट बाहिरिन बाध्य भएपछिको यो छटपटी हो’ ओलीको भनाइ थियो, ‘यो परिस्थितिमा एमाले सचेततापूर्वक अघि बढ्छ ।’

यही भदौ १२ मा संसद्मा विशेष समय लिएर दाहालले प्रधानमन्त्री ओली सरकारले सुशासनका अभियानलाई रोकेको, भ्रष्टाचारलाई प्रश्रय दिएको, करोडौं विद्युत् महसुल उठाउन रोकेको, नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजेको जस्ता गम्भीर आरोप लगाएका थिए । त्यसपछि दाहालले पार्टीका बैठक र अन्य सार्वजनिक कार्यक्रममा सरकारको चर्को आलोचना गर्दै आएका छन् । ओलीले पोलिटब्युरो बैठकमा दाहालको गतिविधिले मुलुकमा अराजकता फैलाउन मलजल गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे । सरकार चीन र भारतबीच सन्तुलित सम्बन्ध अझ बलियो बनाउन प्रतिबद्ध भएको समेत उनले उल्लेख गरे ।

बिहीबार सचिवालयको बैठकमा पनि ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताएका थिए । उनले माओवादीतर्फ संकेत गर्दै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताएका थिए । बैठकमा मुलुकमा अराजकता फैलाउने प्रयास भइरहेको र त्यसको कारणबारे पनि छलफल भएको थियो ।

त्यस्तै प्राकृतिक विपद्ले सर्वसाधारणले पाएको सास्ती र उनीहरूलाई राहत, सुरक्षाबारे पनि बैठकमा प्रस्ताव पेस भएको छ । बैठकमा महासचिव शंकर पोखरलेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्ययोजना’ पेस गरेका छन् । पोलिटब्युरो सदस्यले सुझाव दिएपछि कार्ययोजना पारित हुनेछ ।

प्रकाशित : भाद्र १९, २०८१ ०५:२३
x
×