कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

भन्सारका प्रमुख ११ जनासहित अर्थका १९ उपसचिवको सरुवा 

भाद्र १९, २०८१
भन्सारका प्रमुख ११ जनासहित अर्थका १९ उपसचिवको सरुवा 

Highlights

  • एउटै व्यक्तिलाई पटक–पटक अवसर, व्यक्ति हेरेर सरुवा मापदण्ड लागू गरेको गुनासो 

काठमाडौँ — अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो ।

अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो । अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको छ ।

राजस्व समूहको उपसचिवको सरुवा विशेष परिस्थितिबाहेक दुई वर्षको अवधि एउटै कार्यालयमा काम गरेपछि मात्र गर्ने चलन छ । तर सोमबारको सरुवामा मन्त्रालयले व्यक्तिको छनौट अनुसार दोहोरो मापदण्ड लागू गरेर सरुवा गरेको छ ।

राजस्व समुहको उपसचिवको सरुवामा सामान्यतया भन्सार वा राजस्वमा दुई वर्ष प्रमुख भएकाहरुलाई अर्थ मन्त्रालय, विभाग वा काम कम भएका कार्यालयमा सरुवा गर्ने चलन भएपनि त्यसको बेवास्ता गरेर मापदण्ड मिचेर सरुवा भएको हो ।

कसैलाई आन्तरिक राजस्व कार्यालयबाट भन्सार पठाइएको छ भने कसैलाई एउटा भन्सार प्रमुखबाट अर्को भन्सार प्रमुख नै बनाएर सरुवा गरिएको छ । व्यक्ति अनुसार मापदण्ड लागू गरेका कारण कतिपय उपसचिवले भन्सार प्रमुख भएर लामो समय काम गर्ने अवसर पाएका छन् ।

भन्सार विभागका अधिकारीहरु भन्छन्, ‘अहिले मात्र होइन विभागीय मन्त्री र सचिवको इच्छा लागेमा कार्यालय प्रमुखलाई एक वर्ष नपुग्दै सरुवा गरिॅदै आएको इतिहास विगतमा पनि छ ।’

मन्त्री पौडेलको गृह जिल्ला रुपन्देहीको भैरहवा भन्सार प्रमुख नारदमणि गौतमलाई १० महिनामा फिर्ता बोलाइएको छ । भैरहवामा मेची भन्सार प्रमुख रहेका रामप्रसाद रेग्मीलाई पठाइएको छ । गौतमलाई भने भन्सार जाँच पास परीक्षण कार्यालय(पीसीए) त्रिपुरेश्वर सरुवा गरिएको छ । रेग्मीले मेची भन्सारको नेतृत्व गरेको १५ महिनामा भैरहवा पठाइएको हो ।

मेची भन्सार प्रमुखमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राजेन्द्र प्रसाद चुँडाललाई पठाइएको छ । स्रोतका अनुसार चुँडालले मेची जान आनाकानी गरिरहेका छन् । नेपालगन्ज भन्सार प्रमुख ध्रुबराज विश्वकर्मा र कृष्णनगर भन्सार प्रमुख मानबहादुर पौडेललाई १०/१० महिनामै सरुवा गरिएको छ ।

वार्षिक ५ अर्बभन्दा बढी राजस्व संकलन हुने कृष्णनगरबाट पौडेललाई १० महिनामै वार्षिक करिव ५० करोड राजस्व संकलन हुने जनकपुर भन्सार पठाइएको छ । कृष्णनगर र जलेश्वरमा क्रमशः फणिन्द्र खतिवडा र राजेन्द्र बस्नेतलाई पठाइएको छ ।

विश्वकर्मालाई नेपालगन्जबाट व्यापारिक कारोबार नै नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा सरुवा गरिएको छ । उनीहरुलाई अवधि नै नपुगी सरुवा गर्नुको कारण भने खुलाइएको छैन । नेपालगन्ज भन्सारमा जनार्दन पौडेललाई पठाइएको छ ।

रसुवा भन्सार प्रमुख रामप्रसाद पाठकलाई वीरगञ्ज भन्सारमा सरुवा गरिएको छ । उनलाई मेची, रसुवाहुॅदै वीरगञ्ज पठाइको हो । उनी रसुवामा १५ महिना बसेका थिए । वीरगञ्ज भन्सारको प्रमुख प्रशासकको दरबन्दी भने सहसचिवको रहेको छ । प्रमुख प्रशासकको दरबन्दी भएको भन्सारमा जाॅचपाससहितको ‘फिल्ड’ को काममा उपसचिवको भूमिका महत्वपूर्ण हुनेगर्छ ।

वीरगञ्जमा उपसचिवको दरबन्दी रिक्त रहेको स्थानमा पाठकलाई पठाइएको हो । आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख तुलसी भट्टराईलाई रसुवा भन्सार कार्यालय पठाइएको छ । पछिल्लो तीन वर्षयता रसुवा र तातोपानी भन्सार चिनियाँ सामान आयातको मुख्य नाकाको रुपमा चिनिएको छ ।

भूकम्पपछि चीनसॅगको व्यापार समुद्रको बाटो भएर दक्षिणी नाकाबाट हुने गरेकोमा अहिले अधिकांश व्यापारिक सामान तातोपानी र रसुवाबाट पैठारी हुने गरेको छ । तातोपानीमा यस साता अघि नै कमल कुमार भट्टराईलाई पठाइसकिएको छ । तातोपानीमा साता अघिको सरुवामा दयानन्द केसीलाई सरुवा गरेर कमल कुमार भट्टराईलाई पठाइएको थियो ।

दयानन्दको करिव दुई वर्षे कार्यकालमा तातोपानीबाट आयातमा वृद्धि भएर राजस्व संकलन ह्वात्रै बढेको थियो । भूकम्पपछि तातोपानी नाकाबाट करिव डेढ वर्षयतादेखि व्यापारिक कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।

उपसचिव उषा पोखरेललाई चोभार सुख्खाबन्दरगाह भन्सार कार्यालय र अनन्त प्रसाद तम्सिनालाई कैलाली भन्सार कार्यालय पठाइएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडामा युक्ति प्रसाद सुवेदी र जोरपाटी आन्तरिक राजस्वमा दिलिप केसीलाई पठाइएको छ ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगर र जनकपुरमा क्रमशः सुजित कुमार सिंह र आनन्द कुमार गुप्तालाई पठाइएको छ । त्यस्तै आन्तरिक राजस्व कार्यालय दमौलीमा लाल बहादुर खत्रीलाई सरुवा गरिएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ १६:३६
x
×